१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ सवारी र छुट अफर, एकैदिन २० हजार अवलोकनकर्ता 

‘सवारी साधन भारत र युरोपमा सार्वजनिक हुनासाथ नाडा अटो सोमा देखिनु राम्रो कुरा हो । भीड हेर्दा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी साधनमा देखिएको छ ।’– अनुप बराल, प्रवक्ता नाडा
बैंकहरूले सार्वजनिक सवारी साधनमा ७० प्रतिशत, निजीमा ५० र विद्युतीय सवारी साधनमा ८० प्रतिशत फाइनान्सिङको व्यवस्था गरेका छन् । सवारी कर्जाबारे जानकारी दिने गरी मेलामा छुट्टै स्टल राखिएको छ ।
विमल खतिवडा

काठमाडौँ — भृकुटीमण्डपमा जारी १४ औं नाडा अटो सोमा दैनिक आगन्तुकको भीड बढदो छ । मंगलबारबाट सुरु मेलामा युवापुस्तादेखि पाका पुस्तासम्मलाई समेटेर सवारी साधन राखिएका कारण पनि सबैको गन्तव्य मेला बनेको हो । मेलामा एकै प्रकृतिका सवारी साधन मात्र छैनन् । हरेक दिन विभिन्न ब्रान्डका नयाँ संस्करणका सवारी साधन सार्वजनिक गर्ने होडबाजी जस्तै छ । 

नयाँ सवारी र छुट अफर, एकैदिन २० हजार अवलोकनकर्ता 

मेला पुग्नेले नयाँ सवारी साधनबारे प्रत्यक्ष रूपमा जानकारी लिने गरेका छन् । आइतबारसम्म चल्ने मेलामा हरेक ब्रान्डका साधनमा विशेष छुटको व्यवस्था गरिएको छ । जति साधन राखिएका छन् । तिनमा केही न केही छुटको व्यवस्था गरिएको कम्पनीहरूले जनाएका छन् । ‘प्रोडक्ट हेरेर हरेक ब्रान्डले फरकफरक रूपमा छुटको व्यवस्था गरेका छन्,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव एवं प्रवक्ता अनुप बरालले भने, ‘त्यसैले प्रत्येक ब्रान्डमा केही न केही छुटको व्यवस्था छ ।’


उनका अनुसार सवारी साधनमा नगद छुट, विदेश भ्रमण, नि:शुल्क बिमा, लक्की ड्रबाट कार, मोटरसाइकल जित्ने अवसर प्रदान गरिएको छ । ‘सवारी साधन भारत र युरोपमा सार्वजनिक हुना साथ मेलामा देखिनु राम्रो कुरा हो,’ उनले भने, ‘भीड हेर्दा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी साधनमा देखिएको छ ।’


हाइब्रिड सवारी साधनमा पनि चासो बढिरहेको उनले सुनाए । मेलामा छुट्टै ५ वटा विद्युतीय सवारी साधनका मात्र स्टल छन् । बैंकहरूले सार्वजनिक सवारी साधनमा ७० प्रतिशत, निजीमा ५० र विद्युतीय सवारी साधनमा ८० प्रतिशत फाइनान्सिङको व्यवस्था गरेका छन् । सवारी कर्जाबारे जानकारी दिने गरी मेलामा बैंकहरूका छुट्टै स्टल राखिएका छन् । एक साइडमा गाडीको स्टल छ भने अर्को साइडमा बैंकहरूका १३ वटा स्टल राखिएका छन् । बैंकहरूका स्टलमा सवारी कर्जाबारे बुझ्ने भीड लाग्ने गरेको छ ।


दैनिक औसतमा दुई सयजना सवारी कर्जाबारे बुझ्न आउने गरेको सिभिल बैंककी सदीक्षा न्यौपानेले बताइन् । ‘सामान्यतया अरू बेला आधार ब्याजदरमा प्रिमियम जोडेर कर्जाको ब्याज लिइरहेका थियौं,’ उनले भनिन्, ‘नाडा मेलाका लागि भनेर प्रिमियम नजोडी ब्याज निर्धारण गरेका छौं ।’ विद्युतीय सवारी साधनमा ८० प्रतिशत फाइनान्सिङ भएकाले यसबारे बुझ्न आउनेको संख्या बढिरहेको उनले बताइन् । मेलामा ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता छ ।

