१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किसानको गुनासो : ‘धान पहेंलिन थाल्यो’

मोहन बुढाऐर

(धनगढी) — कैलाली हसुलियाका खुसीराम चौधरीले २ बिघामा लगाएको धान पहेंलिन थालेको छ । झार पनि त्यत्ति नै उम्रेको छ । उनको परिवार यसपालि वर्ष दिन खान पुग्ने धान फल्दैन कि भन्ने चिन्तामा छ । धान सप्रेको वर्ष चौधरी परिवार खान मात्र होइन बेच्न पनि भ्याउँथ्यो । त्यसैबाट घर खर्च चल्थ्यो । 

किसानको गुनासो : ‘धान पहेंलिन थाल्यो’

अहिले भने सुरुमै राम्रो लक्षण नदेखिएको खुसीरामले बताए । ‘पर्याप्त वर्षा नहुँदा धान बिग्रन थाल्यो,’ उनले भने, ‘पानी नपाएर धान सुक्ने अवस्थामा पुगेको छ ।’ पानी नपाउँदा बोटले गाँज नहाल्ने, किरा र रोग लाग्ने, झार बढी उम्रिनेलगायतका समस्या देखिन थालेको छ । कैलालीमा यस वर्ष ७० हजार हेक्टरमा धान खेती भएको छ । ३० देखि ३५ हजार हेक्टर क्षेत्रफलमा मात्रै नियमित सिँचाइ सुविधा पुगेको छ । बाँकीमा किसानले अकासे–पानीकै भरमा खेती लगाएका हुन् ।


हसुलियाका अर्का किसान रामकिसन चौधरीले कहिले अतिवृष्टिले र कहिले अनावृष्टिले मर्कामा पर्ने गरेको बताए । ‘धेरै वर्षाले बाढीको समस्या निम्त्याउने गरेको छ,’ उनले भने, ‘कम वर्षाले खेती सुक्छ, रोगिन्छ ।’ उनी आकासको भर पर्नु नपर्ने अवस्था सरकारले कहिले ल्याउँछ ? भन्दै प्रश्न गर्छन् । ‘पानी नपर्दासम्म पानी माग्न भ्यागुता नाच र गैयाँ ब्याउने खेलेर इन्द्रदेवसँग पानी माग्नुपर्छ,’ रामकिसनले भने, ‘२/३ दिन लगातार पानी पर्दा बाढी र डुबानको चिन्तामा बस्नुपर्ने बाध्यता छ ।’


उत्पादकत्व घट्ने

कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ बागबानी अधिकृत खगेन्द्रप्रसाद शर्माले धान, मकै, उखुलगायत वर्षे खेतीका लागि चाहिने पर्याप्त पानी नपर्दा उत्पादकत्व घट्ने बताए । शर्माले पानी नपुग्दा खेती पहेंलो भएर रोगिने, विभिन्न प्रकारका किरा लाग्ने, झार बढी निस्कने बताए । ‘वर्षायाममा जमिनले सञ्चित गरेर पानी राख्न पाएको छैन,’ उनले भने, ‘हिउँदे बालीमा समेत यसको असर पर्छ ।’


उनका अनुसार यो वर्ष सुदूरपश्चिमभरि पर्याप्त पानी परेको छैन । यही कारण उत्पादकत्व घटेर खाद्य संकट सिर्जना हुन सक्छ । ‘कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लामा त्यसै पनि खाद्य संकट हुन्छ,’ उनले भने, ‘यसपटक पर्याप्त वर्षा नहुँदा उत्पादकत्व घट्नेछ ।’ शर्माले सुदूरपश्चिमभरिमा १ लाख ८१ हजार हेक्टरमा धानखेती भएको जानकारी दिए । सबैभन्दा धेरै कैलाली र त्यसपछि ३५ हजार हेक्टरमा कञ्चनपुरमा धानखेती गरिएको छ । सुदूरपश्चिमको आन्तरिक उत्पादन कुल ५ सय ४३ लाख टन मात्रै छ । कैलाली र कञ्चनपुरबाट मात्रै करिब ३ लाख टन छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?