कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खसीबोका आयात ठप्प : व्यवसायी भन्छन्– दसैंलाई ३० हजार अपुग

पशु सेवा विभाग भन्छ– स्वदेशी उत्पादन पर्याप्त
राजु चौधरी

काठमाडौँ — यस वर्ष भारतबाट खसीबोका आयात ठप्प भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए । २०७६ भदौ २० गतेसम्म आयात ठप्प छ ।

खसीबोका आयात ठप्प : व्यवसायी भन्छन्– दसैंलाई ३० हजार अपुग

विभाग स्रोतका अनुसार यस वर्ष भदौ २० गतेसम्म एउटै खसीबोका आयात भएको छैन । ‘नयाँ आर्थिक वर्ष लागेपछि आजको मितिसम्म आयात भएको छैन,’ विभागका एक अधिकारीले भने, ‘खुला सीमाका कारण अवैध आयात भएको हुन सक्छ ।’

पशु सेवा विभागले क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थाला कडाइ गरेसँगै खसीबोका आयात कम भएको थियो । नयाँ आर्थिक वर्ष लागेपछि आयात ठप्प छ । व्यवसायीले भन्सार कडाइले गर्दा तस्करीको बाटोबाट खसीबोका आयात भइरहेको अनुमान गरेका छन् ।

‘खुला सीमाका कारण परीक्षणबिनै दैनिक ६/७ वटा गर्दै सयौं संख्यामा भित्र्याइएको छ,’ काठमाडौं चौपाया खरिद–बिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने, ‘चोरी तस्करी मौलाउँदै गएको छ । सरकारले कडाइको नामकरण दिए पनि भेटेरिनरी परीक्षणबिनै झन् आयात भइरहेको छ ।’ भारतबाट खसीबोका आयात ठप्प हुँदा जिउँदो खसीको मूल्य ७ सय १५ रुपैयाँ पुगेको थियो ।

‘त्यसपश्चात् तस्करी भएर बजारमा भित्रिन थाल्यो । बजारमा खसीबोका भित्रिएपछि प्रतिकिलो ६ सय ५० रुपैयाँमा झरेको छ,’ चौपाया व्यवसायी संघ कलंकीका पूर्वअध्यक्ष दीपक थापाले भने । उनका अनुसार तस्करीबाट आयातित खसीबोका स्वदेशी भनेर महँगो मूल्यमा समेत बिक्री भएको छ ।

व्यवसायीका अनुसार आयातमा कडाई भएपछि नजिकिदै गरेको चाडबाडका लागि करिब ३० हजार खसीबोका अपुग हुने सम्भावना देखिएको छ । ‘प्रहरी, सेना, होटल, घरघरमा गरेर दसैंमा करिब ५० हजारको माग हुन्छ । स्वदेशी उत्पादनबाट करिब २० हजार उपलब्धता हुने आकलन गरेका छौं,’ थापाले भने, ‘बाँकी ३० हजार अपुग हुने देखिन्छ ।’

व्यवसायीका अनुसार मागको करिब ६० प्रतिशतभन्दा बढी खसीबोका भारतमै निर्भर हुनुपरेको छ । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट खसीबोका आयात गर्ने गरिएको थियो ‘चाडबाडमा माग बढ्ने हुँदा आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई जिम्मा दिएका छौं,’ अध्यक्ष खड्काले भने, ‘पर्याप्त आपूर्ति नभए अभाव हुने देखियो । त्यसले कालोबजारी हुन सक्छ । सरकार सचेत हुन जरुरी छ ।’

व्यवसायीले खसीबोकाको अभाव हुने दाबी गरे पनि पशु सेवा विभागले भने नेपालमै उत्पादन पर्याप्त भएको बताए । पशु सेवा विभागका महानिर्देशक वंशी शर्माका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ ।

‘३३ लाखमध्ये ६ लाख काठमाडौंमा चाहिन्छ । उपत्यकामा केही अभाव देखिए पनि उपत्यका बाहिर अभाव छैन,’ महानिर्देशक शर्माले भने, ‘अहिले खसी प्रशस्त छन् । व्यवसायीले सर्लाही, चितवनबाट ल्याउनुपर्‍यो । व्यवसायी/बिचौलियाले अपुग भनेर तर्साएको मात्रै हो ।’

शर्माका अनुसार मुलुकभर १५६ वटा सहकारीसँग खसीबोका छन् । हेफर प्रोजेक्ट इन्टरनेसनले मुलुकभर ५० हजार बिक्री गर्ने शर्माले बताए । ‘त्यसको ५० प्रतिशत उपत्यका नै आउँछ,’ उनले भने, ‘व्यवसायीले किनेर ल्याउनुपर्‍यो । संकलन गर्ने प्रक्रिया नमिलेर मात्रै समस्या हो ।’

व्यवसायीहरूले भने हेफरको उत्पादनलाई करिब १५ हजार मात्रै उपत्यका भित्रिने बताउँछन् । ‘हेफरका ५० हजार खसीबोका नाम मात्रैको हो । उपत्यकाबाहेक अन्य क्षेत्रमा पनि बिक्री हुन्छ,’ संघका अध्यक्ष थापाले भने, ‘हेफरले करिब १५ हजारभन्दा बढी दिन सक्दैन ।’

सरकारले ३ हजारवटा खरिद गर्ने

चाडबाडलाई लक्षित गरेर सरकारले पनि ३ हजार खसीबोका/च्यांग्रा खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार दसैंका लागि एक हजार खसीबोका र दुई हजार च्यांग्रा खरिद गर्ने बताए । ‘गत वर्ष दुई हजार खरिद गर्ने लक्ष्य थियो । खसीबोका पर्याप्त आउन सकेन,’ गौचनले भने, ‘अहिले खसीबोकाको आपूर्तिमा केही समस्या देखिएको छ । त्यसैले च्यांग्रा खरिदमा जोड दिएका छौं ।’

मुस्ताङबाट खरिद गरिने उनले बताए । च्यांग्रा खरिदका लागि जिल्ला प्राथमिक खरिद समिति गठन गरिएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । ‘समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले खरिद गर्छ,’ उनले भने, ‘त्यसपश्चत् ढुवानी खर्च जोडेर बजार मूल्यभन्दा केही सस्तोमा बिक्री गर्छौं ।’

प्रकाशित : भाद्र २१, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?