न्यून मूल्यांकनमा जुत्ता–चप्पल आयात

माधव ढुंगाना

भैरहवा — न्यून भन्सार मूल्यांकन गराएर जुत्ता–चप्पल आयात गरिँदा स्वदेशी उत्पादन संकटमा पर्न थालेका छन् । व्यापारी र भन्सार कर्मचारीको मिलेमतोमा न्यून मूल्यांकनमा तयारी जुत्ता–चप्पलको आयात भइरहेको स्थानीय लगानीकर्ताको दाबी छ । 

न्यून मूल्यांकनमा जुत्ता–चप्पल आयात

‘वास्तविक मूल्यभन्दा अति कम भन्सार मूल्यांकनमा तयारी जुत्ता–चप्पलको आयात हुने गरेकाले स्वदेशी व्यवसाय धराशायी हुन थालेको छ,’ नवलपरासीको रामग्राम नगरपालिकास्थित एक्सन पोलिमर्स प्रालिका अध्यक्ष राजेश अग्रवालले भने, ‘भन्सारमा कम मूल्यांकन कायम गरेर जुत्ता–चप्पलको आयात हुने क्रम यथावत् रहने हो भने स्वदेशमा यसको उत्पादन गर्नुको कुनै अर्थ रहँदैन ।’


जुत्ता–चप्पलको कच्चा पदार्थ आयातभन्दा धेरै व्यापारीले कम राजस्व तिरेर तयारी आयात गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उद्योग धराशायी हुन थालेको उनले बताए । जुत्ता–चप्पलको कच्चा पदार्थको आयातमा वस्तु हेरी मूल्यको १० देखि १५ प्रतिशत भन्सार शुल्क लाग्ने गर्छ ।


तयारी आयात गर्दा भन्सार शुल्क मूल्यको ३० प्रतिशत लाग्ने प्रावधान छ । तर, वास्तविक मूल्यको २० देखि २५ प्रतिशत मूल्यांकन कायम गरेर आयात हुने गरेको छ । ४ सय रुपैयाँ मूल्य पर्ने चप्पललाई भन्सारमा ४० देखि ६० रुपैयाँसम्म मूल्यांकन गरी भन्सार पास भइरहेको अग्रवालको दाबी छ ।


नेपाल जुत्ता–चप्पल उत्पादक संघले दुई वर्षअघि गरेको सर्वेक्षणअनुसार सबैभन्दा धेरै कृष्णनगर, गौर, बैतडी, जनकपुर, महेन्द्रनगर नाकाबाट न्यून मूल्यांकनमा जुत्ता–चप्पल भित्रिने गरेको छ । भैरहवा, वीरगन्जलगायतका भन्सार नाकाबाट पनि सामान्यतया यो परिपाटी कायम रहेको व्यवसायी बताउँछन् ।


संघका अनुसार मुलुकमा वार्षिक ७ करोड ५० लाख जोर जुत्ता–चप्पल खपत हुने गरेको छ । प्रतिजोर औसत ४ सय रुपैयाँ मूल्यलाई आधार मान्दा पनि करिब ३० अर्ब रुपैयाँका जुत्ता–चप्पलको खपत हुन्छ । जसमध्ये ७५ प्रतिशत जुत्ता–चप्पलको आयात भारत, चीनलगायत मुलुकबाट हुने गरेको छ ।


जुत्ता–चप्पल उत्पादक संघका अध्यक्ष कृष्ण फुयाँलले खुला सीमाका कारण कतिपय नाकाबाट कम मूल्यांकनमा र कतिपय नाकाबाट भन्सार नतिरीकन तयारी जुत्ता–चप्पल भित्रिनुले स्वदेशी व्यवसायी समस्यामा परेको बताए । ‘अहिलेको मुख्य समस्या भनेकै खुला सिमाना हो,’ उनले भने, ‘खुला सिमानाको प्रयोग गरेर हुने अवैध गतिविधि नियन्त्रण गर्न सरकारको जनशक्ति कम भएकाले स्वदेशी जुत्ता–चप्पल व्यवसाय संकटमा पर्न थालेको छ ।’


खुला सिमानाका कारण भन्सार चोरी भई नेपाल भित्रिने समस्या उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रबाट अत्यधिक भएको उनको दाबी छ । नेपालमा हाल साना, मझौला र ठूला गरी १ हजार ५ सयभन्दा धेरै जुत्ता–चप्पल व्यवसायी रहेको र ३५ अर्ब रुपैयाँभन्दा धेरैको लगानी रहेको संघले जनाएको छ ।


संघका अनुसार नेपालमा वार्षिक ७ देखि ८ करोड जोर जुत्ता–चप्पलको माग छ । आव ०७३/७४ मा सवा ४ करोड जोर जुत्ता–चप्पलको उत्पादन भएको थियो । यो उत्पादन पछिल्ला वर्षमा बढ्दै गएको छ ।


हाल वार्षिक १ करोड ५० लाख जोर जुत्ता–चप्पल निकासी हुने गरेको छ । वार्षिक १२ करोड जोर जुत्ता–चप्पल उत्पादन गर्ने पूर्वाधार र क्षमता नेपालमा रहेको संघका अध्यक्ष फुयाँलको दाबी छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?