बगान पसे अलैंची किसान

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ दोखु वहानन्देका मनोहरि बराल सल्लेरी खेतमा लगाएको अलैंची टिप्न व्यस्त छन् । गत वर्ष प्रतिरोपनी एक मनका दरले उत्पादन भित्र्याएका उनी यो वर्ष अलैंची त्यति राम्रो नफलेपछि खिन्न छन् ।

इलाम नगरपालिकाको सिङफ्रङमा अलैंची टिप्दै । तस्बिर : विप्लव/कान्तिपुर 

साढे सात रोपनी जमिनमा साढे नौ मन (४० किलोको १ मन) सम्म अलैंची फलाएका उनले यो वर्ष त्यसको आधा मात्रै उत्पादन भएको बताए । ‘जेलाई पनि स्याहार गर्नुपर्छ, यो वर्ष मेरो स्याहार पुगेन,’ उनले भने, ‘समयमा मलपानी पुर्‍याउन नसक्दा आम्दानी त घट्ने नै भयो, जति फलेको थियो त्योचाहिँ संकलन गरें ।’

वडा ९ हाङदेवाका सञ्चपाल मादेनले पनि एउटा बगानको अलैंची उठाए । सालडाँडा बगानको अलैंची भट्टी लगाइसकेका उनी अब अर्को बगानमा पस्ने तयारीमा छन् । ‘गत वर्षजस्तै फल्यो,’ उनले भने, ‘मल, पानी पनि कम भयो, मूल्यले गर्दा जोस जाँगर पनि घट्यो, त्यसको असर उत्पादनमा त पर्ने नै भयो नि ।’

ठ्याक्कै ढक तराजु राखेर जोख्न भ्याइनसकेका उनले गत वर्षजस्तै तीन मन फलेको अनुमान लगाए । ‘अरूको बगान हेरेर यो बगानमा मेरो त फलेकै रहेछ,’ मादेनले भने, ‘धेरै साथीहरू राम्रो फलेनछ भनिरहनुभएको छ ।’ पाँचवटा बगान भएका उनले थुंगा निकाल्न नथालेसम्म उत्पादनको आकलन गर्न कठिन हुने सुनाए ।

निराशालाइ आशामा बदल्दै किसानहरू अलैंचीको बगानमा पस्न थालेका छन् । अलैंची व्यवसायी महासंघको तथ्यांकअनुसार अहिले देशका ४३ जिल्लामा खेती विस्तार भइसकेको छ । भदौदेखि सुरु हुने संकलनको काम मंसिरमा मात्रै सकिन्छ ।

गत आर्थिक वर्षमा झापाको काँकडभिट्टा नाकाबाट कृषि उपजमध्ये सबैभन्दा बढी निर्यात भएको अलैंचीको संकलन औलबाट सुरु हुन्छ । औलबाट पाक्न थाल्ने यो लेकमा पाकेर टिपिसक्दा सकिन्छ । किसानले जंगल, खेत र बारीमा लगाएको अलैंची बगानबाट बोटभित्रको थुंगा–थुंगा काटेर बाहिर निकाल्नुपर्छ ।

थुंगाबाट दाना छुट्याउनुपर्छ । धेरै किसानले दाना पनि ठूलो र सानो अलगअलग गर्छन् । ठूलो र सानो दानाको मूल्य पनि फरकफरक हुन्छ । त्यसपछि आगोको रापमा सुकाइन्छ । अलैंची सुकाउनुलाई भट्टी लगाउनु भनिन्छ । भट्टीको माथि अलैंची राखिन्छ र तलबाट दाउरा हालेर आगोको कोइलाको राप लगाइन्छ । दानामा पानीको मात्रा सकिएर सरङसरङ गर्ने भएपछि जुटको बोरामा प्याक गरिन्छ । त्यसपछि बिक्रीका लागि योग्य हुन्छ ।

