१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुम्लाको स्याउ बेच्न होडबाजी

जुम्लाका २४ वर्षे दिनेश खड्काले सात वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बेच्दै छन् । उनी मात्रै हैन अन्य व्यवसायीले समेत जुम्लाबाट स्याउ ल्याउने र बिक्री गर्ने क्रम बढेको छ ।
नुमा थाम्सुहाङ

काठमाडौँ — कुनै समयमा जुम्लामा प्रतिकिलो १ रुपैयाँमा स्याउ पाइन्थ्यो । बिक्रीको लागि बजार र सहर जोड्ने बाटोको अभावले स्याउ बोटमै खेर गएको समाचार पनि सुनिथ्यो । नेपालको उच्च हिमाली भेगमा फल्ने स्याउले हिजोआज बजार पहुँच पाउन थालेको छ । नेपालीहरूले जुम्लाको स्याउलाई माया पनि गर्न थालेका छन् । 

जुम्लाको स्याउ बेच्न होडबाजी

गर्‍यो भने नेपालमा के सम्भव छैन भन्ने कुरालाई जुम्ला, तातोपानीका दिनेश खड्काले प्रमाणित गरेका छन् । स्याउ बोक्ने भरियाले तीन घण्टामा बगैंचाबाट सडकमम ल्याइपुर्‍याउँछन् । ट्र्याक्टरबाट ठूला ट्रकमा लोड गरी तीन दिनमा कर्णाली हाइवे–नेपालगन्ज हुँदै जुम्लाको स्याउ काठमाडौं आइपुग्छ । आफ्नै बारीमा ५० बोटबाट एक सिजनमा १ सय कार्टुन स्याउ उत्पादन हुने उनले बताए । एक कार्टुनमा २० केजी हुने उनी बताउँछन् ।


‘यो एकदम उच्च ठाँउमा फल्छ, जुम्लाबाट स्याउ यहाँसम्म आइपुग्न धेरै समस्या छ,’ खड्का भन्छन्, ‘बगानबाट टिपेको स्याउ ३ घण्टा हिँडेर राजमार्गमा ल्याएपछि ट्रयाक्टरबाट ठूला मालबाहक गाडीमा लोड गरेको तीनदिनपछि काठमाडौं आइपुग्छ ।’ उपत्यकावासीले मात्र नभई बाहिरका समेतले जुम्लाको स्याउ खान पाएका छन् । २४ वर्षे युवाले सुरु गरेको ‘एप्पल गार्डेन अफ जुम्ला’ सात वर्ष भइसकेको छ । ‘जुम्लामा भएको स्याउलाई काठमाडौंसम्म पुर्‍याइरहेका छौं,’ उनले भने, ‘यसको अर्थ किसानहरूले पनि केही आम्दानी गर्ने र उनीहरूले उत्पादन गरेको वस्तुले बजार पनि पाउने ।’


विदेश गएर रोजगारी गर्नुभन्दा आफ्नै देशमा केही गरुम् भनेर ७ जनाको समूह मिलेर सुरुवात गरेको उनले बताए । उनका अन्य साथीहरूले जुम्लामा स्याउ हेर्ने, जुम्लाबाट काठमाडौं ल्याउँदा गाडीको व्यवस्था गर्ने र खड्का भने काठमाडौंमा बसेर व्यवसाय सम्हाल्ने बताउँछन् ।


सुरुको वर्ष १० हजार केजी स्याउ ल्याएकामा उनले १० लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको नमिठो अनुभव सुनाए । ‘सुरुमा १५ लाखको स्याउ ल्याएका थियौं,’ उनी सँम्झदै भन्छन्, ‘जबकि बजारबाट १० लाख रुपैयाँ उठाउन पनि मुस्किल भएको थियो । असफलतापछि सफलता पाइन्छ भनेर यसलाई निरन्तरता दिएका हौं । अहिले त्यसको राम्रै नतिजा पायौं ।’ त्यसपछिका वर्षहरूबाट २० हजार केजी हुँदै अहिले ५० हजार केजी ल्याउने लक्ष्यमा रहको उनी बताउँछन् । गएको वर्ष ३५ हजार केजी स्याउ ल्याएको उनले बताए ।


उनका अनुसार वर्षमा एकचोटि मात्र फल्ने स्याउ भदौ, असोज र कात्तिक यसको सिजन हो । चैतमा फूल फुल्छ र भदौबाट पाक्न थाल्छ । ‘स्याउको बेफाइदा केही छैन । नेपालीले नेपालमा उत्पादन भएको स्याउ खाउँ भन्ने मेरो सन्देश हो,’ उनले भने ।


