'प्रसारण लाईन नबन्दा आयोजना निर्माणमा ढिलाई'

देवनारायण साह

मोरङ — सोलु करिडोर १३२ केभी प्रसारण लाईन निर्माण नहुँदा यस क्षेत्रका जलविद्युत आयोजनाहरुको निर्माणमा ढिलाई भइरहेको छ ।

उक्त प्रसारण लाईन निर्माणसम्बन्धी धनकुटाको भेडेटारमा शनिबार आयोजित छलफलका सहभागीहरुले जलविद्युत आयोजना निर्माणमा ढिलाई हुँदा लागत वृद्धि हुनुका साथै राज्यले समेत घाटा व्यहोरिनु परेको बताएका छन् ।

प्रसारण लाइन निर्माण नहुँदा गत वर्ष उत्पादन गर्ने अवस्था भएको २३ दशमलव ५ मेगावाटको सोलु जलविद्युत आयोजना निर्माणमा ढिलाई भएको छ । उक्त आयोजनाका कार्यकारी निर्देशक शशिसागर राजभण्डारीले प्रसारण लाइन निर्माण नभएकोले आयोजना निर्माणमा ढिलाई गरेको बताए । ‘गत वर्षै निर्माण सम्पन्न हुने अवस्था थियो तर प्रसारण लाईन निर्माण नभएकोले ढिलाई गर्न बाध्य भयौं,’ उनले भने, ‘आयोजना निर्माणमा ढिलाई हुँदा ३५ प्रतिशत लागत बढेर गएको छ ।’

आयोजनाको निर्माण काम सम्पन्न भएर इलेक्ट्रो मेकानिकल काम अन्तिम चरणमा पुगेको र दशै अगाडि नै विद्युत उत्पादन सुरु गर्ने तयारी गरेको राजभण्डारीले बताए । आयोजनामा हालसम्ममा ४ सय करोड खर्च भइसकेको र विद्युत उत्पादन गर्ने समयसम्ममा अझै ४०/५० करोड खर्च हुने अवस्था रहेको उनको भनाई थियो ।

यस्तै, १८ मेगावाटको अप्पर सोलु जलविद्युत आयोजनाको आउँदो असारसम्ममा निर्माण काम पूरा हुने प्रबन्धक गणेश कार्कीले बताए । ३ सय २७ करोड लागतमा निर्माण भइरहेको उक्त आयोजनानको निर्माण काम तिव्र रुपमा भइरहेको उनले बताए ।

यस्तै, ८२ मेगावाटको तल्लो जलविद्युत आयोजनाको ८१ प्रतिशत निर्माण काम पूरा भएको छ । आयोजनाका विजय कार्कीले १६ सय करोड लागतमा निर्माण भइरहेको यस आयोजनाको काम चाँडो सक्न अहिले १२ सय कामदारले २४ सै घण्टा काम गरिरहेको बताए ।

८६ मेगावाटको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजनाको हालसम्ममा २८ प्रतिशत निर्माण काम सम्पन्न भएको छ ।
प्रसारण लाइन निर्माण नभएकोले उत्पादन हुने विद्युत खेर जाने सम्भावना रहेकोले जलविद्युत आयोजनाहरुले निर्माणमा ढिलाइ गर्न बाध्य रहेको सोलु जलविद्युत आयोजनाका कार्यकारी निर्देशक राजभण्डारीले बताए ।

सोलु करिडोर १३२ केभी प्रसारण लाईन आयोजनाका प्रमुख जनार्दनप्रसाद गौतमले प्रसारण लाईन निर्माणको ७५ प्रतिशत काम पूरा भएको बताए । सोलुखुम्बू र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बू, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको उनको भनाई थियो ।

‘सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिङलासम्म ९० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ,’ उनले भने, ‘नेपाल सरकार र एक्जिम बैंक अफ इण्डियाको लागतमा २४ दशमलव ८०६८ मिलियन यूएस डलरमा मोहन इनर्जी लिमिटेड इण्डियाले प्रसारण लाइन निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।’ सन् २०२० जनवरीमा आयोजना सम्पन्न गर्ने ठेकेदारले सम्झौता गरेको छ ।

‘प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७ वटाको जग हालिएको छ भने ४३ वटा ठडियाइएको छ,’ गौतमले भने, ‘सिराहामा पर्ने २६ वटै टावरको जग हालेर १६ वटा, उदयपुरमा पर्ने १ सय ४१ टावरमध्ये १ सय १७ को जग हाली २७ वटा ठडियाइसकिएको, ओखलढुंगामा पर्ने १ सय १२ मध्ये ६३ टावरको जग हालिएको र सोलुखुम्बूमा पर्ने २४ वटा टावरमध्ये १ वटाको जग हालिएको छ ।’