अलैंची भारतको सिक्किमबाट इलाम भित्रिएको थियो । त्यसपछि अरू पहाडी जिल्लामा विस्तार भएको पाइन्छ । सिक्किमसँग जोडिएका ताप्लेजुङ, इलाम र पाँचथरमा सबैभन्दा बढी लगाइएको छ । ६१ वडा रहेको ताप्लेजुङमा त फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाहेक बाँकी सबै वडामा अलैंची खेती हुने गरेको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार देशभरिको उत्पादनमा आधा उत्पादन ताप्लेजुङ एक्लैले गर्छ । देशभर ५ हजार टन हाराहारीमा वार्षिक उत्पादन हुने गरेकामा ताप्लेजुङमा मात्रै २८ सय टनसम्म उत्पादन भइरहेको छ ।

बोटलाइ छुट्याएर रोप्दा सजिलै सर्ने अलैंची सुरुमा करेसाबारीका रूपमा लगाइएको थियो । उत्पादित फल दाना पिसेर लगाउने र चिया पिउन प्रयोग गरिन्थ्यो । दाल, तरकारीमा लगाउन मसलाका रूपमा पनि यसको प्रयोग गरियो । उत्पादन बढदै गएपछि बजार खोज्ने क्रममा २०२७/२८ तिर धरानमा लगेर नुनसँग अलैंची साटिएको बुढापाकाको कथन छ ।

सिरिजंघा गाउँपालिका ३ सिकैंचाका गोपी पौडेल आफू स्वयंले धरानको फुस्रेमा अलैंची लगेर नुन साटेर ल्याएको बताउँछन् । ढिके नुनसँग अलैंची सरोवर साटेको उनले बताए । त्यसबेला नुनको मूल्य प्रतिबोरा ५० रुपैयाँ थियो । धरानबाट भारतको सिलिगुडी निर्यात हुन्छ भनेर उनले सुनेका थिए । २०४७ मा प्रतिमन ५ देखि ८ हजारसम्ममा कारोबार भएको अलैंची त्यसको ६ वर्षपछि २०५३ मा झन्डै तेब्बरले बढेर प्रतिमन २० हजार पुगेको थियो ।

यसरी भएको मूल्य वृद्धिले किसानलाइ हौस्यायो । त्यो बेला कति अलैंची उत्पादन तथा निर्यात भयो यकिन नभए पनि २०६४ सालदेखि तथ्यांक राख्न थालेको पाइन्छ । नेपाल, भारत र भुटान तीन देशमा एकै खालको अलैंची उत्पादन हुन्छ ।

समुद्र सतहबाट ८ देखि १८ सय मिटरसम्मको उचाइमा अत्यन्तै राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म पनि फलेको छ । वार्षिक २ हजारदेखि २५ सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा राम्रो फस्टाएको पाइन्छ । ८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायादार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

देशभरिको अधिकांश अलैंची झापाको बिर्तामोड र सुनसरीको धरान र इटहरीमा जम्मा हुन्छ । त्यसपछि काँकडभिट्टा नाका भएर भारत निर्यात गरिन्छ । गत वर्षसम्म विराटनगरको जोगमनी भन्सारबाट निर्यात हुँदै आएकामा यो वर्षदेखि काँकडभिट्टाबाट जान थालेको हो । भारतमा जम्मा हुने ठाउँ भनेको कोलकाता हो ।

बिर्तामोडसम्म किसानको उत्पादन जस्ताको तस्तै पुग्छ । बिर्तामोड र सुनसरीमा झुस झार्ने पुच्छर काट्ने काम गरिन्छ । नेपालबाट भारतसम्म जुटको बोरामा जान्छ । त्यसपछि भारतीय उत्पादनका रूपमा आकर्षक प्याकमा तेस्रो मुलुक लैजाने गरिएको छ । १० देखि ५० किलोको बारोमा प्याक गर्ने अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराई बताउँछन् ।

