कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मौरी बिमामा देखिएन उत्साह 

रमेशकुमार पौडेल

चितवन — पाँच घारबाट मौरी पाल्न सुरु गरेका पश्चिम चितवनको दिव्यनगरका भूपालनाथ कँडेलले अहिले ७० घार पुर्‍याएका छन् । भाइ यादव कँडेलले १५० घार मौरी पालेका छन् । मौरी चराउन दुई भाइ विभिन्न जिल्लाका चरन क्षेत्र पुग्छन् । गत वर्ष दाङ लगेर फर्कंदा भूपालका दुई घार र भाइ यादवका १६ घार मौरी मरे ।

मौरी बिमामा देखिएन उत्साह 

‘ओसारपसार गर्दा बाटोमा पटकपटक मौरी मर्ने गरेका छन् । कुनै बेला भसक्कै मर्छन्,’ भूपालले भने, ‘ओसारपसार गर्दा गाडी ठोक्किएर वा गाडी नै अन्य तरिकारले दुर्घटना भएर मौरी नोक्सान भएमा मात्रै बिमाले क्षतिपूर्ति दिने भनेको छ । गाडीभित्र मौरी आफैं मरेमा नदिने भएपछि मैले बिमा गरिनँ ।’

यो सरकारले मौरीको बिमा गर्ने नीति ल्याए पनि किसानहरू यसतर्फ आकर्षित हुन नसकेको एउटा उदाहरण मात्र हो । किसानहरूले बिमा नीति किसान अनुकूल नभएको गुनासो गरिरहेका छन् । नेपाल मौरीपालक महासंघले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतमले भने, ‘जुन कारणले मौरीको बढी क्षति हुने गर्छ बिमाले त्यसमै क्षतिपूर्तिको व्यवस्था नगर्दा किसानहरूले रुचि देखाएका छैनन् ।’

नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव शर्मा पौडेलका अनुसार दुर्घटना, आगलागी र उड्दै गरेका मौरी मरेमा मात्र बिमाले रकम दिने व्यवस्था गरेको छ । ‘तर, सबैभन्दा धेरै मौरी ओसारपसार गर्दा गाडीभित्र मर्छन् । चराउन लैजाँदा कुनै बेला घारमा नै विषादी राख्ने समस्या पनि आउने गरेको छ । चोरीको पनि समस्या छ । मौरीमा देखिएका मुख्य समस्या यिनै हुन् । तर, यसरी मौरी नोक्सान भए पैसा पाउने अवस्था छैन,’ अध्यक्ष पौडेलले भने ।

तीन वर्षअघि मौरीको बिमा हुने नीति आएको थियो । व्यावहारिक नदेखिएको भन्दै अघिल्लो वर्ष परिमार्जन पनि भएको पूर्वअध्यक्ष गौतमले बताए । तर, पनि किसान अनुकूल अझै नहुँदा फाटफुटबाहेक धेरै किसानहरूले बिमा नगरेको उनले बताए । बिमा गर्दा किसानले प्रिमियमको २५ प्रतिशत मात्रै तिरे पुग्छ । ७५ प्रतिशत सरकारले तिर्ने गर्छ । बिमा गर्दा किसानले एउटा घारको २५० रुपैयाँ मात्रै तिर्नुपर्छ ।

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष गौतमका अनुसार हाल नेपालमा १ लाख ९० हजार हाराहारी मौरीका घारहरू छन् । पाँच हजार किसानले मौरी पाल्छन् । वर्षमा २९ सय टन मह उत्पादन हुने गरेको छ । नेपालमा ६ हजार टनको हाराहारीमा मह खपत हुने गरे पनि नेपालमा उत्पादन हुने मह बिक्री हुन गाह्रो भएको उनले सुनाए ।

‘खास गरेर किसानलाई विभिन्न समस्याले ग्रस्त बनाएको छ । सरकारी प्रोत्साहन र अनुदानको अभाव छ । बजार खोज्न गाह्रो छ । विदेशबाट मह आयात हुन्छ । जुन गुणस्तरको हिसाबले नेपालको भन्दा कमजोर छ,’ उनले भने ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?