एटीएमबाट पैसा चोरी प्रकरण : एक दिनमा ६० हजारमात्र निकाल्न पाइने 

भारतमा २४ बैंकका १३२ एटीएमबाट चोरी
७ बैंकको कार्डमार्फत ६८ एटीएमबाट चोरी
भारतबाट चोरी भएको पैसा असुल्न कठिन
यज्ञ बञ्जाडे

काठमाडौँ — अब एटीएम मेसिनबाट प्रतिदिन ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी यस्तो सीमा घटाएको हो । यसअघि यस्तो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो । 

एटीएमबाट पैसा चोरी प्रकरण : एक दिनमा ६० हजारमात्र निकाल्न पाइने 

नयाँ व्यवस्थाअनुसार एटीएमबाट पैसा निकाल्दा अब एक पटक २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ । यसअघि यस्तो सीमा प्रतिपटक २५ हजार रुपैयाँ थियो ।


नक्कली कार्डमार्फत एटीएमबाट रकम चोरी भएपछि सुरक्षाको कारण देखाउँदै राष्ट्र बैंकले प्रतिदिन रकम निकाल्न मिल्ने सीमा घटाएको हो । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखेर उल्लिखित सीमा घटाउन सकिने छुट राष्ट्र बैंकले दिएको छ ।


यस्तै, कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट पीओएस मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्नु पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


भारतबाट चोरी भएको पैसा असुल्न कठिन


नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीएमबाट चोरी भएको करिब १ करोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारवाला मौन छन् ।


घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ । ‘भारतभित्रबाट ६ वटा नेपालका वाणिज्य बैंकहरूको विभिन्न कार्डहरू प्रयोग गरी भारतका २४ बैंकका १ सय ३२ एटीएमबाट भारु १ करोड ५ लाख ८७ हजार २ सय (करिब १ करोड ६९ लाख रुपैयाँ) भिकिएको पाइएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


यो गत शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३५ बजेसम्मको कारोबार हो । ह्याकरले सो अवधिमा विद्युतीय कार्ड सेवा प्रदायक कम्पनी ‘भिसा इन्टरनेसलन’ सँग आबद्ध नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेफ्स) का सदस्य बैंकहरूको डेबिट/त्रेडिट कार्ड प्रयोग गरी रकम चोरी गरेको भेटिएको छ । ‘सो अवधिमा ह्याकरले नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटीएमबाट १ करोड ७९ लाख ४४ हजार ५ सय रुपैयाँ बराबर रकम झिकिएको देखियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।


उल्लिखित रकममध्ये धेरै रकम प्रहरीले बरामद गरिसकेको छ । भारतबाट चोरी भएको रकम असुलीबारे केही प्रक्रिया अघि नबढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘अध्ययन समितिले नेपालबाट रकम चोरी भइरहेको समयमा भारतबाट पनि रकम निकालिएको प्रारम्भिक प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘कुन–कुन बैंकबाट के कति रकम निकाले भन्ने विवरण छैन । यसकारण सो रकम असुलीबारे प्रक्रिया अघि बढेको छैन ।’

भारतबाट चोरी भएको भनिएको रकमबारे प्रहरीले पनि थप खोधखोज गरेको छैन । ‘कुन कुन व्यक्तिले कसरी रकम निकाले भन्ने तथ्यांक राष्ट्र बैंकसँग मागेका छौं,’ काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘अहिलेसम्म प्राप्त भएको सूचनाका आधारमा भारत भएको भनिएको चोरी रकम असुलीका लागि औपचारिक रूपमा केही प्रक्रिया अघि बढेको छैन ।’ भारतबाट नेपाली व्यक्तिले रकम निकालेको भए मात्र आफ्नो असुन्धानले समेट्ने उनले प्रस्ट्याए । ‘भारतबाट अन्य राष्ट्रका नागरिकले पैसा चोरी गरेका रहेछन् भने त्यो नेपाल प्रहरीको कार्यक्षेत्रभित्र पर्दैन,’ उनले भने, ‘यसबारे राष्ट्र बैंकबाट पूर्ण विवरण आएपछि मात्र खोजी गरिनेछ ।’ औपचारिक रूपमा प्रक्रिया अघि नबढे पनि अनौपचारिक रूपमा भने भारतीय पक्षसँग कुराकानी भइरहेको उनले बताए ।


भारतीय एटीएमबाट निकालिएको रकम असुलीबारे आफूहरूले केही भन्न नसक्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण प्रकाश क्षेत्रीले बताए । ‘फरेन्सिक टोलीले बिहीबारदेखि काम सुरु गरेको छ,’ उनले भने, ‘टोलीले मुख्य रूपमा बैंक, नेप्सको कारोबार प्रणाली, भिसा वा कस्तो कमजोरीका कारण रकम चोरी भएको हो, त्यो पत्ता लगाउनेछ ।’ उक्त टोलीले भारतबाट भएको कारोबारबारे केही भन्न नसक्ने उनले बताए । भारतमा पैसा निकाल्न प्रयोग भएका एटीएम जारी गर्ने बैंक नेप्सको सिस्टममा नभएकाले त्यो विवरण पत्ता लगाउन अप्ठ्यारो हुने उनको भनाइ थियो ।

