वीरगन्ज भन्सारमा स्वचालित मूल्यांकन प्रणाली

शंकर आचार्य

पर्सा — वीरगन्ज–आईसीपी भन्सारमा सोमबारदेखि स्वचालित मूल्यांकन (भ्यालुएसन अटोमेसन) प्रणाली लागु भएको छ । कार्यालयका सूचना अधिकृत मनीष महतोका अनुसार भ्यालुएसन अटोमेसन इन आशिकुडा नामक यो प्रणाली कृष्णनगर, सिर्सिया सुक्खा बन्दरगाह आदि भन्सारमा लागू गरी परीक्षणपछि वीरगन्ज भन्सार कार्यालयमा पनि लागू गरिएको हो ।

भन्सार विभागबाट यहाँका कर्मचारी तथा भन्सार एजेन्टलाई समेत यो प्रणाली बारे तालिम दिन अधिकृत रमेश सुखमणि तथा अन्य प्राविधिकसहितको टोली आइपुगेको छ । टोलीले कर्मचारी र एजेन्ट दुवैलाई तालिमसमेत दिई यो प्रणाली लागू गर्न सहजीकरण गरिरहेको छ ।


भन्सारको रिस्क म्यानेजमेन्ट प्रणालीलाई बलियो बनाउनु यो प्रणालीको मुख्य उद्देश्य रहेको महतोले बताए । ‘यो प्रणाली लागू भएपछि अब आयात निर्यात हुने वस्तुको परीक्षण गरिन्छ त्यसपछि मूल्यांकन सेक्सनमा गइन्छ,’ उनले भने, ‘यसअघि स्थिति ठीक उल्टो थियो, यसले सेवाग्राहीलाई प्रमुख भन्सार अधिकृत र मातहतका अधिकृत कहाँ गरी दुई ठाउँमा जानु परेन, कम्प्युटरको सिस्टमबाटै सबै काम हुन्छ, यसले भन्सारलाई थप पेपरलेससमेत बनाउँछ ।’


यसअघि तेस्रो मुलुकबाट आएका मालवस्तुको हकमा मात्र यो प्रणाली लागू भएको थियो । हाल भारतबाट आउने वस्तु (लोकल) मा समेत यो प्रणाली लागू भएको छ । लोकलको हकमा सम्बन्धित अधिकृतले नै आवश्यक सेवा दिन सक्छन् । विगतमा म्यानुअल रहेको यो काम अब पूर्ण रूपले कम्प्युटरकृतसमेत हुन पुगेको छ ।


यसले सेवाग्राही र कर्मचारी दुवैको श्रम र समयसमेतको बचत गर्नेछ । मुलुककै सर्वाधिक ठूलो तथा सबैभन्दा बढी राजस्वसमेत संकलन गर्ने भन्सार कार्यालयमा यो प्रणाली लागू भएपछि त्यसको सकारात्मक तथा नकारात्मक असर केही दिनभित्र देखिनेछ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?