आयोजनाअन्तर्गत तिङलादेखि सोलुखुम्बूकै बेलीडाँडासम्म ४ दशमलव ५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण पूरा भएको उनले बताए । ‘तिङलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ’ उनले भने, ‘सिराहाको मिर्चैयाबाट तिङलासम्म ३३ केभी लाइन पुगेको छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले निर्माण भइरहेको ४ हजार किलोमिटर प्रसारण लाइनको प्रत्येक टावर निर्माणमा कुनै न कुनै किसिमको अवरोध आउने गरेकोले प्रसारण लाईन निर्माण चुनौतिपूर्ण भएको बताए । ‘प्रसारण लाईन निर्माणमा देखिएका समस्या समाधानका लागि सबैको सहयोग जुटाएर निर्माण काम अघि बढाइरहेका छौं,’ उनले भने, ‘प्रसारण लाइन निर्माण भएपछि जलविद्युत आयोजनामा निजी लगानी सहजै वृद्धि हुन्छ ।’

सोलु करिडोर प्रशारण लाइन निर्माणमा उदयपुरको कटारीस्थित मरुवा सामुदायिक वनमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको अबरोध हटाउन प्रदेश र स्थानीय सरकारलाई घिसिङले आग्रह गरे । यो प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३ सय २५ मेगावाटको विद्युत खरिद/बिक्री सम्झौता गरेको छ ।

प्रदेश १का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को समृद्धिमा जलविद्युतलाई जोडेर लग्ने लक्ष्य रहेकोले यसमा देखिएका सबै खाले अवरोध हटाउन आफैले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रदेशस्थित जलविद्युत आयोजनाहरुको अबस्था र त्यसमा देखिएका समस्याहरुको जानकारी प्राप्त गर्नका लागि छलफल सुरु गरेका छौं,’ उनले भने, ‘जलविद्युत आयोजना र प्रशारण लाइनको निर्माण कार्य समयमा पूरा गर्न प्रदेश सरकार सम्पूर्ण शक्ति लगाएर सघाउन तयार छ ।’

प्रकाशित : भाद्र १४, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वाञ्चल विश्वविद्यालयमा सधैं ताला

विनोद भण्डारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा घनश्यामलाल दासले अघिल्लो शुक्रबार कार्यकाल पूरा गरे । चारवर्षे सेवाअवधि सकेर बाहिरिँदै गर्दा उनको कार्यकक्षमा तालाबन्दी थियो । असार तेस्रो साता सरकारनिकट विभिन्न विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।

दासको कार्यकाल सकिएलगत्तै सरकारले विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्राडा बिजुकुमार थपलियालाई तीन महिनाका लागि कामु उपकुलपति तोक्यो। थपलियाले पदभार ग्रहण गरेलगत्तै कांग्रेसनिकट विद्यार्थी संघले कार्यकक्षमा तालाबन्दी गर्‍यो। उपकुलपतिको कार्यकक्षमा सत्तापक्ष र विपक्ष दुवै दलनिकट विद्यार्थी संगठनको ताला छ।

२०५२ मा स्थापित यो विश्वविद्यालयमा पछिल्लो समय तालाबन्दी नियमितजस्तै बनिरहेको छ। जुनसुकै पदाधिकारी नियुक्त भए पनि विद्यार्थी वा कर्मचारीले ताला लगाउने गरेका छन्।

तालाबन्दीको सुरुआत १२ वर्षअघि जगतबहादुर केसी उपकुलपति नियुक्त भएसँगै भएको हो। केसी नियुक्त भएलगत्तै विद्यार्थी संगठन र कर्मचारीले कार्यकक्षमा तीन महिनासम्म तालाबन्दी गरेका थिए। केसीले रजिस्ट्रार र डिनलगायत पदाधिकारी नियुक्त गरेपछि फेरि पटकपटक तालाबन्दी भएको थियो। केसीपछि रामावतार यादव उपकुलपति बने। उनको कार्यकाल पनि तालाबन्दी मुक्त हुन सकेन।

त्यसपछि महेश्वरमान श्रेष्ठ उपकुलपति भए। उनको कार्यकाल झन् तनावपूर्ण रह्यो। जथाभावी सम्बन्धन बाँडेर आर्थिक हिनामिना गरेको आरोपमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र राजनीतिक दलले तालाबन्दी गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति, रजिस्ट्रार र सबै संकायका डिनविरुद्ध मुद्दा दर्ता गर्‍यो। विशेष अदालतको आदेशमा उनीहरू ६ महिनापछि पुनर्बहाली भएका थिए।

जो पदाधिकारी आए पनि र सकारात्मक वा नकारात्मक जे काम गरे पनि तालाबन्दी गरिहाल्ने प्रवृत्तिले विश्वविद्यालय लथालिंग भएको कामु उपकुलपति थपलियाको बुझाइ छ। ‘कतिपय विषय स्थानीयस्तरबाट किनारा लगाउन सकिँदैन,’ उनले भने, ‘राजनीतिक दलका मुद्दामा पनि तालाबन्दी गरिनु दुःखद हो।’

प्राध्यापक, कर्मचारी र विद्यार्थीमा निषेधको राजनीतिक संस्कार मौलाउँदा विश्वविद्यालय तालाबन्दीको सिकार हुँदै आएको सेवा आयोगका निवर्तमान अध्यक्ष प्राडा बद्रीनाथ श्रेष्ठको बुझाइ छ। उनले भने, ‘आफू र आफ्ना मान्छे हुँदा ठीक र अरू भए बेठीक भन्ने संस्कारले यो विश्वविद्यालय थलिएको छ।’

प्रकाशित : भाद्र १४, २०७६ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्