कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अरनिको सिमेन्ट उद्योग बन्द

प्रताप रानामगर

दमौली — दुई दशकदेखि सञ्चालित अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग बन्द भएको छ । कर्मचारीहरूले सामूहिक राजीनामा दिएपछि आँबुखैरेनी–२ मा रहेको उद्योग बन्द भएको हो । 

अरनिको सिमेन्ट उद्योग बन्द

उद्योगका मानव संसाधन प्रमुख पंकल मल्लिकले कर्मचारीहरूले सामूहिक राजीनामा दिएकाले उद्योग बन्द भएको बताए । ‘राजीनामा फिर्ता गरी नियमित काममा फर्कन उद्योग व्यवस्थापकले गरेको आग्रहलाई कर्मचारीले अटेर गरेकाले बन्द गर्नुपरेको हो,’ उनले भने । उद्योगका केही कर्मचारीले सिमेन्ट उत्पादन भइरहेका समयमा एक्कासि विद्युत् आपूर्ति बन्द गरी काममा व्यवधानसमेत उत्पन्न गरेका थिए ।


भदौ ५ गते उद्योगमा कार्यरत २८ कर्मचारीले सामूहिक राजीनामा दिएका थिए । फिर्ता लिन अटेर गरेपछि भदौ ७ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गरेको मल्लिकले बताए । उद्योग व्यवस्थापनले भदौ ८ देखि अर्को सूचना नभएसम्मका लागि उत्पादन बन्द भएको जानकारी सरोकारवालालाई गराएको छ । कर्मचारीले राजीनामा दिएको भोलिपल्ट केही कर्मचारीले बाहिरका व्यक्तिहरूको संलग्नतामा उद्योगको विद्युत् आपूर्ति बन्द गराएका थिए । चन्दा माग्ने, ढुवानीमा अवरोध पुर्‍याउनेलगायत गतिविधिसमेत भइरहेको उद्योगले जनाएको छ ।


उद्योगमा कार्यरत कर्मचारीको योग्यता, क्षमताअनुसार नेपाल सरकारले तोकेको सेवा सुविधा कर्मचारीलाई दिँदै आएको मल्लिकले बताए । सञ्चय कोष र उपदानको व्यवस्थासमेत थियो । उनका अनुसार उद्योगमा २८ कर्मचारी कार्यरत थिए । ठेकेदारमार्फत करिब एक सय कर्मचारीले पनि काम गरिरहेका थिए ।


उद्योगले सबै सामान बुझाई हिसाबकिताब फरफारकका लागि आउन कर्मचारीलाई भनेको छ । उद्योगले ‘नो वर्क नो पे’ लागू गर्ने जनाएको छ । उद्योग बन्दले सबैभन्दा ठूलो मार ज्यामीस्तरका कर्मचारीलाई परेको छ । उद्योग एक्कासि बन्द हुँदा रोजीरोटी गुमेको कामदार टंक गुरुङले बताए ।


‘सिमेन्ट उत्पादन भएदेखि यस उद्योगमा काम गर्दै आएका थियौं,’ उनले भने, ‘एक्कासि बन्द भयो । रोजगारी पनि गुम्ने भयो ।’ उनले परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता थपिएको बताए । दसैं–तिहारको बोनस दिनुपर्छ भनेर चाडपर्व नजिकिँदा उद्योग बन्द हुने गरेको आरोप गुरुङले लगाए ।


ठेकेदारमार्फत काम गरिरहेका देवीसरा गुरुङको पनि अवस्था दयनीय भएको छ । छोराछोरी लालनपालन गर्नका लागि गाउँबाट बजार झरेकी उनलाई छाक टार्न मुस्किल छ । ‘अहिले पसलबाट उधारो ल्याएर काम चलाएका छौं,’ उनले भनिन्, ‘लामो समय त साहुले पनि विश्वास गर्दैनन् होला ।’ उद्योगमा महिनामा ५० किलोका डेढ लाख बोरा सिमेन्ट उत्पादन हुन्थ्यो । सिमेन्ट काठमाडौं, पोखरा, नारायणगढलगायत सहरमा बिक्री हुँदै आएको थियो ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?