३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'प्रसारण लाईन नबन्दा आयोजना निर्माणमा ढिलाई'

देवनारायण साह

मोरङ — सोलु करिडोर १३२ केभी प्रसारण लाईन निर्माण नहुँदा यस क्षेत्रका जलविद्युत आयोजनाहरुको निर्माणमा ढिलाई भइरहेको छ ।

'प्रसारण लाईन नबन्दा आयोजना निर्माणमा ढिलाई'

उक्त प्रसारण लाईन निर्माणसम्बन्धी धनकुटाको भेडेटारमा शनिबार आयोजित छलफलका सहभागीहरुले जलविद्युत आयोजना निर्माणमा ढिलाई हुँदा लागत वृद्धि हुनुका साथै राज्यले समेत घाटा व्यहोरिनु परेको बताएका छन् ।


प्रसारण लाइन निर्माण नहुँदा गत वर्ष उत्पादन गर्ने अवस्था भएको २३ दशमलव ५ मेगावाटको सोलु जलविद्युत आयोजना निर्माणमा ढिलाई भएको छ । उक्त आयोजनाका कार्यकारी निर्देशक शशिसागर राजभण्डारीले प्रसारण लाइन निर्माण नभएकोले आयोजना निर्माणमा ढिलाई गरेको बताए । ‘गत वर्षै निर्माण सम्पन्न हुने अवस्था थियो तर प्रसारण लाईन निर्माण नभएकोले ढिलाई गर्न बाध्य भयौं,’ उनले भने, ‘आयोजना निर्माणमा ढिलाई हुँदा ३५ प्रतिशत लागत बढेर गएको छ ।’


आयोजनाको निर्माण काम सम्पन्न भएर इलेक्ट्रो मेकानिकल काम अन्तिम चरणमा पुगेको र दशै अगाडि नै विद्युत उत्पादन सुरु गर्ने तयारी गरेको राजभण्डारीले बताए । आयोजनामा हालसम्ममा ४ सय करोड खर्च भइसकेको र विद्युत उत्पादन गर्ने समयसम्ममा अझै ४०/५० करोड खर्च हुने अवस्था रहेको उनको भनाई थियो ।


यस्तै, १८ मेगावाटको अप्पर सोलु जलविद्युत आयोजनाको आउँदो असारसम्ममा निर्माण काम पूरा हुने प्रबन्धक गणेश कार्कीले बताए । ३ सय २७ करोड लागतमा निर्माण भइरहेको उक्त आयोजनानको निर्माण काम तिव्र रुपमा भइरहेको उनले बताए ।


यस्तै, ८२ मेगावाटको तल्लो जलविद्युत आयोजनाको ८१ प्रतिशत निर्माण काम पूरा भएको छ । आयोजनाका विजय कार्कीले १६ सय करोड लागतमा निर्माण भइरहेको यस आयोजनाको काम चाँडो सक्न अहिले १२ सय कामदारले २४ सै घण्टा काम गरिरहेको बताए ।


८६ मेगावाटको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजनाको हालसम्ममा २८ प्रतिशत निर्माण काम सम्पन्न भएको छ ।

प्रसारण लाइन निर्माण नभएकोले उत्पादन हुने विद्युत खेर जाने सम्भावना रहेकोले जलविद्युत आयोजनाहरुले निर्माणमा ढिलाइ गर्न बाध्य रहेको सोलु जलविद्युत आयोजनाका कार्यकारी निर्देशक राजभण्डारीले बताए ।


सोलु करिडोर १३२ केभी प्रसारण लाईन आयोजनाका प्रमुख जनार्दनप्रसाद गौतमले प्रसारण लाईन निर्माणको ७५ प्रतिशत काम पूरा भएको बताए । सोलुखुम्बू र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बू, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको उनको भनाई थियो ।


‘सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिङलासम्म ९० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ,’ उनले भने, ‘नेपाल सरकार र एक्जिम बैंक अफ इण्डियाको लागतमा २४ दशमलव ८०६८ मिलियन यूएस डलरमा मोहन इनर्जी लिमिटेड इण्डियाले प्रसारण लाइन निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।’ सन् २०२० जनवरीमा आयोजना सम्पन्न गर्ने ठेकेदारले सम्झौता गरेको छ ।


‘प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७ वटाको जग हालिएको छ भने ४३ वटा ठडियाइएको छ,’ गौतमले भने, ‘सिराहामा पर्ने २६ वटै टावरको जग हालेर १६ वटा, उदयपुरमा पर्ने १ सय ४१ टावरमध्ये १ सय १७ को जग हाली २७ वटा ठडियाइसकिएको, ओखलढुंगामा पर्ने १ सय १२ मध्ये ६३ टावरको जग हालिएको र सोलुखुम्बूमा पर्ने २४ वटा टावरमध्ये १ वटाको जग हालिएको छ ।’


आयोजनाअन्तर्गत तिङलादेखि सोलुखुम्बूकै बेलीडाँडासम्म ४ दशमलव ५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण पूरा भएको उनले बताए । ‘तिङलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ’ उनले भने, ‘सिराहाको मिर्चैयाबाट तिङलासम्म ३३ केभी लाइन पुगेको छ ।’


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले निर्माण भइरहेको ४ हजार किलोमिटर प्रसारण लाइनको प्रत्येक टावर निर्माणमा कुनै न कुनै किसिमको अवरोध आउने गरेकोले प्रसारण लाईन निर्माण चुनौतिपूर्ण भएको बताए । ‘प्रसारण लाईन निर्माणमा देखिएका समस्या समाधानका लागि सबैको सहयोग जुटाएर निर्माण काम अघि बढाइरहेका छौं,’ उनले भने, ‘प्रसारण लाइन निर्माण भएपछि जलविद्युत आयोजनामा निजी लगानी सहजै वृद्धि हुन्छ ।’


सोलु करिडोर प्रशारण लाइन निर्माणमा उदयपुरको कटारीस्थित मरुवा सामुदायिक वनमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको अबरोध हटाउन प्रदेश र स्थानीय सरकारलाई घिसिङले आग्रह गरे । यो प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३ सय २५ मेगावाटको विद्युत खरिद/बिक्री सम्झौता गरेको छ ।


प्रदेश १का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को समृद्धिमा जलविद्युतलाई जोडेर लग्ने लक्ष्य रहेकोले यसमा देखिएका सबै खाले अवरोध हटाउन आफैले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रदेशस्थित जलविद्युत आयोजनाहरुको अबस्था र त्यसमा देखिएका समस्याहरुको जानकारी प्राप्त गर्नका लागि छलफल सुरु गरेका छौं,’ उनले भने, ‘जलविद्युत आयोजना र प्रशारण लाइनको निर्माण कार्य समयमा पूरा गर्न प्रदेश सरकार सम्पूर्ण शक्ति लगाएर सघाउन तयार छ ।’

प्रकाशित : भाद्र १४, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?