१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सोलु करिडोरको प्रगति ७५%

काठमाडौँ — सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न निर्माण थालिएको सोलु करिडोर प्रसारणको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । यही प्रसारण लाइनमार्फत सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा विद्युत् पनि वितरण गर्ने योजना छ ।

प्रसारण लाइनमा पर्ने ३ सय ३ टावरमध्ये २ सय ७ को जग हालिएको छ भने ४३ खडा गरिएको आयोजनाले जनाएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ ।


यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।


सिरहामा पर्ने २६ वटा टावरको जग हालिएको छ भने १६ वटा खडा गरिएको आयोजनाले जनाएको छ । उदयपुरमा पर्ने १४१ टावरमध्ये ११७ को जग हालिएको छ भने २७ वटा खडा गरिएको छ । ओखलढुंगामा पर्ने ११२ मध्ये ६३ टावरको जग हालिएको छ । यसैगरी सोलुखुम्बुमा पर्ने २४ टावरमध्ये एउटाको जग हालिएको छ ।


आयोजनाअन्तर्गत तिंलादेखि सोलुखुम्बुकै बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको छ । तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । योसँगै सिराहाको लाइनबाट तिंलासम्म ३३ केभी लाइन पुगेको आयोजनाले जनाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गरिदिँदा आफ्ना आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आउन लागेको भन्दै त्यस क्षेत्रका प्रवर्द्धकले प्रदेश नं १ सरकारलाई जानकारी गराएका छन् ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रसारण लाइन निर्माण प्रगति, निर्माणमा रहेका समस्याका विषयमा धनकुटाको भेंडेटारमा प्राधिकरण, आयोजना, सम्बन्धित आयोजनाका प्रवर्द्धक, सांसदलगायतसँग छलफल गरेका छन् ।

छलफलमा मुख्यमन्त्री शेरधन राईले प्रसारण लाइनको पूर्वाधार अभावमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् खेर जान दिन नहुने बताए । लाइन निर्माणमा स्थानीयको अवरोध हटाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन नबनाइदिएका कारण विद्युत् खेर गएको अहिलेसम्म कुनै रेकर्ड नभएको उल्लेख गर्दै त्यस क्षेत्रका आयोजना निर्माण सम्पन्न हुनुभन्दा पहिले नै लाइन बन्ने बताए । ‘आयोजनाको काम २०७६ को माघ (३१ फेब्रुअरी २०२०) भित्रमा सक्ने लक्ष्य राखिएको छ, यसमा एक–दुई महिना ढिला होला तर त्यहाँका आयोजनाहरू पनि निर्धारित समयमा सकिँदैनन्,’ उनले भने ।


उदयपुरको कटारीस्थित मरुवा हरित सामुदायिक वन क्षेत्रका स्थानीयको अवरोधका कारणले एक वर्षभन्दा बढीदेखि त्यहाँ निर्माण रोकिएको छ । त्यस क्षेत्रमा १२ टावर निर्माण गर्नुपर्नेछ ।


पीपीएअनुसार तल्लो सोलु र सोलुको विद्युत् उत्पादन गर्नुपर्ने मिति क्रमश: ३० मंसिर २०७६ र १ साउन २०७५ छ । यसैगरी ८६ मेगावाटको सोलुखोला (दूधकोसी) को २०७७ असोज छ ।


सोलु करिडोर निर्माणमा केही ढिलाइ हुने देखेपछि २३ मेगावाटको सोलुखोलाको विद्युत् जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रूपमा ३३ केभी प्रसारण लाइनमार्फत जोड्न यसअघि नै प्राधिकरण र प्रवर्द्धकबीच सहमति भइसकेको छ । प्रसारण लाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ । ‘निजी जग्गाको सर्भे सम्पन्न गरी नापी र मालपोत कार्यालयबाट जग्गाको विवरण लिन समय बढी लाग्ने गरेकाले जग्गा अधिग्रहणमा पनि समस्या छ,’ उनले भने । हालैको बाढीले उदयपुर, ओखलढुंगा र सोलुखुम्बु सडक खण्डमा भारी क्षति पुगेकाले निर्माण करिब एक महिना अवरुद्ध भएको थियो ।


नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?