२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जनकपुर विमानस्थल रात्रि उडानका लागि तयार

सन्तोष सिंह

धनुषा — जनकपुर विमानस्थलमा उपकरण जडान र भौतिक पूर्वाधारका कामले तीव्रता पाएको छ । विमानस्थल रात्रिकालीन उडानका लागि तयार छ । यात्रुको चाप बढ्दै गएपछि सेवा विस्तार गरिएको छ । उडानसमेत थपिएका छन् । 

जनकपुर विमानस्थल रात्रि उडानका लागि तयार

‘रन–वे लाइट जडान गरिसकिएको छ,’ जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले भने, ‘रात्रिकालीन उडानका लागि तयारी अवस्थामा छौं । अनुमति पाएलगत्तै उडान सुरु हुन्छ ।’ जाडोका बेला हुस्सुका कारण विमान आउन नसक्ने समस्या पनि समाधान भएको छ । हुस्सु लागेका बेला र रात्रि उडान सहज रूपमा गराउन सक्ने गरी सुविधा थपिएको छ ।


विमानस्थलको स्तरोन्नतिसँगै हवाई इन्धनको सुविधासमेत थपिएको छ । आयल निगमले ट्यांकरबाट रिफ्युलिङ सेन्टर सञ्चालनमा ल्याउँदा भाडासमेत कम भएको छ । जसले यात्रुको चाप बढेको प्रमुख ढकालले बताए । ‘विमानस्थलमा रिफ्युलिङको सुविधा सेन्टर नहुँदा लोड रेस्टिकेसन हुन्थ्यो,’ ढकालले भने, ‘ट्यांकरमार्फत रिफ्युलिङ सेवा तत्कालका लागि हो ।


आयल निगमले विमानस्थलमा छुट्टै डिपो सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । ‘इन्धन डिपोका लागि विमानस्थलकै ५ कट्ठा जग्गा उपलब्ध गराइएको छ । विमानस्थलमा रिफ्युलिङ गर्ने सुविधा भएपछि तीनजनासम्म बढी यात्रु ल्याउन थालेका छन्,’ उनले भने । विमानको भार बढ्न थालेपछि रेस्क्यु एन्ड फायर फाइटिङ सेवासमेत थप गरिएको छ ।


धावनमार्गमा विमान अवतरणमा अवरोध गर्ने रूखहरू काटिएका छन् । विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरण जडान गरिएको छ । ‘सुरक्षा जाँचका लागि जडान गरिएको एक्सरे मेसिनबाट लगेजमाथि निगरानी थालिएको छ,’ ढकालले भने, ‘हातेझोला जाँच गर्ने मेसिनको भने अभाव छ ।’


विमानस्थल निगरानीका लागि सीसीटिभी क्यामेरा र उज्यालोका लागि सोलर बत्ती जडान गरिएको छ । विमानस्थलको स्तोन्नति पछि जनकपुर–काठमाडौं उडान थप भएको छ । भाडासमेत सस्तिएको छ । जनकपुर–काठमाडौं बुद्ध एयरले २ र यतीले १ गरी ३ मात्र उडान हुन्थ्यो । अहिले दुवै एयरलायन्सले १/१ उडान थप गरी ५ पुर्‍याएका छन् । सेवा थपिएपछि जनकपुरबाट काठमाडौंको भाडा २ हजार ५ सयमा झरेको छ । जनकपुरबाट श्रीएयरले समेत उडानको तयारी गरेको प्रमुख ढकालले बताए ।


धार्मिक नगरी जनकपुर प्रदेश २ को राजधानी तोकिएपछि यहाँ विमानबाट आवतजावत गर्नेको संख्या बढेको छ । जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक पनि बढेका छन् । प्रदेश राजधानी भएपछि प्रशासनिक कामले पनि आउजाउ गर्नुपर्ने भएकाले यात्रु चाप बढेको छ । पछिल्ला केही महिनायता जनकपुर विमानस्थलमा हरेक महिना २ हजारजति यात्रु बढेका छन् ।


असार महिनामा ५ हजार ७ सय ५८ यात्रुले यात्रा गरेका थिए । साउनमा ७ हजार ५ सय ५८ जनाले यात्रा गरे । पर्यटकलाई मध्यनजर गर्दै जनकपुरबाट पोखरा र भारतको पटना, बनारस उडानका लागि एयरलाइन्सहरूले अध्ययन गरिरहेको जनकपुर विमानस्थलका प्रमुख ढकालले बताए ।


विमान र यात्रु थप भइरहँदा पुरानो टर्मिनल भवन भार थेग्न सक्ने अवस्थामा छैन । विमानस्थलमा यात्रु बस्ने ठाउँ नै छैन । नयाँ टर्मिनल भवन निर्माण समयमै हुन नसक्दा समस्या भएको प्रमुख ढकालले बताए । दुई वर्षमा निर्माण पूरा हुनुपर्ने टर्मिनल भवन सात वर्ष बित्दा पनि सकिएको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण अन्योलमा परेको हो ।


२०२४ साल असोज ८ गतेदेखि सञ्चालनमा आएको जनकपुर विमानस्थलमा २०६९ कात्तिक १२ गते नयाँ टर्मिनल भवन निर्माणको काम सुरु भएको थियो । पप्पु र रमण कन्सट्रक्सनले संयुक्त रूपमा २४ महिनामा काम सक्ने गरी ठेक्का सकारेका थिए ।


चारपटक म्याद थप गर्दा पनि निर्माण पूरा नभएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ ठेक्का लगाएको छ । थेगेङी–ग्लवा–उमा एन्ड कम्पनीले २१ करोड २७ लाखमा टर्मिनल भवन निर्माण सकारेको छ । नयाँ ठेक्काको म्याद असारमा सकिएपछि पुस मसान्तसम्मका लागि म्याद थप भएको सहायक आयोजना प्रमुख गणेश थापाले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?