चमक गुमाउँदै कृष्णनगर

पूर्वाधार तयार भए पनि कृष्णनगर भन्सारबाट तेस्रो मुलुकसित व्यापार अनुमति नहुँदा भैरहवा र नेपालगन्ज धाउनुपर्ने बाध्यता 
मनोज पौडेल

(कपिलवस्तु) — आवश्यक पूर्वाधार तयार भए पनि कृष्णनगर नाकाबाट तेस्रो मुलुकसँग व्यापार सञ्चालन नहुँदा व्यवसायी ठूलो मर्कामा परेका छन् । मुलुकका ठूला भन्सार नाकामध्येको भए पनि यहाँबाट तेस्रो मुलुकका सामान आयात गर्न व्यवसायीले भैरहवा र नेपालगन्ज नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । 

यहाँबाट भैरहवा ७० र नेपालगन्ज १८० किलोमिटरको दूरीमा छन् । स्थानीय उद्योगी व्यवसायीले तेस्रो मुलुकसित सिधै व्यापार सुविधाका लागि माग गरे पनि पूरा भएको छैन । ‘तेस्रो मुलुकसित व्यापार गर्न सडक पहुँच र पूर्वाधार तयार छन्,’ कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताले भने, ‘व्यवसायी पनि इच्छुक छन् ।’ यहाँका उद्योगी, व्यवसायीले लामो समयदेखि माग गरे पनि सरकारी प्रयास नहुँदा सम्भव नभएको उनले बताए ।

संघले सरकारलाई दबाब दिन दुई साताअघि कृष्णनगर भन्सार र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको थियो । ‘के कारणले हो सरकारले ध्यान दिएको छैन,’ अध्यक्ष गुप्ताले भने, ‘दलीय पहुँच नपुगेर होला ।’ तेस्रो मुलुक व्यापारका लागि सीमाबाट पाँच सय मिटर दूरीमा ब्रोडगेज रेल सेवा सञ्चालनमा छ । त्यहाँबाट भारतका ठूलठूला सहर र बन्दरगाहसम्म रेलको पहुँच छ ।

०५२ सालसम्म यहाँबाट तेस्रो मुलुकसम्म व्यापार हुन्थ्यो । तत्कालीन माओवादी द्वन्द्वका कारण असुरक्षा बढेपछि नाकालाई भारतसँगको व्यापारमा सीमित गरियो । स्थानीय व्यापारी तथा उद्योगीले यसलाई तेस्रो मुलुकसँगको व्यापारमा पनि उपयोग गर्नुपर्ने माग गर्दै आएका छन् । कृष्णनगर आउने नेता, मन्त्री र प्रशासकसँग उनीहरूले यही कुरा उठाउँदै आएको उद्योगी नन्दकिशोर शर्माले बताए ।

उनका अनुसार ०५०/५२ सम्म कृष्णनगरको व्यापार फस्टाएको थियो । त्यसपछि मुलुकमा द्वन्द्व सुरु भयो । विदेशी सामानका लागि यहाँ आउने भारतीय ग्राहक उतै केन्द्रित भए । यता आउन छाडे । बिस्तारै व्यापार सुक्दै गयो । अहिले बिरानो बनेको छ । कृष्णनगरलाई पुरानै अवस्थामा फर्काउने हो भने तेस्रो मुलुकको व्यापार ब्युँताउनुबाहेक विकल्प नभएको उद्योगी जितेन्द्र गोयलले बताए ।

यहाँ नेपाल र भारतको भन्सार कार्यालयबीच दुई सय मिटरको दूरी छ । बढनीस्थित भारतीय कस्टमलाई तेस्रो मुलुकबाट हुने व्यापारको भन्सार गर्न पाउने अधिकार छ । कृष्णनगर भारतीय राष्ट्रिय रेल सञ्जालसित जोडिएको छ । बढनीबाट कोलकाता, मुम्बई, दिल्ली, लखनउ र इलाहावादसम्म ब्रोडगेज रेल छुटछन् । बढनी नमुना रेल स्टेसन हो । त्यहाँ रेल धुने वासिङ पिट छ । त्यो भारतीय राष्ट्रिय राजमार्गमा पनि जोडिएको छ । त्यहाँ नेपाली यात्रुलाई लक्षित गरी आवासीय सुविधासहितको बहुउद्देश्यीय भवन छन् । ब्रोडगेज रेलमार्ग सञ्चालनमा आएको पाँच वर्ष भइसक्यो । कृष्णनगरमा पनि सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । यहाँबाट २० किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्ग छ । त्यहाँसम्म कालोपत्रे सडक रहेको छ ।

