२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२९ करोडको संस्थापक सेयर किनबेच

काठमाडौँ — यो साता सेयर बजारमा २९ करोड रुपैयाँ बराबरको संस्थापक सेयरको कारोबार भएको छ । यो कुल साप्ताहिक कारोबारको करिब १८ प्रतिशत हो । यो साता १२ लाख ४६ हजार कित्ता सेयर किनबेच भए । 

यो साता सेयर बजारमा कुल १ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको भन्दा कारोबार रकम करिब ५ प्रतिशतले बढी हो । गत साता १ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


गत जेठसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय १३ कम्पनी सूचीकृत छन् । तीमध्ये जलविद्युत् समूहका मात्र ३२ कम्पनी छन् । पछिल्ला दिनमा जलविद्युत् कम्पनी सूचीकृत हुने क्रम तीव्र छ । कुल कारोबारमा संस्थापक सेयर समूहको हिस्सा बढेसँगै बैंकिङ र बिमा समूहको बजार अंश केही घटेको छ । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा करिब साढे ४३ प्रतिशत छ । सामान्य अवस्थामा साप्ताहिक कारोबारमा यो समूहको हिस्सा करिब ५० देखि ५२ प्रतिशतसम्म रहँदै आएको थियो । करिब एक महिनाअघि बजारमा बैंकिङ समूहको कारोबार हिस्सा बढेर ६५ प्रतिशत माथि पुगेको थियो । त्यसपछि बैंकिङ समूहको हिस्सा बिस्तारै कम हुँदै गयो । यही क्रममा यो साता साढे ४३ प्रतिशतमा झरेको हो ।


विगतका सातामा बैंकिङपछि धेरै हिस्सा ओगट्दै आएको बिमा समूह यो साता तेस्रो स्थानमा परेको छ । यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा करिब करिब सवा ८ प्रतिशत मात्र छ । यस्तै साप्ताहिक कारोबारमा विकास बैंक समूहको हिस्सा ६.५६ प्रतिशत र लघुवित्त वित्तीय संस्थाको करिब ८.३१ प्रतिशत छ ।


सेयर कारोबारमापक नेप्से परिसूचक यो साता करिब साढे एक प्रतिशतले घट्यो । साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से करिब १३.२१ अंकले घटेको देखिन्छ । आइतबार १ हजार २ सय ९.६२ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ९६.४१ विन्दुमा रहेको नेप्सेको तथ्यांक छ ।


साताको कारोबारमा ट्रेडिङबाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । तीमध्ये पनि बिमा, जलविद्युत्, होटललगायत समूहका लगानीकर्ताको सम्पत्ति धेरैले घट्यो । तर, व्यापार समूहका लगानीकर्ताको सम्पत्ति करिब ५ अंकले बढेको नेप्सेको तथ्यांक छ ।


यो साता सेयर बजारमा २ करोड ११ लाख ८९ हजार कित्ता सेयर किनबेच भयो । विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सयेर गरी उल्लिखित रकम बराबर सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।




















प्रकाशित : भाद्र १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?