१५ पुगे पाँच तारे

काठमाडौँ — अघिल्लो वर्षसम्म मुलुकमा पाँचतारे होटलको संख्या ११ रहेकामा यो वर्ष १५ पुगेको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार हालै राजधानीमा काठमाडौं मेरियट र होटल अलफ तथा बाँकेको कोहलपुरमा होटल सेन्ट्रल प्लाजा र नेपालगन्जमा सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट सञ्चालनमा ल्याइएका छन् ।

काठमाडौं उपत्यकाभित्रै पाँचतारे होटल १० र काठमाडौं बाहिर पोखरा, नेपालगन्ज, कोहलपुर र भैरहवामा पाँचवटा छन् ।


घिमिरेले भ्रमण वर्ष अभियानसँगै थप ११ वटा चार र पाँचतारे होटल थपिने क्रममा रहेको बताए । एउटा पाँचतारे होटल निर्माणमा औसत २ अर्ब लगानी हुन्छ । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालमा जलविद्युत्पछि धेरै विदेशी लगानी प्रस्ताव हुने क्षेत्र पर्यटन रहेको बताए ।


उनका अनुसार सर्वाधिक विदेशी लगानी चिनियाँको रहेको छ । पर्यटन विभागका महानिर्देशक घिमिरेले पर्यटन क्षेत्रअन्तर्गत होटल तथा पर्यटन पूर्वाधारमा ३६ खर्ब वैदेशिक लगानी पाइप लाइनमा रहेको बताए ।


नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन क्षेत्रमा १० हजार बेड (शय्या) थपिने भएका छन् । पर्यटन विभागका अनुसार चालु वर्ष नेपालमा पर्यटकस्तरीयदेखि माथि पाँचतारे होटलसम्मको बेड संख्या कम्तीमा ६६ हजार पुग्नेछ । ‘यो संख्या स्तरीय होटलदेखि माथि फाइभ स्टार होटलसम्मको हो, साना होटलको संख्या गणनामा देखिँदैन,’ महानिर्देशक घिमिरेले भने ।


चार तथा पाँचतारे होटलमा कम्तीमा सय कोठा हुन्छन् भने बेड संख्या डेढ सय हुन्छ । अब थपिने चार तथा पाँचतारे होटल काठमाडौंमा ५, झापामा ३, इटहरीमा १, विराटनगरमा १, भैरहवामा १ र नगरकोटमा १ छन् । यीमध्ये अधिकांश निर्माणको अन्तिम चरणमा छन् ।


सोल्टीले पोखरामा पाँचतारे होटल खोल्ने योजना सार्वजनिक गरेको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार देशभर होमस्टेदेखि पाँचतारे होटलसम्मले एक रातमा २५ लाख पर्यटकलाई सेवा दिन सक्छन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?