कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थानको दूध संकलनमा कमी

पाउडर दूध आयातमा बन्देजपछि निजी डेरीले किसानबाट संकलन बढाए
माधव घिमिरे

विराटनगर — सिजनमा दैनिक करिब ६० हजार लिटर दूध संकलन हुने गरेको दुग्ध विकास संस्थानको विराटनगर वितरण आयोजनामा अहिले दैनिक ३० हजार लिटर मात्र जम्मा भइरहेको छ । यो सिजन दूध उत्पादनमा केही कमी हुने गरेकाले संकलन परिमाण घटेको हो ।

संस्थानको दूध संकलनमा कमी

यसबाहेक किसानबाट निजी डेरी उद्योगहरूले बढी परिमाणमा दूध लिन थालेकाले पनि संस्थानको संकलन घटेको हो । सरकारले पाउडर दूध आयातमा बन्देज लगाएपछि किसानबाट निजी डेरीहरूले बढी परिमाणमा दूध लिन थालेका छन् । यसले गर्दा सरकारी स्वामित्वको संस्थानमा दूध कम संकलन भइरहेको छ । संस्थानको विराटनगरस्थित संकलन केन्द्रका निमित्त प्रमुख नीलकण्ठ गौतमका अनुसार हाल दैनिक करिब ३० हजार लिटर दूध संकलन भइरहेको छ ।


आयोजनाले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा, मोरङ र सुनसरीबाट दूध संकलन गर्ने गरेको छ । असोजदेखि फागुनसम्म दैनिक करिब ६० हजार लिटर दूध संकलन हुने गरेको उल्लेख गर्दै हाल यो परिमाण आधा घटेको गौतमले बताए ।


केही दिनअघि परेको हरितालिका तीज पर्वका बेला माग बढी हुँदा संघीय राजधानीलगायत सहरमा दूध र दुग्धजन्य पदार्थ अभाव भएको थियो ।


संस्थानका एक कर्मचारीका अनुसार सरकारले पाउडर दूध आयातमा कडाइ गरेकाले निजी डेरीले किसानबाट बढी परिमाण दूध लिन थालेका छन् । पाउडर दूध आयात सहज हुँदा सस्तोमा ल्याएर स्थानीय उत्पादनको दूधमा मिसाएर निजी डेरीले बिक्री गर्ने गरेका थिए ।


किसानलाई प्रोत्साहन गर्ने भनेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउडर दूध आयातमा बन्देज लगाएको थियो । प्रदेश १ मा करिब एक लाख लिटर दैनिक तरल दूध संकलन हुने गरेकामा यसको ७० प्रतिशत निजी डेरीले लिने गरेको ती कर्मचारीले बताए । मोरङ, सुनसरी, झापालगायत जिल्लामा रहेका आधा दर्जन निजी डेरी उद्योगहरूले किसानबाट दूध संकलन गर्छन् ।


‘मूल्यमा संस्थानको निश्चित मापदण्ड र आधार छ’ स्रोतले भन्यो, ‘तर निजी डेरीले मनपरी मूल्य दिएर दूध संकलन गर्ने गरेका छन् ।’ संस्थानले दूधमा हुने फ्याट र एसएनएफ नामक तत्वका आधारमा किसानलाई प्रतिलिटर ३६ देखि ४८ रुपैयाँसम्म दिने गरेको छ । तर निजी डेरीहरूको मूल्यमा एक रुपता छैन । ‘निजी डेरीहरू एकप्रकारले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन्’ संस्थानका कर्मचारीले भने ।


प्रदेशका विभिन्न ८ जिल्लामा रहेका संकलन केन्द्रहरूमा किसानले दूध बुझाउने गरेका छन् । किसानहरूले गठन गरेका समूह र सहकारीमार्फत् अनि सोझै व्यक्तिगत रुपमा पनि ती केन्द्रमा दूध संकलन हुन्छ । त्यहाँबाट संस्थानको ट्यांकरमार्फत् दूध वितरण केन्द्रमा ल्याएर प्रशोधन गरिन्छ । संस्थानले दूध, पाउडर दूध, चिज, घीउ, आइसक्रिम, साना बोतलमा राखेर बिक्री गरिने, फ्रेस मिल्क, रसबरी, बटरजस्ता पदार्थ बनाएर बिक्री गर्ने गरेको छ ।


हाल विराटनगरमा जम्मा भइरहेको दैनिक ३० हजार दूधमध्ये करिब १२ हजार लिटर दूध र दुधजन्य पदार्थ स्थानीय बजारमा खपत हुने गरेको छ । आयोजनाले स्थानीय बजारमा ८ हजार लिटर दूध बिक्री गर्छ । करिब २ हजार लिटरको दही र २ हजार लिटरको पनीर, आइसक्रियमजस्ता पदार्थ बनाएर बिक्री गर्ने गरिएको छ । बाँकी दूध काठमाडौं आपूर्ति गर्ने गरिएको आयोजकनाका गुण नियन्त्रण शाखा प्रमुख दामोदर ढकालले बताए । आयोजनामा १ लाख ५ हजार लिटर दूध जम्मा गर्ने क्षमता छ ।


दूधमा प्रदेश १ आत्मनिर्भर रहेको उल्लेख गर्दै आयोजनाका निमित्त प्रमुख गौतमले पछिल्लो समय किसानले उत्पादन गरेको दूध निजी डेरीतिर बढी जान थालेकाले संस्थानको संकलन परिमाणमा कमी आएको बताए ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?