बेरोजगार बन्दै 'उद्यमी’

विभिन्न गैरसरकारी संघसंस्थाहरुका कार्यक्रम ‘फेजआउट’ भएपछि सीपमूलक तालिम लिएका युवाहरु पलायन
प्रकाश बराल

बागलुङ — काठेखोला गाउँपालिका–३ धम्जाकी चिजा विकले १२ वर्षअघि ढाका बुनाइ तालिम लिएकी थिइन् । तीनमहिने तालिम लिएकी उनले केही समय ढाका बुनेर राम्रै कमाइ गरिन् । बजारमा ढाकाका नयाँ नयाँ ‘डिजाइन’ आएपछि उनको सीप ओझेल पर्‍यो । सादा कपडा बुन्न जानेकी उनले बुट्टा भन, रङ लगाउन र नयाँ डिजाइनको बनाउन सकिनन् ।

बागलुङको बडीगाड गाउँपालिका–२ मा ढाका बुन्दै उद्यमी महिला ।तस्बिर : प्रकाश/कान्तिपुर

गाउँ आएको गैरसरकारी संस्थाले दिएको तालिमबाट उनले सामान्य सीप सिकेकी थिइन् । कार्यक्रम ‘फेजआउट’ भएपछि उनको सीप पनि मर्दै गयो । अहिले मेसिनमा खिया लागेको छ । उनी रोजगारीको खोजीमा छन् । ‘बजारमा आउने आकर्षक कपडा बुन्ने छुट्टै तालिम र नयाँ प्रविधिको मेसिन नभएसम्म काम गरेर फाइदा छैन,’ विकले भनिन्, ‘प्रतिस्पर्धाका लागि नयाँ डिजाइन र प्रविधि चाहिन्छ, बरु अरू जागिर पाए खान खोज्दै छु ।’

विकले आम्दानीको विकल्प भेट्न सकेकी छैनन् । सामान्य खेतीपाती गरेर बसेकी उनले कमाइ अभावमा आर्थिक समस्या भोगेको गुनासो गरिन् । यो समस्या पाँच वर्षअघि तालिम लिएकी अनिता विकले पनि भोगेकी छन् । छोटो समयको तालिम दिएर उद्यमी बनाएको देखाउने संघसंस्थाले पूर्ण सीप, पुँजी र मेसिन नदिएको उनले गुनासो गरिन् । कमाइ गरेर घर चलाउन खोजेकी उनले आम्दानी नभएपछि श्रीमान्लाई विदेश पठाएको बताइन् । यहाँ लघुउद्यम विकास कार्यक्रमको सहयोगमा स्थानीय संस्थामार्फत युवालाई तालिम दिइएको थियो ।

पछि गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) सञ्चालन भयो । यी कार्यक्रम तीन वर्षयता सञ्चालनमा छैनन् । जनप्रतिनिधिले पनि ती संस्थाले गरेका काममा लगानी नगर्दा उद्यमी बेरोजगार बनेका छन् । स्थानीय बजेट भौतिक पूर्वाधारमा खर्च भएको छ । तालिम, उत्पादन र बजारीकरणका लागि कुनै लगानी नहुँदा ओझेलमा परेको उद्यमी सुकमाया विकले बताइन् । ‘बजारमा प्रतिस्पर्धा गर्न सकिने कपडा बुन्ने तालिम पाएका छैनौं,’ उनले भनिन्, ‘सुरुसुरुमा केही होला जस्तो लागेको थियो, अहिले उत्पादन गर्नै नसक्ने अवस्थामा पुगेका छौं ।’

परम्परागत मेसिनले गाउँघरमा प्रयोग गर्ने पच्छ्यौरा मात्र बनाउन सकेको उनले बताइन् । मेसिन बिग्रेपछि बनाउने प्राविधिक नभएको, मर्मत कोष नभएको र सामूहिक उत्पादनस्थलको अभाव छ । चार वर्षअघि यहाँ लाखौं खर्चेर बनाइएको साझा सुविधा केन्द्र अहिले जीर्ण भएको छ । कोही जाँदैनन् । यहाँ राखिएका छवटा काठका मेसिन उद्यमीले घरघरमा लगेका छन् । घरघरमा पनि बुन्ने काम नभएको विकले बताइन् ।

