कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतीय पर्यटक आगमनमा कमी

विनोद भण्डारी

(विराटनगर) — प्रदेश १ मा प्रशस्त पर्यटकीयस्थल भए पनि हवाई मार्ग र सुरक्षित सडक यातायातको अभावमा भारतीय पर्यटकहरूलाई आकर्षित गर्न नसकिएको सरोकारवालाले बताएका छन् । पर्यटन वर्षको मुखैमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रवेशमा कडाइ गरिएको र भारतीय पाँच सय र हजारका नोट नचल्दा पनि उनीहरूको आगमनमा कमी आएको सरोकारवालाको बुझाइ छ ।

विगतमा जोगबनी र काँकडभिट्टा नाकाबाट भारतीय पर्यटक चढेका गाडी दैनिक दुई सयभन्दा बढी प्रवेश गर्थे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात संयोजक भविश श्रेष्ठले भने, ‘अहिले मुस्किलले सयवटा पनि आउँदैनन् ।’ माउन्टेन फ्लाइट नहुँदा पर्यटकलाई विश्वकै सबैभन्दा अग्लो सगरमाथासहित अन्य पर्यटकीय स्थलमा पुर्‍याउन नसकिएको उनको भनाइ छ । ‘विराटनगरबाट माउन्टेन फ्लाइटको व्यवस्था गर्ने हो भने भारतीय र समुद्रपारका पर्यटकको संख्या बढ्न सक्छ,’ उनले भने ।


सुरक्षित सडक मार्गको अभावले पनि पर्यटक घटदै गएको श्रेष्ठको बुझाइ छ । गत वर्ष प्रदेश १ मा १० लाखभन्दा बढी भारतीय पर्यटक भित्रिएका थिए । यसपालि त्यसको आधा मात्र भित्रिने अनुमान गरिएको उनले बताए । ‘भारु पाँच सय र हजारका नोट नचल्दा पनि आकर्षण घटदै गएको पाइएको छ,’ श्रेष्ठले भने, ‘दुई वर्षयता भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोणले पनि आगमनमा कमी देखिएको छ ।’


प्रदेश सरकारले पर्यटन वर्षमा ५ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पछिल्लोपटक भारतीय नम्बर प्लेटका सवारी साधन प्रबेशमा कडाई गरिएको पर्यटन व्यवसायी श्रेष्ठले बताए । प्रदेश सरकारले विराटनगरवाट माउन्टेन फ्लाइटको व्यवस्था गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन नसक्नु र विमानस्थलको डीपीआर अस्वीकृत हुनुले पनि पर्यटन वर्ष प्रभावित भएको अर्का पर्यटन व्यवसायी पुण्य भट्टराईको गुनासो छ । ‘शान्ति सुरक्षाको प्रबन्ध राम्रो छ,’ भट्टराईले भने, ‘तर, पूर्वाधारको समस्याले पर्यटन व्यवसायी प्रभावित बनेका छन् ।’


पर्याप्त मात्रामा पर्यटकीयस्थलको प्रचारप्रसार नहुँदा र सुरक्षित यातायातको व्यवस्था नहुँदा पर्यटकले चाहेर पनि गन्तव्यसम्म पुग्न सकेका छैनन् । भट्टराईले भने, ‘विभिन्न हिमशृंखला, हलेसी, पाथीभरा, हयाथुङ झरनालगायतका पर्यटकीय स्थलमा पुग्न समस्या छ ।’ भारतीय नम्बर प्लेटको एउटा गाडीलाई एक वर्षमा ३० दिन मात्र प्रवेश गर्न दिने नियम व्यावहारिक नभएको सरोकारवालाको गुनासो छ ।


विराटनगर भन्सार प्रमुख मिमाङश अधिकारीका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधन भित्रिँदा कम्प्युटर इन्ट्री गरिनुपर्ने मात्र नयाँ प्रावधान लागू भएको हो । यसअघि पनि एउटा नाकाबाट प्रवेश गरेर मुलुकभरि पुग्ने भारतीय नम्बर प्लेटका गाडीलाई वर्षमा ३० पटक मात्र प्रवेश दिने प्रावधान थियो । अहिले पनि त्यही प्रावधान छ । ‘नाका नजिकका बजारसम्म जाने गाडीले भन्सार काटेर दैनिक प्रवेश गर्न पाउँछन्,’ उनले भने ।


कम्प्युटरमा इन्ट्री नहुँदा भारतीय नम्बर प्लेटका सवारी साधनले अपराध गरेर फर्कने क्रम बढेकाले सरकारले अनिवार्य कम्प्युटर इन्ट्रीको व्यवस्था गरेको अधिकारीको बुझाइ छ । उनक अनुसार नेपाल भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनमा बिमाको पत्र र अन्य आवश्यक कागजपत्र अनिवार्य रूपमा बोकेको हुनुपर्ने प्रावधान छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?