भारतबाट पाकिस्तान र खाडी राष्ट्रका यूएई, दुबई, साउदी अरब, कतारजस्ता देशमा निर्यात गरिन्छ । यसलाई गर्मीमा शीतलता प्रदान गर्ने मसला, आयुर्वेदिक औषधि, मिठाई, बिस्कुटजस्ता खाद्य वस्तुमा प्रयोग गरिने कतार पुगेर फर्किएका चन्द्रप्रकाश भट्टराई बताउँछन् । अलैंचीको बजार अध्ययन गर्न गएका भट्टराई अहिले हवाईसेवामार्फत खाडी राष्ट्रमा अलैंची पठाउन थालेका छन् ।

नुनको बोरासँग साटेको अलैंची प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो । अहिले मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा २४ हजार रुपैयाँसम्म झरेको छ । सरकारले दररेट निर्धारण नगरेका कारण भारतीय व्यापारीको भरमा पर्नुपरेको ताप्लेजुङ अलैंची व्यवसायी संघका अध्यक्ष बालमणि बरालले बताए । यसले किसान र व्यवसायी दुवैलाई असुरक्षित बनाएको छ । कुनैबेला ताप्लेजुङ एक्लैले छ अर्ब रुपैयाँ भित्र्याएको थियो । गत आर्थिक वर्षमा नेपालबाट ४ अर्बको मात्रै निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

किसानको कम्तीमा प्रतिमन ५० हजार रुपैयाँ पुगे लगानी उठाउन सकिने बताउँछन् । ‘बगान फाड्नु, टिप्नु, गोडमेल गर्नु, मल, पानी लगाउँदा खर्च धेरै नै बढछ,’ मादेनले भने, ‘अहिलेको मूल्यले निराश छौं, किनकि मूल्य नै उठाउन गाह्रो हुन्छ ।’ अस्थिर र उतार चढाव भइरहने भएकाले मूल्य बढ्नेमा आशावादी भने रहेको मादेनले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुर विमानस्थल रात्रि उडानका लागि तयार

सन्तोष सिंह

धनुषा — जनकपुर विमानस्थलमा उपकरण जडान र भौतिक पूर्वाधारका कामले तीव्रता पाएको छ । विमानस्थल रात्रिकालीन उडानका लागि तयार छ । यात्रुको चाप बढ्दै गएपछि सेवा विस्तार गरिएको छ । उडानसमेत थपिएका छन् । 

जनकपुर विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको जहाज ।तस्बिर : कान्तिपुर

‘रन–वे लाइट जडान गरिसकिएको छ,’ जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले भने, ‘रात्रिकालीन उडानका लागि तयारी अवस्थामा छौं । अनुमति पाएलगत्तै उडान सुरु हुन्छ ।’ जाडोका बेला हुस्सुका कारण विमान आउन नसक्ने समस्या पनि समाधान भएको छ । हुस्सु लागेका बेला र रात्रि उडान सहज रूपमा गराउन सक्ने गरी सुविधा थपिएको छ ।

विमानस्थलको स्तरोन्नतिसँगै हवाई इन्धनको सुविधासमेत थपिएको छ । आयल निगमले ट्यांकरबाट रिफ्युलिङ सेन्टर सञ्चालनमा ल्याउँदा भाडासमेत कम भएको छ । जसले यात्रुको चाप बढेको प्रमुख ढकालले बताए । ‘विमानस्थलमा रिफ्युलिङको सुविधा सेन्टर नहुँदा लोड रेस्टिकेसन हुन्थ्यो,’ ढकालले भने, ‘ट्यांकरमार्फत रिफ्युलिङ सेवा तत्कालका लागि हो ।

आयल निगमले विमानस्थलमा छुट्टै डिपो सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । ‘इन्धन डिपोका लागि विमानस्थलकै ५ कट्ठा जग्गा उपलब्ध गराइएको छ । विमानस्थलमा रिफ्युलिङ गर्ने सुविधा भएपछि तीनजनासम्म बढी यात्रु ल्याउन थालेका छन्,’ उनले भने । विमानको भार बढ्न थालेपछि रेस्क्यु एन्ड फायर फाइटिङ सेवासमेत थप गरिएको छ ।

