कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जामदेखि ब्रान्डीसम्म स्याउकै

एलपी देवकोटा

(जुम्ला) — जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि शनिबारदेखि ‘एप्पल फेस्टिबल’ सुरु भएको छ । जुम्लामा यो दोस्रो एप्पल फेस्टिबल हो । फेस्टिबलमा स्याउका विभिन्न परिकारका स्टल राखिएका छन् । 

जामदेखि ब्रान्डीसम्म स्याउकै

स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्क सेक, मालिन चाना, ब्रान्डीलगायत परिकार स्टलमा राखिएका आयोजक समितिका महेश नेपालीले बताए । ‘कृषकले आफ्नो बगैंचामा उत्पादन भएका स्याउ फेस्टिबलमा ल्याएका छन्,’ उनले भने, ‘यसले स्याउको महत्त्व बढाउनुका साथै उत्पादन र बजारीकरणमा टेवा पुग्नेछ ।’


फेस्टिबलमा किसानले आफ्ना समस्यासमेत राखेका छन् । स्याउका विभिन्न परिकार अवलोकनकर्तालाई बिक्री गर्नुका साथै परिकार बनाउन पनि सिकाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकले पनि स्याउको स्वाद लिने मौका पाएको नेपालीले बताए ।


फेस्टिवलमा बाह्य पर्यटकलाई देखाउन स्याउको रूख पनि प्रदर्शनका लागि राखिएका छन् । जुम्लाका ९० प्रतिशत घरमा स्याउ बगैंचा छन् । साना–ठूला गरी झन्डै १५ हजार स्याउ बगैंचामा करिब साढे ४४ लाख बिरुवा रोपिएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।


फेस्टिबल उद्घाटन गर्न जुम्ला पुगेकी कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले स्याउलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर थुप्रै उद्यम सञ्चालन गर्न सकिने बताइन् । नयाँ पुस्तालाई स्याउ खेती तथा यसमा आधारित उद्यममा आकर्षित गर्नका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ ।


भदौ लागेसँगै जुम्लामा स्याउको चर्चा सुरु भएको छ । भदौ स्याउ टिप्नका लागि उपयुक्त मौसम हो । रेड डेलिसियस तथा रोयल डेलिसियस टिप्ने र बिक्री गर्ने उपयुक्त समय भदौ दोस्रो हप्ताबाट सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज पुगेपछि भारतीय स्याउ विस्थापन भएका खबर आइरहँदा जुम्ली किसान उत्साहित भएका छन् । एप्पल फेस्टिबलको रौनकले झन् उत्साह थपेको स्थानीय स्याउ किसान गोर्खबहादुर सुनारले बताए ।

फेस्टिबलमा स्याउको उत्पादन, सम्भावना र चुनौतीबारे छलफलसमेत गरिएको छ । पछिल्लो समय जुम्लामा स्याउ उत्पादनको क्षेत्रफल बढेको भए पनि मात्रा अपेक्षाअनुसार बढ्न नसकेको सरोकारवाला निकायको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?