लोकबहादुर श्रीषले चार वर्ष च्याउखेती गरे पनि अहिले छाडेका छन् । ‘बजारको सोयाबिन खाने चलन भित्रिएपछि महँगो च्याउ खाने कोही छैनन्,’ उनले भने, ‘गाउँले धमाधम सदरमुकाम र सहरी क्षेत्रमा सरेका छन्, गाउँमा बिक्री छैन ।’ गाउँमा ब्रोइलर कुखुरा भित्रिएपछि स्थानीय जातको कुखुराको बजार खस्केको छ । ‘दस–पन्ध्रवटा कुखुरा पालेर जीवन चल्दैन, धेरै पाल्नका लागि बजारको समस्या छ,’ श्रीषले भने, ‘तालिम दिएका संस्था अहिले छैनन्, बजार खोजिदिन्छौं भन्नेहरू कता गए थाहा भएन ।’

एनजीओले तालिम दिँदा, बैठक बस्दा पनि भत्ता दिने गरेकाले केही युवाले तालिम लिएका थिए । केहीले काम गर्ने जोस देखाएका थिए । थप उत्साह र लगानीका अवसर नभएपछि सबैले काम छाडेको उनीहरू बताउँछन् । घरेलु तथा साना उद्योग विकास समितिमार्फत यहाँ मेडपा कार्यक्रम लागू भएको थियो । वडा ३ मा मात्र ८० उद्यमी बनाइएको थियो । पहिलो चरणको तालिम र सामान्य पुँजी दिएपछि थालिएका सबै काम अहिले अलपत्र छन् ।

धम्जाका १२ युवा च्याउ लगाउन छाडेर विदेश हानिएका छन् । वनजन्य गैरकाष्ठ, जडीबुटी, पशुपालन, कृषि र फर्निचरलगायतका घरेलु उद्योगको विकास गर्ने भनिएका सबै कार्यक्रम अहिले अलपत्र परेका हुन् । जिल्लाभर सञ्चालित यस्ता कार्यक्रम अलपत्र पर्दा आठ सयभन्दा बढी उद्यमी बेरोजगारजस्तै भएका छन् ।

ती संस्थाले तालिम दिएर उद्यमीका रूपमा सूचीकृत गरेका अधिकांशलाई अहिले मेडपामार्फत अल्लो धागो, ढाका, सिस्नो पाउडर, हर्बल साबुन, बुटिक, मौरीपालन, तरकारीखेती तथा भाँग्रो बनाउने लगायत घरेलु उद्योग गर्न अनुदान दिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

‘दुई वर्षदेखि सुस्ताएको कार्यक्रम चालु वर्ष आउँदै छ,’ उद्योग अधिकृत गोमा रिजालले भनिन्, ‘पुराना उद्यमीलाई स्तरोन्नति र नयाँको खोजी गर्नेछौं ।’ बजारीकरणका लागि साथ दिएर पलायन बन्नबाट जोगाउने उनले बताइन् । घरेलु विकास समिति खारेज भएर कार्यालय बनेपछि नीति र कार्यक्रमको परिचयसमेत नभएकाले उद्यमी समस्यामा परेको उनले बताइन् ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

लिफ्ट प्रविधिले ५० घरमा पानी

प्रकाश बराल

बागलुङ — बिहानको ३ बजे उठेर पधेंरामा लाइन बस्नुपर्थ्यो । एक गाग्री भरेर घर आइपुग्दा ३ घण्टा लाग्थ्यो । त्यसले बिहानको खाना पकाउनै ठिक्क । त्यसपछि दिउँसो पनि लाइन, बेलुकी पनि लाइन बसेर दैनिक खानेपानीको जोहो गरेको उनले अझै भुलेकी छैनन् ।

