२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

राति खुल्दैनन् एटीएम

सुवास विडारी

मकवानपुर — हेटौंडा–४, कमलाडाँडाका गम्भीर बर्तौला शनिबार राति करिब ११ बजे विद्युतीय भुक्तानी कार्ड (एटीएम) बाट पैसा झिक्न पूरै हेटौंडा घुम्दा पनि पाएनन् । काभ्रेस्थित छिमेकी विकास बैंकमा कार्यरत रहेका बर्तौलाले रातको समयमा पैसा निकाल्न नपाएपछि साथीहरूलाई फोन गरेर समस्या समाधान गरे । 

राति खुल्दैनन् एटीएम

बर्तौला उदाहरण मात्र हुन् । पछिल्लो समय हेटौंडा प्रदेश ३ को मुकाम भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ । यस्तो अवस्थामा हेटौंडाका बैंकहरूबाट अधिकांश एटीएम प्रयोगकर्ताहरूले रातको समयमा पैसा निकाल्न नपाएको गुनासो गरिरहेका छन् । हेटौंडामा वाणिज्य र विकास बैंक गरी कुल ३२ वटा बैंकले एटीएम सेवा प्रदान गरिरहेका छन् ।


‘हामीले हेटौंडामा रातिको समयमा दस बजेपछि मात्र एटीएमको सटर झार्ने गरेका छौं । आपत्कालीन अवस्थामा सेक्युरिटी गार्डहरूले सटर खोलेर सेवा दिएका पनि छन्,’ हेटौंडा बैंकर्सका संयोजक रमेश प्याकुरेलले भने । उनका अनुसार रातको समयमा एटीएमबाट बैंकिङ कारोबार लगभग शून्य देखिएकाले सञ्चालन नगरिएको हो ।

‘एटीएम मेसिन रातको समयमा सञ्चालनमै रहेको हुन्छ । सटर भने झारिएको हुन्छ । कारोबार नै न्यून भएकाले सेक्युरिटी गार्डहरूले सटर लगाउने गरेका छन्,’ उनले भने ।


राति दस बजेबाट बिहान ५ बजेसम्म एटीएमका सटरहरू बन्द गरिन्छ । बैंकहरूले रात परेसँगै एटीएम सेवा बन्द गर्ने भएकाले रातको समयमा पैसा निकाल्न हेटौंडामा असम्भव नै रहेको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले बताए ।


उनले सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको समयमा यस्ता साना विषयलाई पनि बैंकहरूले गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । ‘सुरक्षा अपुग भएको खण्डमा हामी पहल गर्न तयार छौं । मन लागे खोल्ने नत्र बन्द गर्नु गलत हो । एटीएम चलाएबापत हामीले सेवा शुल्क तिर्छौं भने हामीले मन लाग्दा पैसा निकाल्न पाउनुपर्छ,’ संघ अध्यक्ष कटुवालले भने ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले हेटौंडाको मुख्यमुख्य चोकहरूमा २४ सैं घण्टा सुरक्षाकर्मी राखिएको बताउँदै रातको समयमा एटीएम सञ्चालन गर्दा सुरक्षाको हिसाबले कुनै समस्या नरहेको बताए । ‘बैंक, वित्तीय संस्था र बजारको मुख्य चोकहरूको सुरक्षालाई विशेष रूपमा ख्याल गरिएको छ । रातभर एटीएम सञ्चालन गर्न कुनै समस्या छैन,’ उनले भने ।


पर्यटकीय स्थलमै अभाव

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनिन्छ । थाहानगरको सिमभञ्ज्याङ, दामन, पालुङ, बज्रबाराही, चित्लाङ र मार्खु क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहँदा त्यस क्षेत्रमा एटीएम सेवा भने उपलब्ध छैन ।


थाहा नगरको शिखरकोटस्थित प्रहरी कार्यालयअगाडि महालक्ष्मी विकास बैंकको एउटा मात्र एटीएम सेवा रहेको भए पनि त्यो त्यस क्षेत्रका लागि पर्याप्त नभएको थाहा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।


थाहा नगरभित्र पाँचवटा वाणिज्य बैंक करिब तीन दर्जन सहकारी सञ्चालनमा रहेको र वार्षिक बैंकहरू दुई करोडभन्दा बढी नाफा कमाइरहेको अवस्थामा सेवाग्राहीलाई आवश्यक सेवा बैंक तथा वित्तीय संस्थाहरूले प्रदान नगरेको उनको गुनासो छ ।


‘प्रदेश सरकारले समेत थाहानगरको विभिन्न स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरिसकेको छ । अब पर्यटकीय गन्तव्य भएका स्थानमा एटीएम सेवा सञ्चालन गर्नुपर्ने देखिन्छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘दामान, बज्रबाराही, चित्लाङ तथा मार्खु क्षेत्रमा एटीएमको टड्कारो अवश्यकता देखिएको छ ।’

प्रकाशित : भाद्र १७, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?