ब्युँतिँदै पोकलीमा पर्यटन

कुम्भराज राई

पोकली, ओखलढुंगा — लिखु गाउँपालिका–९ स्थित पोकली झरनाको पर्यटन प्रवर्द्धनका लागि स्थानीय एकजुट भएका छन् । पक्की सिँढी र झरना नजिक झोलुंगे पुल निर्माण भएको छ । क्यानोनिङका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

१३० मिटर अग्लो छ पोकली झरना । स्थानीय यसलाई देशकै दोस्रो अग्लो झरना भएको दाबी गर्छन् । सरकारले पर्यटन वर्ष २०२० को सय गन्तव्य सूचीमा राखेपछि स्थानीय हौसिएका छन् । प्रदेश १ सरकार र संघ सरकारको पर्यटन मन्त्रालयले ५०–५० लाख गरी कुल १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । लिखु गाउँपालिकाले १० लाख रुपैयाँ दिएको छ ।


‘गाउँपालिकाको बजेटबाट अहिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको छ,’ पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले भने, ‘डीपीआर फाइनल हुने बित्तिकै हामीले प्राप्त गरेको बजेटबाट पूर्वाधारका काम सुरु भइहाल्छ । पर्यटन वर्षभित्रै केही काम सक्ने तयारीमा छौं ।’ डीपीआरमा पोकली झरना क्षेत्रमा चिल्ड्रेन पार्क, स्विमिङ पुल, सिसाको पुल, गौतम बुद्ध र शिव पार्वतीको मन्दिरजस्ता संरचनाको डिजाइन गराइएको छ । दुग्धेश्वर मन्दिर, हाँडीदहदेखि चुलीवनसम्मका पूर्वाधारका लागि डिजाइन हुनेछ ।


पोकली क्षेत्रमा मिश्रित जातीय संस्कृतिका कारण पर्यटनको प्रचुर सम्भावना छ । शेर्पा, तामाङ, सुनुवार, बाहुन, क्षत्री र शिल्पी समुदायको यहाँ मिश्रित बसोवास रहेको छ । ‘शिव–पार्वती र बुद्धको मूर्तिले प्राकृतिक रूपमा मात्र नभएर धार्मिक सांस्कृतिक पर्यटनका लागि समेत टेवा पुग्ने आशा लिएका छौं,’ स्थानीय अगुवा ओम सुवेदीले भने, ‘यसका लागि ठूलो परिमाणमा बजेट आवश्यक पर्छ । तत्कालै पूरा हुन भने सम्भव छैन । केही वर्ष लाग्न सक्छ ।’


स्थानीयले होमस्टेको अभ्यास सुरु गरेका छन् । तर, होमस्टेका लागि थप ज्ञान आवश्यक भएको भन्दै स्थलगत भ्रमणका लागि लमजुङ लाने तयारी गरिएको छ । हिउँदमा सिँचाइका कारण पोकली झरनाको शिरबाटै पानी कटाइने समस्याले केही वर्षयता समस्या भएको छ । त्यसैले सिँचाइलाई पनि बाधा नपुग्ने र झरना पनि नसुक्ने बनाउनका लागि झरनाको शिरमा करोड लिटरभन्दा बढी पानी अट्ने ड्याम बनाउने योजना बनाइएको छ ।


पर्यटन वर्षभित्रै अर्को महोत्सव आयोजना गर्ने तयारी पोकलीवासीको छ । ‘पोकली झरनाको पर्यटन विकासका अर्को चरण प्रारम्भ भएको घोषणासहित हामी जुटेका छौं,’ पूर्वसभासद बालकृष्ण ढुंगेलले भने, ‘अब यसको विकासले निरन्तरता पाउनेछ । हामीले नेपालकै एउटा सुन्दर र प्रमुख रोजाइको गन्तव्यमा पोकलीको विकास गर्नेछौं ।’


'पोकली टु पीके ट्रेल’

पोकली झरनासँग जोडेर सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गर्ने तयारी सुरु भएको छ । यसलाई ‘पोकली टु पिके ट्रेल’ नामकरण गरिने भएको छ । पोकली झरनादेखि चुली गौरीवन हुँदै देम्बाडाँडा र सोलुखुम्बुको पीकेसम्म पदमार्ग निर्माण गरिनेछ । यस पदमार्गमा गुराँस फुल्ने र डाँफे भेटिने जंगल हुँदै सगरमाथा हिम शृंखलालाई नजिकबाट नियाल्ने ४ हजार २ सय मिटर उचाइको पीके डाँडा पर्नेछन् ।


पदमार्गको विकासका लागि पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधि, सरोकारवालासहितको टोलीलाई सामूहिक रूपमा ट्रेकिङ गराउने तयारी भएको स्थानीयको भनाइ छ । पोकली झरना वर्षायाममा अवलोकन गर्दा अत्यन्तै सुन्दर देखिन्छ ।


हिउँदमा पानीको बहाव घटेका बेला क्यानोनिङ गर्न उपयुक्त छ । क्यानोनिङका लागि फलामका विभिन्न किलाहरू राख्ने काम केही वर्षअघि भइसकेको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?