बागलुङ नगरपालिका ४ पाखाथरमा लिफ्ट खानेपानी आयोजना घरघरमा आएपछि पानी थाप्दै ७२ वर्षीय हेमन्तकुमारी सापकोटा । तस्बिर : प्रकाश/कान्तिपुर 

बागलुङ नगरपालिका–४ पाखाथरकी ७२ वर्षीया हेमन्तकुमारी सापकोटाले ती दुःखका दिन गएको अनुभव गरेकी छन् । बिहानभरि खानेपानीकै लागि धाउनु परेपछि छोराछोरी समयमा विद्यालय पठाउन नपाएकी सीता सापकोटाले अहिले घरको काम भ्याएर बजारमा जागिर खान थालेको बताइन् ।

वर्षौंदेखिको दुःख अन्त्य भएको पनि उनले बताइन् । सदरमुकाम नजिकै भए पनि ५० घरले खानेपानीको सास्ती खेपेका थिए ।
वर्षौंदेखिको समस्यालाई गाउँलेकै अगुवाईमा हटाएका छन् । समस्या हटाएका स्थानीयले लोपोन्मुख राइँलोको नामबाट योजनाको नाम राखेका छन् । राइँलो खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेर आयोजना निर्माण भएको हो ।

एकैघरका दाजुभाइ धेरै हुँदा राइँलो सम्म पुग्थ्यो । थोरै सन्तान भएपछि साइँलो, काइँलो, राइँलो जस्ता नाम लोप भएकाले आयोजनाको नाम राखिएको उपभोक्ता समितिका अध्यक्ष वासुदेव उपाध्यायले बताए ।

आयोजना निर्माणमा बागलुङ नगरपालिकाले साथ दिएको छ । बस्तीदेखि ३ सय मिटर तलको मुललाई संकलनट्यांकी बनाएर लिफ्ट प्रविधिमार्फत डाँडामा पानी लगिएको छ । उक्त स्थानमा ५० हजार लिटरको अर्को ट्यांकी बनाएपछि गाउँभरि पानी वितरण गरिएको उपाध्यायले बताए ।

स्थानीयले प्रतिघर २० हजार रुपैयाँ नगदै संकलन गरेपछि नगरपालिकाले विनियोजन गरिदिएको २० लाख ७३ हजार रुपैयाँमा ४ लाख रुपैयाँको श्रमदान पनि थपेर उनीहरूले खानेपानी योजना सम्पन्न गरेका हुन् । योजना २ वर्षमा सकिएको हो । एक जनाले ४५ दिनसम्म श्रमदान गरेका छन् । ३ हजार मिटर पाइपलाइन बिच्छ्याएर अहिले ४५ घरमा पानी वितरण भइसकेको छ । छुटेका घरमा पनि छिटै पुग्नेछ ।

योजनाबाट घरघरमा चौबिसै घण्टा पानी आउन थालेको छ । ‘गाईभैंसीलाई पानीकै नजिक पाल्ने र घरमा गाग्रीमा खेपेको पानीले चलाएका थियौं, अहिले चाहिएपछि मात्र गाग्री थापिन्छ,’ सापकोटाले भनिन्, ‘कतिपय घरले ड्रम र गाग्री थन्क्याएका छन् ।’ पानी खसेको दुई महिना मात्र भयो ।

गाउँमा पानी आएपछि स्थानीयले घरघरमा गाईभैंसी पाल्न पनि थालेका छन् । ‘चाहिएका बेला पानी आउने भएपछि घरघरमा गाई भैंसी पाल्न थालेका छौं,’ स्थानीय हरिनारायण उपाध्यायले भने, ‘पानी बोक्ने सास्ती हटेको छ, घाँसपात प्रशस्त भएकाले पशुपालनबाट फाइदा पनि लिन सकिन्छ ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्