‘मेलामा दैनिक भीड बढिरहेको छ, गत वर्षभन्दा यो वर्ष सहभागी बढेको छ,जसले गर्दा मेलामा उत्साह थपिएको छ,’ सीजी मोटोकर्पका करणकुमार चौधरीले भने, ‘सबै साधनमा आकर्षण छ, हामीले पनि योपटक मेलाकै अवसर पारेर चारवटा मोडल सार्वजनिक गरिसकेका छौं ।’


मेलामा युवादेखि पाका उमेरसम्मकालाई उपयुक्त हुने साधन राखिएका कारण सबैको आकर्षण बढेको उनले सुनाए । मेलामा सवारी साधन हेर्ने, बुझ्ने मात्र होइन । नयाँ सवारी साधन अघि उभिएर फोटो खिच्नेको समेत प्रतिस्पर्धा हुन्छ । मेलामा युवापुस्ता फोटो खिच्न व्यस्त बनेको दृश्य नौलो लाग्दैन ।


‘विद्युतीय मोटरसाइकलमा रुचि राखेर मेलामा हेर्न आएको थिएँ,’ उदयपुरका सुवास राईले भने, ‘यही मौकामा विभिन्न ब्रान्डका गाडी पनि हेर्न पाइयो ।’ उनले विद्युतीय सवारी साधन कम खर्चिलो हुने भएकाले राम्रो लागेको बताए ।


मेलामा शुक्रबारसम्म चारपांग्रे १४ र दुईपांग्रे १२ वटा नयाँ संस्करण लन्चिङ भएको आयोजकले जनाएको छ । १ लाख ६० हजारदेखि ७३ लाख ९० हजार मूल्यका दुईपांग्रे साधन मेलामा राखिएका छन् । त्यस्तै १८ लाखदेखि १ करोड ६० लाखसम्मका चारपांग्रे साधन मेलामा देख्न पाइन्छ । १६० वटा स्टल छन् । चारपांग्रेतर्फ २३ र दुईपांग्रे १९ ब्रान्ड छन् । त्यस्तै मेलामा १२ वटा लुब्रिकेन्ट्स, ९ वटा टायरका ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ ब्रान्ड राखिएका छन् ।


मेलामा अहिले बढी चर्चा ७३ लाख ९० हजार मूल्यको अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बाइकको छ । ८ सय सीसीको यो बाइक मेलाको अवसर पारेर ३ वर्ष वारेन्टी, ३ वर्ष सर्भिसिङ फिको व्यवस्था गरिएको कम्पनीका स्वरुम म्यानेजर करण मोक्तानले बताए ।


एकैदिन २० हजार अवलोकनकर्ता

मेला सुरु भएयता अवलोकनकर्ताको सबैभन्दा बढी भीड शनिबार लागेको छ । आयोजकका अनुसार शनिबार एकैदिन २० हजारको उपस्थिति रहेको थियो । सार्वजनिक बिदाको दिन भएकाले मेला हेर्न आउनेको भीड अघिपछिभन्दा बढी भएको नाडाका सचिव बरालले बताए । ‘शनिबार अवलोकनकर्ताले मेला भरिएको थियो,’ सचिव बरालले भने, ‘साँझ मात्र पानी परेर केही समस्या भयो ।’


शनिबारसम्म ७३ हजार ३ सय जनाले मेला अवलोकन गरिसकेका छन् । यो अहिलेसम्म आयोजना गरिएको मेलामध्ये सबैभन्दा बढी रहेको आयोजकले जनाएका छन् । मेलामा राखिएका सबै सवारी साधनमा अवलोकनकर्ताको भीड लागेको थियो ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?