३ करोड ५८ लाख चोरी भएको होइन


राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा गत शनिबार भएको एटीएमबाट पैसा चोरीको घटनामा करिब ३ करोड ५८ लाख रुपैयाँ झिकिएको देखाएको छ । ‘कुल नेपाली ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको पाइएको,’ प्रतिवेदनमा भनिएको छ । बैंकहरूले भने उल्लिखित सबै रकम चोरी नभएको दाबी गरेका छन् । ह्याकरले नेप्सेको सिस्टम ह्याक गरिरहेको समयमा ती बैंकका सर्वसाधारण ग्राहकले पनि रकम निकालेका छन् ।

प्रतिवेदनमा शनिबार बिहान ११ बजेदेखि साँझ ४:३५ बजेसम्मको सबै कारोबार समेटिएको छ । भारतको मुद्रा (भारतबाट निकालिएको) मा पनि यही भएको हुन सक्ने बैंकहरूको दाबी छ । ‘उक्त समयमा केही वास्तविक कारोबार पनि भएका छन्,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यसकारण अहिल्यै यही भनिहाल्ने अवस्था छैन ।’ यो विषयमा नेप्स र भिसाले अध्ययन गरिरहेकाले सत्यतथ्य छिट्टै बाहिर आउने उनले दाबी गरे । ‘चर्चामा आएजस्तै सबै रकम चोरिएको होइन,’ उनले थपे, ‘सो अवधिको के कति रकम चोरी भएको हो र कति सही हो भन्ने पत्ता लागिसकेको छैन ।’

फरेन्सिक अध्ययन सुरु

एटीएम प्रणाली ह्याक गरेर रकम चोरीको घटना अध्ययन गर्न आएको विदेशी विज्ञको टोलीले काम सुरु गरेको छ । सिंगापुरबाट आएको फरेन्सिक भनिने उक्त टोलीले बिहीबारबाटै काम सुरु गरेको नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए । ‘फरेन्सिक टोलीले अनुसन्धान सुरु गरेको छ,’ उनले थप, ‘अध्ययनपछि वास्तविक कुरा पत्ता लाग्नेछ ।’ नेप्सको आग्रहमा फरेन्सिक टोली नेपाल आएको हो । टोलीले खासगरी नेप्स, सदस्य बैंक र भिसामध्ये कसको कमजोरीका कारणले रकम चोरी भएको हो, त्यो पत्ता लगाउनेछ । योसँगै भिसाको एक टोली पनि बिहीबार नेपाल आएको छ । यो टोलीले पनि आफ्नो तर्फबाट घटनाको अनुसन्धान गर्ने जनाइएको छ ।

७ बैंकको कार्डमार्फत ६८ एटीएमबाट चोरी

ह्याकरले नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटीएमबाट रकम चोरी भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार सेन्चुरी, नेपाल बैंक, इन्भेस्टमेन्ट, नबिल, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, सानिमा, एनसीसी, कृषि विकास, मेगा, नेपाल एसबीआई, एनएमबी र कुमारी बैंक गरी १४ वाणिज्य बैंक र मुक्तिनाथ, गरिमा र महालक्ष्मी विकास बैंक गरी १७ बैंक तथा विकास बैंकका एटीएम प्रयोग भएको प्रतिवेदनको निष्कर्ष छ । ‘सो अवधिमा ती एटीएममा ७ सय ३ पटक एटीएम घोटिएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।


ती बैंकको एटीएमबाट रकम निकाल्न ह्याकरले ७ वटा बैंकको एटीएम कार्ड प्रयोग गरेको भेटिएको छ । ती बैंकहरूमा सनराइज, माछापुच्छ्रे, ग्लोबल आईएमई, जनता, सिटिजन्स, एनआईसी एसिया र प्रभु बैंक छन् ।


भारतमा २४ बैंकका १३२ एटीएमबाट चोरी

ह्याकरले नेपालमा नेप्सको सिस्टम ह्याक गरिरहेको समयमा भारतमा २४ बैंकका १ सय ३२ एटीएम पैसा निकालेको देखिएको छ । उक्त अवधिमा ती बैंकहरूको एटीएममा नेपाली बैंकसँग सम्बधित कारोबार भएको प्रतिवेदनले देखाएको छ ।

उक्त अवधिमा ती एटीएमहरूमा १ हजार ७ पटक कार्ड घोटिएको भेटिएको छ । ‘ती एटीएममा सनराइज, माछापुच्छ्रे, ग्लोबल आईएमई, जनता, एनआईसी एसिया र प्रभु बैंकका एटीएम प्रयोग भएको भेटिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : भाद्र १९, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?