२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

साउनमा व्यापार घाटा १४ प्रतिशतले घट्यो

कृष्ण आचार्य

काठमाडौँ — गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा यस वर्षको पहिलो महिनाको व्यापारमा केही सकारात्मक संकेत देखापरेको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिना साउनमा आयात साढे ११ प्रतिशतले घटेको छ ।

साउनमा व्यापार घाटा १४ प्रतिशतले घट्यो

निर्यात २७.६८ प्रतिशतले बढेको छ । व्यापार घाटा करिब १४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । ‘यो एकदमै सुखद खबर हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘तर, हाम्रो अहिलेकै अवस्थाअनुसार बाँकी ११ महिना पनि यस्तै हुन्छ भनेर विश्वास गर्न सक्ने आधार छैन ।’ तथ्यांकअनुसार गत वर्षको साउन महिनामा १ खर्ब २० अर्ब रुपैयाँका सामग्रीहरू आयात भए ।

यसपटक १ खर्ब ६ अर्ब रुपैयाँका सामग्री मात्रै आयात भएको छ । ‘आयात निरुत्साहित गर्न सरकारले कठोर कदमहरू चालिरहेको छ । त्यसको असरले आयात घटेको हुन सक्छ,’ सुवेदी भन्छन्, ‘इनर्जी ड्रिंक्स, जंक फुड आयात बन्द गरिएको छ । सवारी साधन आयात कम गर्नका लागि बैंक ऋणदेखि विभिन्न नीतिहरूमा कडाइ गरिरहेकाले आयात घट्दै गएको हो ।’

गत वर्ष पनि सवारी साधन र स्पेयर्स पार्टसहरूको आयात वृद्धि नगन्य मात्रामा भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ८६ अर्ब ३१ करोडको आयात भएकामा २०७५/०७६ मा ९१ अर्ब १५ करोड रुपैयाँ मात्रै आयात भएको हो । वृद्धि त भएको हो तर अघिल्ला वर्षहरूको तुलनामा निकै कम हो । व्यवसायीहरूले पनि सवारी साधन आयातमा निकै गिरावट आएको बताइरहेका छन् ।

यसकारण व्यवसायीहरू पनि सरकारको आयात निरुत्साहित गर्ने कठोर नीतिमा सचेत देखिएको पूर्वसचिव सुवेदीले बताए । ‘सरकारका अहिलेका नीति नियमले आयात गरेर गरिने व्यवसायमा निकै धेरै सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ,’ उनले भने । आयात घट्ने मात्रै हैन, निर्यातसमेत बढ्नु आशाको संकेत रहेको उनले बताए ।

विभागको तथ्यांकअनुसार गत वर्ष साउन महिनामा ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएकामा यसपटक ८ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । जुन गत वर्षभन्दा २७.६८ प्रतिशतले बढी हो । ‘निर्यातका लागि प्रोत्साहनका नीतिहरू सरकारले अगाडि सारिरहेको छ । सरकारको नीतिहरू पनि निर्यातलाई बढाउने र आयात घटाउने प्रकृतिका छन् ।’

पछिल्लो समय कृषि उत्पादन तथा उपभोग्य खाद्यान्न उत्पादन बढिरहेको उनले बताए । ‘हरेक महिना यो साउनको जस्तै निर्यात बढाउन पाए हुन्थ्यो । निर्यात गर्ने सामग्रीहरू हामीसँग छैनन्,’ पूर्वसचिव सुवेदीले भने, ‘निर्यातका लागि नीतिगत सुधारको काम भएको छ, निर्यात गर्ने वस्तु छैन ।’ आयातमा भने सरकारको नीतिले केही घटाउने उनको विश्वास छ । सरकारले आयात रोक्न सक्ने सम्भावित सामग्रीहरूको पहिचान र व्यापार घाटा कम गर्ने उपाय खोज्न अध्ययन समिति नै बनाएको थियो ।

राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले करिब एक महिना लगाई अध्ययन गरी आयात रोक लगाउने सामग्रीहरूको सूची सिफारिस गरेको थियो । उक्त आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक, लाइटलगायत विभिन्न सामग्रीहरू आयातमा पूर्ण रूपमा बन्देज लगाएको छ ।

अन्य केही सामग्रीहरू अत्यधिक आयात नहोस् भनेर भन्सार महसुल बढी लगाइदिएको छ । खासगरी सिमेन्ट तथा अन्य केही उत्पादनमूलक उद्योगहरू आत्मनिर्भरको बाटोमा रहेकाले आयातितलाई निरुत्साहित गर्न भन्सार महसुल उच्च छ । यसपटकबाट पुस्तक आयातमा समेत १५ प्रतिशत भन्सार महसुल लगाइएको छ । यसले आयात कम हुनुमा केही भूमिका खेलिरहेको छ ।

गत वर्ष अमेरिकी डलर महँगो, आयातमा वृद्धि अचाक्ली र निर्यात वृद्धि सुस्त भएपछि सरकारले अनावश्यक सामग्रीहरूको पहिचान गरी आयात कम गर्ने उपायहरूको खोजीमा लागेको हो । खासगरी आयात उच्च निर्यात कम हुँदा व्यापार घाटा, भुक्तानी सन्तुलन, शोधनान्तर घाटा, चालु खाता घाटा उच्च थियो ।

नयाँ सरकार गठनलगत्तै अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने उक्त सूचकहरू नकारात्मक भएपछि सरकार खासगरी अर्थमन्त्री युवराज खतिवडा निकै आलोचित भएपछि आयात कम र निर्यात बढी गर्ने उपायहरूको खोजीमा लागेका हुन् । नेपालमा हाल १८० देशबाट विभिन्न सामग्रीहरू आयात भइरहेका छन् । पहिलो महिनामा १०५ मुलुकहरूबाट आयात तथा निर्यातको भयो ।

सबैभन्दा बढी आयात निर्यात भारतसँग नै भएको छ । भारतबाट ६७ अर्ब ८१ करोड रुपैयाँ आयात भएको छ, निर्यात भने ६ अर्ब ५ करोड रुपैयाँको मात्रै भयो । त्यसपछि चीनबाट आयात १८ अर्ब ५३ करोड रुपैयाँको भएकामा १९ करोड ८२ लाख रुपैयाँ भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष व्यापार घाटा १३.५ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । आयातको वृद्धिदर १३.९ प्रतिशत र निर्यातको वृद्धिदर १९.४ प्रतिशत रहेको छ । आयात उच्च हुँदा विदेशी विनियम सञ्चितिमा समेत असर गरिरहेको छ । हालको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

‘गत वर्षसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आइतबार जारी गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा भनिएको छ, ‘अघिल्लो वर्ष उक्त सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।’

प्रकाशित : भाद्र १६, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?