कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अन्धाधुन्ध किबी खेती

विप्लव भट्टराई

इलाम — इलाम नगरपालिका ३ पुवामझुवाका केशव थापाले घरबारीमा लहलह किबी हुर्काएका छन् । राम्रो आम्दानी लिने सोचमा परम्परागत ढंगले गर्दै आएको मकै, आलुजस्ता खेती छाडेर किबी बगान विस्तार गरेको वर्षौं भइसक्यो । मनग्ये लगानीसमेत गरेका उनले आम्दानी भने सोचेअनुरूप गर्न सकेका छैनन् ।

अन्धाधुन्ध किबी खेती

एउटै बोटमा १ सय किलोभन्दा धेरै फल्ने र प्रतिकिलो २ सय रुपैयाँ भन्दा बढीमा बिक्री गर्ने उद्देश्यका साथ उनले किबी खेती थालेका हुन् । तर उनको बगानमा किबीको उत्पादन नगण्यमात्रामा हुँदा चिन्तामा छन् ।


देउमाई नगरपालिका २ बाघखोरका काजी राईले पनि करिब ३ रोपनी जमिनमा किबी खेती गरेका छन् । तर आम्दानी भने नगण्य मात्रामा छ । जिल्लाका उत्तरी हरेक गाउँका कृषकले ६ बोटदेखि ६ सय बोटसम्म किबी रोपेका छन् । तर हरेक जसो कृषकको एउटै गुनासो छ सोचेअनुरुप आम्दानी लिन सकेका छैनन् । यसको एउटै कारण देखिएको छ प्राविधिक पक्षलाई बेवास्ता गर्दै अन्धधुन्ध खेती गरिनु ।


थापाको बगानमा प्राविधिकले अध्ययन गर्दा किबीको कटिङ पटक्कै नमिल्दा आम्दानी हुन नसकेको निश्कर्ष निकाल्यो । किबीले राम्रो आम्दानी नदिएपछि उनले डाले घाँस सरह सिक्कलले काटेर गाईवस्तुलाई खुवाउने गरेका रहेछन् ।


किबी रोप्दा आम्दानी धेरै हुन्छ भन्ने सुनेर लगानी गरेका तर यसको प्राविधिक पक्षका वारे भने वेखवर रहँदा कृषकले आम्दानी लिनुको सट्टा लगानी डुवाउदै गएका छन् । वाघखोरका काजि राईको बगानमा पनि उस्तै अवस्था हिउँदे र बर्खे कटिङ गर्नुपर्ने भए पनि उनले त्यसतर्फ ध्यान नदिँदा बगानमा घाम र हावासमेत छिर्न नसक्ने अवस्था थियो । मूस्किलले लागेका केहि दाना पनि अत्यधिक सेप बढेपछि वोटमा अडिएका थिएनन् । ‘मेची राजमार्ग नजिकै भएकाले घरवाट नै फल विक्री गर्न सकिने विश्वासमा रोपेको हुँ,’ उनले भने ‘तर पटक्कै आम्दानी नभएपछि विकल्पको खोजीमा छु ।’


किबी जोन कार्यालयमार्फत यो पटक किबीको जात छुट्याउदै कृषकको घरघरमा पुगेर प्राविधिक ज्ञान प्रदान गरिँदै छ । यही क्रममा खेतीमा देखिएका हरेक समस्याको पहिचान भइरहेका हुन् । ‘परम्परागत खेती जस्तो रोपेर गोडमेल मात्र गर्दा फल लाग्छ भन्ने विश्वास कृषकमा छ,’ जोन सञ्चालक समितिका सचिव तथा प्राविधिक गंगा विष्टले भने, ‘तर यसलाई रोप्नदेखि बजार पुर्याउदासम्म प्राविधिक पक्षलाई ध्यानमा राख्नु पर्छ ।’


फलहरू मध्ये अब्बल मानिएको किबी खेती गर्न पछिल्लो दशक जिल्लामा लहर नै चलेको छ । विषेश गरि उत्तरी गाउँहरूमा यसको खेती बढो छ । अन्तराष्ट्रिय वजारमा निर्यात गर्न सकिने र यसवाट निर्मित सामाग्रीको वजार पनि राम्रो भएको हुँदा कृषकले राम्रो आम्दानीकालागि किबीलाई रोजेका हुन् । किबी खेती प्रर्वधनकालागि जिल्लामा किबी जोनसमेत सञ्चालन भएको छ । तर कृषकले खेतीमा लगानी वढाउदै लगे पनि प्राविधिक पक्षलाई ध्यान नदिदा भने खेतीवाट पर्याप्त आम्दानी लिने सम्भावना नरहेको हो ।


सन्दकपुर ४ मावुका वडाध्यक्ष वर्तमान गुरुङले किबीका विभिन्न पक्षका वारेमा जानकारी लिन प्राविधिक सहित कृषकलाई एक बगानमा भेला गरे । कृषकले जोन, गाउँपालिका र वडा कार्यालयवाट खेती प्रर्वधनमा आवश्यक सहयोग नपाएको गुनासो पोखे । उनले पनि आगामी दिनमा गम्भिरतापूर्वक खेतीलाई सफल बनाउने पहल गर्ने आश्वासन दिए ।


केही पछि उनकै बगानमा पुग्दा उदेकलाग्दो अवस्था थियो । करिब ५ रोपनी जमिनमा फैलिएको बगान चहार्दा कतै दाना देखिएनन् । गुरुङकी श्रीमतीले आम्दानी नभएपछि निराश भएर बगान नै मास्न थालेको वताइन् । किबीका विरुवा पर्याप्त आम्दानी दिन सक्ने वयस्क भइसकेका थिए । प्राविधिकले समय खर्चिएर बगानको अध्ययन गरे र पत्ता लगाए त्यत्रो बगानमा एउटा पनि भाले बोट थिएन । जसका कारण परागसेचन नहुँदा गुरुङको बगान थारो बसेको पाइयो ।


कुनै विरुवालाई ग्राफटङगरि भाले बनाएर आउदो वर्षमा उत्पादनयोग्य बनाउन सकिने प्राविधिकले बताए । ५ सय हेक्टरभन्दा धेरै जमिनमा किबी रोपिएको तथ्यांक छ । तर उत्पादन सन्तोषजनक देखिएको छैन ।


रोपण प्रक्रिया नै गलत

२०६४ सालमा किबी खेती जिल्लामा भित्रिएसँगै कृषकले प्रतिगोटा ४ सय देखि १२ सय रुपैयाँसम्म खर्चेर किबी रोपण गरे । तर रोप्ने बेलामा न माटोको पिएच हेरियो न उचाई अनुसारको विरुवा नै रोपियो । किबीको एउटा वोटदेखि अर्कोको अन्तर रहनु पर्ने दुरी, आवश्यक मलखाद मिलाउने तरिकालगायत विषयमा पनि कृषकहरू अझै अनविज्ञ देखिए ।


संसारमा किबीमा ७६ प्रजाति पत्ता लागको लागेका छन् । यसमध्ये इलाममा हेवार्ड, एलिसान, मोण्टी, ब्रुनो, एबोट जातहरू रहेका छन् । तर गुणस्तरको हिसाबले अब्बल र अन्तराष्ट्रिय वजारमा निर्यात गर्न सकिने हेवार्ड र एलिसान जातहरू कम पाइएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?