धावनमार्गमा विमान अवतरणमा अवरोध गर्ने रूखहरू काटिएका छन् । विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरण जडान गरिएको छ । ‘सुरक्षा जाँचका लागि जडान गरिएको एक्सरे मेसिनबाट लगेजमाथि निगरानी थालिएको छ,’ ढकालले भने, ‘हातेझोला जाँच गर्ने मेसिनको भने अभाव छ ।’

विमानस्थल निगरानीका लागि सीसीटिभी क्यामेरा र उज्यालोका लागि सोलर बत्ती जडान गरिएको छ । विमानस्थलको स्तोन्नति पछि जनकपुर–काठमाडौं उडान थप भएको छ । भाडासमेत सस्तिएको छ । जनकपुर–काठमाडौं बुद्ध एयरले २ र यतीले १ गरी ३ मात्र उडान हुन्थ्यो । अहिले दुवै एयरलायन्सले १/१ उडान थप गरी ५ पुर्‍याएका छन् । सेवा थपिएपछि जनकपुरबाट काठमाडौंको भाडा २ हजार ५ सयमा झरेको छ । जनकपुरबाट श्रीएयरले समेत उडानको तयारी गरेको प्रमुख ढकालले बताए ।

धार्मिक नगरी जनकपुर प्रदेश २ को राजधानी तोकिएपछि यहाँ विमानबाट आवतजावत गर्नेको संख्या बढेको छ । जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक पनि बढेका छन् । प्रदेश राजधानीभएपछि प्रशासनिक कामले पनि आउजाउ गर्नुपर्ने भएकाले यात्रु चाप बढेको छ । पछिल्ला केही महिनायता जनकपुर विमानस्थलमा हरेक महिना २ हजारजति यात्रु बढेका छन् ।

असार महिनामा ५ हजार ७ सय ५८ यात्रुले यात्रा गरेका थिए । साउनमा ७ हजार ५ सय ५८ जनाले यात्रा गरे । पर्यटकलाई मध्यनजर गर्दै जनकपुरबाट पोखरा र भारतको पटना, बनारस उडानका लागि एयरलाइन्सहरूले अध्ययन गरिरहेको जनकपुर विमानस्थलका प्रमुख ढकालले बताए ।

विमान र यात्रु थप भइरहँदा पुरानो टर्मिनल भवन भार थेग्न सक्ने अवस्थामा छैन ।विमानस्थलमा यात्रु बस्ने ठाउँ नै छैन । नयाँ टर्मिनल भवन निर्माण समयमै हुन नसक्दा समस्या भएको प्रमुख ढकालले बताए । दुई वर्षमा निर्माण पूरा हुनुपर्ने टर्मिनल भवन सात वर्ष बित्दा पनि सकिएको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण अन्योलमा परेको हो ।

२०२४ साल असोज ८ गतेदेखि सञ्चालनमा आएको जनकपुर विमानस्थलमा २०६९ कात्तिक १२ गते नयाँ टर्मिनल भवन निर्माणको काम सुरु भएको थियो । पप्पु र रमण कन्सट्रक्सनले संयुक्त रूपमा २४ महिनामा काम सक्ने गरी ठेक्का सकारेका थिए ।

चारपटक म्याद थप गर्दा पनि निर्माण पूरा नभएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ ठेक्का लगाएको छ । थेगेङी–ग्लवा–उमा एन्ड कम्पनीले २१ करोड २७ लाखमा टर्मिनल भवन निर्माण सकारेको छ । नयाँ ठेक्काको म्याद असारमा सकिएपछि पुस मसान्तसम्मका लागि म्याद थप भएको सहायक आयोजना प्रमुख गणेश थापाले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्