अहिले बढनी पश्चिमबाट भारत आवतजावत गर्ने प्रमुख नाका हो । यहाँबाट मुलुकका धेरै स्थानमा बस सेवा सञ्चालित छ । बढनी बजारमा भारतले इमिग्रेसन अफिस स्थापना गर्ने निर्णय गरिसकेको छ । कृष्णनगर–चन्द्रौटा नयाँ औद्योगिक करिडोरका रूपमा विकास भइरहेको छ । यहाँ ठूलठूला आठवटा सिमेन्ट र एउटा छड उद्योग बनिसकेका छन् । थप पाँच ठूला उद्योग सञ्चालनको तयारीमा छन् । एक दर्जनभन्दा बढी साना उद्योग छन् । सुविधा सम्पन्न होटल छन् । तीनतारे होटल निर्माणाधीन छन् । ‘सबैलाई पायक पर्ने ठाउँमा छ,’ कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भने, ‘यहाँबाट तेस्रो मुलुक व्यापार व्यवसाय भए सबैलाई सजिलो हुने थियो ।’

रोजगारीको अवसर सिर्जना हुन्छ । विकासमा पछि परेको यस क्षेत्रको कायापलट हुने उनले बताए । यसले पर्यटन प्रवर्द्धनमा सघाउनेछ । तेस्रो मुलुकमा व्यापार सुविधा दिए यसले रोजगारीका अवसर सिर्जना गर्नुका साथै बढनीको व्यापार व्यवसाय फस्टाउने बढनी व्यापार मण्डलका अध्यक्ष कन्हैया मित्तलले बताए ।

पूर्वाधार प्रशस्त
पूर्वाधार भएकाले यहाँबाट तेस्रो मुलुक व्यापारको सम्भावना प्रशस्त छ । पहल नहुँदा गति लिन नसकेको स्थानीय मिर्जा अरसद बेगले बताए ।

अहिले झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज र कञ्चनपुरको महेन्द्रनगर भन्सार नाका तेस्रो मुलुकसँग व्यापारमा प्रयोग हुँदै आएका छन् । ‘राष्ट्र बैंकले एउटा परिपत्र गरेको छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय व्यापार तथा पारवहन शाखा प्रमुख तर्कराज भट्टले भने, ‘नेपालका सात नाकालाई मात्रै तेस्रो मुलुकमा व्यापार व्यवसायको अधिकार दिइएको छ ।’

त्यसले समस्या भएको उनले बताए । स्थानीयस्तरबाट मन्त्रालयसम्म माग नआएको उनको भनाइ छ । ‘माग आए त्यसलाई सम्बोधन गर्ने बाटो खुल्ने थियो,’ उनले भने, ‘केही समय लाग्न सक्छ । नहुने भन्ने छैन ।’

कृष्णनगरलाई भारतका पश्चिमी बन्दरगाहसँग जोड्ने हो भने ठूलो लगानीबिनै यसलाई उपयोग गर्न सकिने प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियाले बताए । उनका अनुसार यो नाकालाई तेस्रो मुलुक व्यापारमा उपयोग गर्न सकिने तीन सम्भावना छन् । पहिलो, नेपाललाई भारतको कुनै पश्चिमी समुद्री बन्दरगाहसँग जोड्नु रहेको छ । दोस्रो, यसअघि कृष्णनगरसँगै जोडिएको भारतको बढनी स्टेसनबाट गुजरातको मुन्द्रा आसपाससम्म रेल सेवा सञ्चालनमा रहेकाले थप लगानी गर्नु पर्दैन ।

मुन्द्रामा बन्दरगाह छ । तेस्रो, यहाँ पूर्वाधार तयार भइसकेकाले तत्कालै कृष्णनगरबाट व्यापार सुरु गर्ने सम्भावना छ । गत माघ २४–२५ मा पोखरामा सम्पन्न नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालले धान्द्रा र मुन्द्रा दुवै बन्दरगाहको विषय उठाएको थियो । नेपालले तेस्रो मुलुक व्यापारका लागि प्रयोग गर्ने नेपाली पक्षको प्रस्तावप्रति भारत सकारात्मक देखिए पनि निर्णय भने भएन । कृष्णनगरलाई मुन्द्रासँग जोडदा कपिलवस्तु, बाँके, दाङलगायत क्षेत्रलाई व्यापारिक करिडोरका रूपमा विकास गर्न सकिने सम्भावना छ । छिमेकमा भारत उत्तरप्रदेशको सिद्धार्थनगर जिल्ला रहेको छ । बढनी बजारबाट गुजरातको मुन्द्रा बन्दरगाह करिब १ हजार ६ सय ६५ किमि पर छ ।



प्रकाशित : भाद्र १४, २०७६ ०८:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडक नखुल्दा स्याउ ढुवानी ठप्प

राजबहादुर शाही

(मुगु) — कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा समस्या भएको छ । साउन दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सडक नखुल्दा किसानले घरमै स्याउ थन्काएका छन् ।

हवाई भाडा महँगो भएकाले किसानलाई जहाजमार्फत स्याउ ढुवानी गर्न थप सास्ती छ । ताल्चा गाउँका हरि रोकायाले गाडी नचल्दा सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत स्थानबाट माग आए पनि स्याउ पठाउन नसकिएको गुनासो गरे । ‘केही स्याउ रूखमा पाक्दै छन्, पाकिसकेका स्याउ टिपे पनि ढुवानी समस्याले घरमै राख्नुपरेको छ,’ उनले भने, ‘स्थानीयस्तरमा राम्रो भाउ छैन, बाहिर लैजान सडक बन्द छ ।’ पाकेका स्याउ झर्न थालेको उनले गुनासो गरे ।