नापी विभागको अपोजिट, मीनभनवस्थित स्याउ पसलमा प्रतिकिलो स्याउ १ सय ४० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पाइने उनले जानकारी दिए । भारत र चीनबाट आयात हुने स्याउको तुलनामा कम मूल्यमा स्वास्थ्यका लागि लाभदायी हुने उनको तर्क छ । बजारमा पाइने अन्य स्याउको मूल्य भने प्रतिकेजीको २ सय रुपैयाँभन्दा बढी पर्ने उनले बताए । ‘यसको सिजन भनेको ३ महिना मात्र हो,’ उनी भन्छन्, ‘बाँकी ९ महिना खाली बस्नुपर्छ । एक सिजनबाट ११ लाख रुपैयाँसम्म नाफा लिन सकिन्छ । ढुवानी खर्च नै सबैभन्दा महँगो छ । बचेको आम्दानीबाहेक २० प्रतिशत यसैमा जान्छ ।’


ढुवानी भाडा नै महँगो भएकाले जुम्लामा स्याउ प्रतिकेजीको ६० रुपैयाँमै पाइने काठमाडौंमा भने दोब्बर हुने उनले बताए । त्यसका साथै यहाँ स्याउ भण्डारण गर्न समस्या भएको उनी सुनाउँछन् । ‘कति स्याउ बिग्रिएर जान्छ । नेपाली कृषकहरूको समस्या भनेकै भण्डारणको हो,’ उनले भने, ‘यहाँ सटर भाडामा लिएर काम गर्नुपरिरहेको छ । भण्डार नगर्दा स्याउको नकुहिए पनि स्याउको रस सुकेर जान्छ । यहाँ बढीमा ५ दिनसम्म रहन्छ ।’


अनलाइन मार्केट, उपत्यकाभित्र र बाहिरी जिल्लाहरूमा भने पूर्वको सुनसरी, नेपालगन्ज, सुर्खेत, दाङ, कास्कीलगायतका ठाउँमा जाने उनले बताए । ‘जुम्लाको कृषि क्षेत्रमा पनि व्यवसायिकता बढ्दै छ । नेपाल सरकारले पनि सहयोग गरिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री आधुनिक कृषि परियोजना, स्याउ प्रवर्द्धन जुम्लाबाट पनि कार्टुनमा २० प्रतिशत अनुदान मिलेको छ । नेपालीमै कृषिमा केही गर्छु भन्ने गर्ने युवाहरूलाई अवसर छ ।’


जुम्लाको स्याउ बेच्ने उनी एक्ला भने हैनन् । उनले धेरै लामो समयदेखि बिक्री गरिरहेका छन् । उपत्यकामा जुम्लाबाट स्याउ ल्याउने र बेच्ने होडबाजी नै चल्न थालेको छ । जुम्ला चन्दानाथ नगरपालिका–८ का कलिमान विष्ट पाँच वर्षदेखि देशका विभिन्न जिल्लाहरूमा जुम्लाको अर्गानिक स्याउ बिक्री गर्दै आएका छन् । ३५ बोटबाट वर्षमा १० हजार केजी स्याउ उत्पादन हुने उनले सिजनमा ४० हजार आम्दनी हुने बताए । ‘मैले सानो बिरुवा १५० बोट लगाएको छु,’ उनले भने, ‘३५ बाटे मात्र परिपक्व छन्,’ उनले भने, ‘काठमाडौं, सुर्खेत, नेपालगन्ज जिल्लामा स्याउको माग हुन्छ ।’ स्याउ लगाएको एक वर्षदेखि ८ वर्षसम्म फल फल्ने भए पनि १० वर्षपछि मात्र परिपक्व हुने उनी बताउँछन् ।


नेपाली कृषकले उत्पादन गरेको वस्तुलाई बाहिर पुर्‍याउने बाटो र उत्पादित वस्तुको उचित बजारको अभाव रहेको उनको भनाइ छ । जुम्लाको स्याउको प्रमुख बजार गर्ने माध्यम अनलाइन मार्केट भएको छ । जुम्लाको स्याउको विगत चार वर्षदेखि निरन्तर तीनकुनेको ‘ग्रिनग्रोथ ग्रुप’ अनलाइनले बिक्री गर्दै आएको छ । ५ वर्षदेखि अनलाइन व्यवसाय सञ्चालन गर्दै आएको ग्रुपका एक सदस्य निश्चल पोख्रलेले भने, ‘जुम्लाको स्याउ बाहिर पाउने स्याउभन्दा स्वादमा फरक छ । हामीले छानेर त्यहाँको मूल्यमा २० प्रतिशत नाफा राखेर अनलाइनबाट डेलिभरी गर्छौं ।’


जुम्लाको स्याउ एक सिजनमा १ हजार ५ सय केजी बेच्ने गरेको उनले बताए । ‘हामीले जुम्लाको स्याउलाई मात्र नभई नेपाल भरको स्थानीय क्षेत्रका फलफूल तथा तरकारी पनि बेच्छौं,’ उनले भने, ‘सप्तरीको आँप र सिन्धुलीको जुनार पनि सिजनामा बेच्छौं ।’ नेपाली उत्पादनलाई नेपालीले नै प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?