एबीडीका परियोजनामा सुधार

काठमाडौँ — पछिल्लो वर्ष आफूले लगानी गरेका अधिकांश परियोजनामा सुधार आएको एसियाली विकास बैंक (एडीबी) नेपालले जनाएको छ ।

एडीबीका नेपाल निर्देशक मुख्तर खामुदखानोभले नेपालको भूकम्प पुनर्निर्माण र ऊर्जा परियोजनामा गरिएको सहायताले सम्पूर्ण सञ्चालनमा सुधार आएको बताए ।


‘नेपालको पोर्टफोलियो कार्यसम्पादनमा सुधार आएको छ तर एडीबीबाट प्राप्त हुने अन्य स्रोतहरूका लागि थप सुधार गर्ने चुनौती पनि छ,’ अर्थ मन्त्रालयसँगको सहकार्यमा एडीबी नेपालले आयोजना गरेको वार्षिक त्रिपक्षीय फोर्टफोलियो समीक्षा बैठकमा बोल्दै खामुदखानोभले भने ।


पछिल्लो वर्ष एडीबीले नेपाललाई दिने सहायतामा वृद्धि हुँदै गएको छ, सन् २०१८ मा एडीबीले सबैभन्दा बढी ५९ करोड २० लाख डलरको प्रतिबद्धता जनाएको थियो । एडीबीका अनुसार नेपालका ३१ वटा आयोजनामा लगानी गर्न विनियोजित २ अर्ब ७० करोड डलरमध्ये ६८ प्रतिशत रकमका लागि सम्झौता भइसकेको छ र ३१ जुलाई २०१९ सम्मको तथ्यांकअनुसार ४२ प्रतिशत रकम खर्च भइसकेको छ ।


‘ढिला नगरी परियोजना कार्यान्वयनका लागि आयोजनाको प्रभावकारी पूर्वतयारी आवश्यक छ,’ एडीबी नेपालका पोर्टफोलियो व्यवस्थापन इकाईका प्रमुख रुदी भान डेलले भने, ‘परियोजनाको लेखापरीक्षण भएको वित्तीय विवरण बुझाउनु र लेखापरीक्षण गर्नु पनि फोर्टफोलियो सुधारका लागि महत्त्वपूर्ण छ ।’


‘कार्यान्वयनका लागि आइपर्ने बाधाहरू थहा पाउनका लागि र लक्ष्य हासिलका लागि उपयुक्त विधि पहिल्याउन समीक्षा प्रक्रिया उपयुक्त अभ्यास हो,’ अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बताए । भूकम्पपछिको पुनर्निर्माणमा एडीबीले करिब ३९ करोड डलर सहायता प्रदान गरेको छ । एडीबीको सहयोगमा सञ्चालित भूकम्प आपत्कालीन सहायता परियोजनाअन्तर्गत पुनर्निर्माण भइरहेका १ सय ५४ विद्यालय सकिने अवस्थामा रहेको बताइएको छ ।


एडीबीले नेपालको ऊर्जा क्षेत्रमा करिब ५५ करोड ४० लाख डलर सहायताको प्रतिबद्धता जनाएको छ । सन् २०१९ का लागि राखिएको १० करोड १२ लाख डलरमध्ये ११ करोड डलरभन्दा बढी खर्चका लागि सम्झौता भएको एडीबीले जनाएको छ । प्रसारण लाइन र वितरण सुधार परियोजनाका लागि मात्रै ७ करोड ४० अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयनमा गएको एडीबीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?