ताल्चा गाउँकै बाँचे महतराले गमगढी बजारमा मात्र स्याउ खरिद भएको बताए । गाडीमा नेपालगन्जसम्म पुर्‍याउन प्रतिकिलो ७ रुपैयाँ पर्ने उनी बताउँछन् । ‘जहाजबाट प्रतिकिलो ६५ रुपैयाँमा ढुवानी गर्नुपर्छ,’ उनले भने, ‘जहाजले धेरै स्याउ लैजान मान्दैन ।’

जिल्लामा उडान भर्ने तारा, गोमा, सीतालगायत एयरलाइन्सले ५ देखि १० किलो स्याउ मात्र राख्न दिने गरेको उनी बताउँछन् । जिल्लामा स्याउको मूल्य निर्धारण नहुँदा किसानले फरकफरक दरमा स्याउ बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले स्याउको मूल्य निर्धारण नगर्दा किसान र उपभोक्ता दुवै घाटामा परेका छन् । मूल्य निर्धारण नहुँदा मोलमोलाइका भरमा सदरमुकाममा स्याउ बिक्री भइरहेको छ ।

गमगढी–नाग्मा सडककै कारण किसानको स्याउ थन्किएको कृषि ज्ञान केन्द्र प्रमुख सुकिराम नेपालीले बताए । उनका अनुसार जिल्लामा ५ देखि १० रुपैयाँ दाना स्याउ बिक्री गर्ने गरिएको छ । ‘तराईतिर पुर्‍याउनसके स्याउले राम्रो भाउ पाउने थियो,’ उनले भने, ‘सदरमुकाममा जिल्लाभरिको स्याउ आएको छ, खपत हुनै समस्या भयो ।’ स्याउ सुर्खेत र नेपालगन्ज पुर्‍याउन सके प्रतिकिलो ६५ देखि ७५ रुपैयाँमा बिक्री हुने उनी बताउँछन् । उनका अनुसार मुगुमा उत्पादित करिब १५ टन स्याउ बाहिर जाने गरेको छ ।

स्याउ राख्ने कार्टुन अभाव
जिल्लाका किसानलाई स्याउ प्याकिङ गर्ने कार्टुनको अभाव भएको छ । विगत वर्षमा साविक जिल्ला कृषिले अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराउने गरेको थियो । कृषि ज्ञान केन्द्रले यो वर्ष किसानलाई कार्टुन उपलब्ध गराएको छैन ।

यातायात सेवा अवरुद्ध हुँदा किसान आफैंले कार्टुन बाहिरबाट मगाउन सकेका छैनन् । अधिकांश किसानले टिपेको स्याउ डोका र जुटको बोरामा थन्क्याएका छन् । असुरक्षित रूपमा स्याउ बोरामा राख्दा छिटो कुहिने किसानमा चिन्ता छ । कार्टुन नपाउएपछि बोरामा राखेर गाईंभैसीको गोठमा थन्काउनुपरेको कार्कीबाडा गाउँकी नानी कार्कीले बताइन् ।

‘जथाभावी स्याउ भण्डारण गरे छिट्टै कुहिन्छ, स्याउ राख्ने व्यवस्थित कोल्ड स्टोर नहुँदा बर्सेनि घाटा सहनुपरेको छ,’ उनले भनिन्, ‘संघीय संरचनापछि मन्त्रालयबाट बजेट कटौती हुँदा जिल्लाभर कार्टुनको अभाव छ ।’ कृषि ज्ञान केन्द्र प्रमुख नेपालीले बजेट नहुँदा यस वर्ष अनुदानमा कार्टुन वितरण गर्न नसकिएको जनाए ।

स्याउ भागबन्डा
सोरु गाउँपालिकाको सोरुकोटमा उत्पादन हुने स्याउ किसानले टिपेर भागबन्डा गर्ने गरेका छन् । सडकको असुविधाले बजार पुर्‍याउन मुस्किल हुने भएपछि बारीबाट स्याउ टिपेर घरघरै भागबन्डा गर्ने गरिएको हो ।

सोरुकोटको पोखरीमा सामूहिक स्याउ खेती गरिएको छ । बेच्ने बजार नहुँदा र ढुवानी समस्याका कारण आफूहरू समस्यामा परेको स्थानीय पदम शाहीले बताए । उनका अनुसार खेर फाल्नुभन्दा टिपेर घरघरै भागबन्डा गर्ने गरिएको हो ।

‘मोटर बाटोको सुविधा छैन,’ उनले भने, ‘बोकेर सदरमुकाम पुर्‍याउन कठिन छ ।’ चोरी हुने डरले भदौमै स्याउ टिपेर भागबन्डा गर्ने गरिएको उनी बताउँछन् । सोरुकोटमा हरेक वर्ष ९ देखि १२ टन स्याउ उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT