१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटकलाई जीपीएस ट्र्याक गरिने

काठमाडौँ — आगामी भ्रमण वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई सरकारले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) वा एपको माध्यमबाट निगरानी गर्ने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार नेपालमा घुम्न आउने विदेशीको अवस्था, सुरक्षालगायत विषयमा जानकारी लिने उद्देश्यले यस्तो गर्न लागिएको हो । ‘पर्यटक र पर्यटन व्यवसायको सुरक्षाका लागि दुइटा सिस्टम अघि बढाउँदै छौं,’ शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१ औं साधारणसभामा मन्त्री भट्टराईले भने, ‘एउटा टुरिजम स्याटेलाइट एकाउन्टिङ सिस्टम अर्को जीपीएस सिस्टम ।’


उनले यो विधि चाँडै अघि बढाउने तयारी भइरहेको बताउँदै भने, ‘एउटा पर्यटनको आगमन कसरी भइरहेको छ । उहाँहरू कहा पुगिरहनुभएको छ । कस्तो अवस्थामा हुनुहुन्छ र उहाँहरूलाई आवश्यक पर्दा उद्धार गर्न यो विधिबाट सकिनेछ ।’ मन्त्रालयका अधिकारीहरूका अनुसार यो प्रणाली लागू भएमा अध्यागमनमा आउनेबित्तिकै पर्यटकले सरकारले बनाएको एपमा जोडिनुपर्ने हुन्छ । मन्त्रीले समारोहमा यसबारे विस्तृत बताएनन् ।


तर, उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ठूलो मिसन भएकाले यो प्रविधि चाँडै लागू गर्ने तयारी भइरहेको बताए । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल कम्प्लेन बक्स पनि राखिने भएको छ । उक्त डिजिटल बक्समा नेपाल घुमेर फर्किने पर्यटकले आफ्नो नेपाल बसाइको अनुभव, गुनासालगायत विषयमा लेख्न सक्नेछन् ।


यो पर्यटन मन्त्रालय मातहत हुने भनिएको छ । मन्त्री भट्टराईले नेपालमा प्रतिबन्ध लगाइएका हिमाल पनि खुला गर्दै लैजाने बताए । सरकारले पर्यटन तथा पर्वतारोहण विश्वविद्यालय पनि सञ्चालनमा ल्याउने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना हुने यो विश्वविद्यालयले उच्च पर्वतीय गाइड, होटललाई चाहिने आवश्यक जनशक्तिदेखि पाइलटसम्म उत्पादन गर्ने गर्नेछ । यसैबीच टानले यस वर्षदेखि स्थापना गरेको रवीन्द्र अधिकारी पर्यटन पुरस्कार कृतिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गरेको छ ।


६० हजार नगदसहितको उक्त पुरस्कार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पर्यटनमन्त्री योगेश भट्टराईले २४ पटक सगरमाथा आरोहण गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई प्रदान गरेका थिए । त्यस्तै समारोहमा ५० हजार नगदसहितको डा. हर्क गुरुङ पुरस्कार लेखक प्रेम शर्मालाई प्रदान गरिएको थियो भने ३० हजार नगदसहितको पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा पुरस्कार माया शेर्पालगायतलाई प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?