यार्चाको हिसाब सार्वजनिक भएन

रुकुम पूर्व — बहुमूल्य जडीबुटी संकलन, बिक्री र व्यवस्थापनका लागि बनेको समितिले अझै हिसाबकिताब सार्वजनिक गरेको छैन । गत वर्ष यार्चा संकलनका लागि गठन भएको व्यवस्थापन समितिले संकलन सिजन सकिएको लामो समयसम्म पनि हिसाब सार्वजनिक गर्न नसकेको हो ।

यार्चाको हिसाब सार्वजनिक भएन

पुथाउत्तरगंगा गाउँपालिका–१ र २ वडाका पाटनमा पाइने यार्चा व्यवस्थापनका लागि प्रत्येक वर्ष समिति गठन हुन्छ । दुवै वडाका सर्वसाधारण सहभागी हुने समितिले व्यवस्थापनका लागि भन्दै संकलक, ठेकेदार, अन्य व्यापारी व्यवसायी तथा टोलबाट समेत रकम असुल गर्छ ।


समितिले गत सिजनमा झन्डै ५ सय यार्चा संकलकबाट १ हजार ५ सय रुपैयाँका दरले नगद संकलन गरेको थियो । झन्डै ४० जना ठेकेदारबाट १८ हजार रुपैयाँका दरले, दुई वडाका १७ टोलबाट २ हजार ५ सय रुपैयाँका दरले संकलन गरेको थियो । यसैगरी बुकी पाटनमै सञ्चालन गरिएका होटलबाट आठ र पसलबाट पाँच हजार रुपैयाँका दरले रकम संकलन गरेको थियो ।


गत जेठ २४ गते यार्चा संकलनका लागि पाटन खुला गरिएको थियो । सर्वसाधारणले असार पहिलो सातासम्म बुकी पाटन छाडिसकेका थिए । बुकी, पाटन खुला गर्ने र त्यसको व्यवस्थापनका लागि भनेर समितिले विभिन्न शीर्षकमा रकम संकलन गरेको हो । सिजन अवधिको आय–व्यय समयमै सार्वजनिक गर्न नसकेको स्थानीय भरतकुमार पुन मगरले बताए । समितिको खर्चबाट बचेको रकम गाउँको विकासमा लगाइने भएकाले गाउँले चासो दिनु स्वाभाविक भएको उनले सुनाए ।


समिति सचिवका कल्याण पुनमगरले सिजन सकिएसँगै समितिका पदाधिकारी तथा सदस्य आआफ्नो काममा व्यस्त हुँदा हिसाब सार्वजनिक हुन ढिला भएको बताए । ‘सकेसम्म छिट्टै गर्छौं,’ उनले भने, ‘मोटामोटी हिसाब भइसकेको छ । समितिको बैठक बसेर सार्वजनिक गर्न मात्रै बाँकी हो ।’ आफ्नो तर्फबाट भएको हिसाब कोषाध्यक्ष र अध्यक्षलाई बुझाइसकेको उनको भनाइ छ ।


समितिका अध्यक्ष अमरधन पुनमगरले केही टोल, केही व्यक्तिबाट रकम संकलन हुन ढिलाइ भएकाले आय–व्यय सार्वजनिक गर्न ढिला भएको बताए । ‘हामीले सिजन सकिने बित्तिकै हिसाब सार्वजनिक गर्न खोजेका थियौं,’ उनले भने, ‘त्यतिबेला सबै रकम संकलन भइनसकेकाले समस्या भयो ।’

प्रकाशित : भाद्र १९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?