जामदेखि ब्रान्डीसम्म स्याउकै

एलपी देवकोटा

(जुम्ला) — जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि शनिबारदेखि ‘एप्पल फेस्टिबल’ सुरु भएको छ । जुम्लामा यो दोस्रो एप्पल फेस्टिबल हो । फेस्टिबलमा स्याउका विभिन्न परिकारका स्टल राखिएका छन् । 

स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्क सेक, मालिन चाना, ब्रान्डीलगायत परिकार स्टलमा राखिएका आयोजक समितिका महेश नेपालीले बताए । ‘कृषकले आफ्नो बगैंचामा उत्पादन भएका स्याउ फेस्टिबलमा ल्याएका छन्,’ उनले भने, ‘यसले स्याउको महत्त्व बढाउनुका साथै उत्पादन र बजारीकरणमा टेवा पुग्नेछ ।’

फेस्टिबलमा किसानले आफ्ना समस्यासमेत राखेका छन् । स्याउका विभिन्न परिकार अवलोकनकर्तालाई बिक्री गर्नुका साथै परिकार बनाउन पनि सिकाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकले पनि स्याउको स्वाद लिने मौका पाएको नेपालीले बताए ।

फेस्टिवलमा बाह्य पर्यटकलाई देखाउन स्याउको रूख पनि प्रदर्शनका लागि राखिएका छन् । जुम्लाका ९० प्रतिशत घरमा स्याउ बगैंचा छन् । साना–ठूला गरी झन्डै १५ हजार स्याउ बगैंचामा करिब साढे ४४ लाख बिरुवा रोपिएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फेस्टिबल उद्घाटन गर्न जुम्ला पुगेकी कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले स्याउलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर थुप्रै उद्यम सञ्चालन गर्न सकिने बताइन् । नयाँ पुस्तालाई स्याउ खेती तथा यसमा आधारित उद्यममा आकर्षित गर्नका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

भदौ लागेसँगै जुम्लामा स्याउको चर्चा सुरु भएको छ । भदौ स्याउ टिप्नका लागि उपयुक्त मौसम हो । रेड डेलिसियस तथा रोयल डेलिसियस टिप्ने र बिक्री गर्ने उपयुक्त समय भदौ दोस्रो हप्ताबाट सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज पुगेपछि भारतीय स्याउ विस्थापन भएका खबर आइरहँदा जुम्ली किसान उत्साहित भएका छन् । एप्पल फेस्टिबलको रौनकले झन् उत्साह थपेको स्थानीय स्याउ किसान गोर्खबहादुर सुनारले बताए ।
फेस्टिबलमा स्याउको उत्पादन, सम्भावना र चुनौतीबारे छलफलसमेत गरिएको छ । पछिल्लो समय जुम्लामा स्याउ उत्पादनको क्षेत्रफल बढेको भए पनि मात्रा अपेक्षाअनुसार बढ्न नसकेको सरोकारवाला निकायको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

ग्वालटारका युवा सामूहिक माछापालनमा

सुजता लामा

(सिन्धुलीमाढी) — सिन्धुलीका ६ जना युवाले सामूहिक रूपमा माछापालन सुरु गरेका छन् । गोलन्जोर गाउँपालिका ३ ग्वालटारका युवाले सामूहिक रूपमा माछापालन सुरु गरेका हुन् । गाउँमै कृषक समूह गठन गरी उनीहरू व्यावसायिक माछापालनमा लागेका छन् । 

जिल्लामा माछापालनको राम्रो सम्भावना देखेकाले व्यावसायिक रूपमै सुरु गरेको सुदीप कार्कीले बताए । प्रतिव्यक्ति ६० हजार रुपैयाँ र गाउँपालिकाको १० लाख ५० हजार रुपैयाँ अनुदान सहयोगमा माछापालन सञ्चालक गरिएको उनको भनाइ छ । ७० रोपनी जग्गा भाडामा लिएका उनीहरूले अहिले पहिलो चरणमा १० रोपनी जग्गामा माछापालन गरेका छन् । कार्कीका अनुसार पोखरीमा ४ हजार ५ सय ६० भुरा हालिएको छ । रघु, नैनी, कमनक्राफ्ट जातका माछा हालेका हुन् । माछाका भुरा जनकपुरबाट ल्याइएका थिए ।

‘जिल्लामा माछाको माग अत्यधिक छ,’ कार्कीले भने, ‘तर, तराईबाट ल्याएर बेच्नुपर्ने अवस्था छ ।’ बीपी राजमार्गमा सञ्चालित होटलहरूले पनि बाहिरी जिल्लाबाट माछा ल्याउने गरेका छन् । ती सबै होटलहरूमा जिल्लाकै लोकल माछा पुर्‍याउने उद्देश्य रहेको कार्कीले बताए ।

बीपी राजमार्गले गर्दा पनि जिल्लामा माछाको माग बढेको हो । राजमार्गका कारण होटल खुल्ने क्रम बढ्दो छ । तिनमा माछाको माग उच्च छ । माछापालनबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा कार्कीको छ । माछाका लागि पानीको कुनै समस्या छैन । गाउँमै पहिलोपटक माछापालन सुरु गरेका युवाहरू पालिकालाई नै माछा पकेट क्षेत्रका रूपमा विकास गर्न जुटेको छन् । गाउँपालिकाले आर्थिकसँगै प्राविधिक सहयोग पनि गरिदिए व्यवसाय विस्तार गर्ने सोचमा उनीहरू छन् ।

यस्तै सिन्धुलीमा प्रदेश ३ सरकारको सहयोगमा १५ बिघा जग्गामा माछापालन सुरु भएको छ । माछा प्रवर्द्धन कार्यक्रमअन्तर्गत दुधौली नगरपालिका र मरिण गाउँपालिकामा माछापालन सुरु भएको हो । मरिण गाउँपालिकामा १३ बिघा जमिनमा र दुधौली नगरपालिकामा २ बिघा जमिनमा माछापालन भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।

सिन्धुली माछा उत्पादनका लागि राम्रो सम्भावना भएको ठाउँ भएकाले जिल्लालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको केन्द्रले जनाएको छ । मरिण गाउँपालिकामा ४३ लाख ८० हजार रुपैयाँ लागतमा सुरु गरिएको माछापालनको जिम्मा साहस लघु उद्यम कृषि सहकारी संस्थालाई दिएको छ । यस्तै दुधौली नगरपालिकामा १० लाख ५६ हजार रुपैयाँ लागतमा सुरु गरिएको माछापालनको जिम्मा भने मधुगंगा बहुउद्देश्यीय कम्पनीलाई दिइएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्