कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नक्कली साँचो बनाउने पुस्तैनी पेसा : हेर्दा सानो नभई नहुने 

नुमा थाम्सुहाङ

काठमाडौँ — हेर्दा सानो देखिन्छ तर यो भएन भने कामै रोकिन्छ । आफैं विचार गर्नुहोस् घरको ताल्चाको चाबी हरायो, त्यसलाई खोल्नका लागि के गर्ने ? ताला नै फोड्ने अन्तिम विकल्पभन्दा अघि नक्कली साँचो बनाउने अर्को उपाय पनि छ । 

नक्कली साँचो बनाउने पुस्तैनी पेसा : हेर्दा सानो नभई नहुने 

इन्द्रचोकका अशोक रौनियार नक्कली साँचो बनाउन संकटा मन्दिर पछाडि आएका थिए । त्यहाँ नवीन नकर्मीले नक्कली साँचो बनाउँछन् । ‘हेर्दा सानो भए पनि धेरै महत्त्वपूर्ण छ । यसको बिना काम चल्दैन,’ रौनियारले भने, ‘अहिले म काम छाडेर आएँ । आफैं भन्नु यसको महत्त्व कति रैछ ?’ बेलैमा सबैलाई नक्कली चाबी बनाइराख्न उनले सुझाव दिए ।


भक्तपुरका छेबाङ लामा बाइकको नक्कली चाबी बनाउन आएका थिए । ‘कसैले संकटा मन्दिर पछाडिको ठेगाना बताएपछि खोज्दै आएँ,’ उनले भने, ‘बाइकको एउटा मात्र चाबी छ, हराएमा अर्को चाहिन्छ भनेर नक्कली बनाउन आएको हुँ ।’ नक्कली चाबी भनेको वैकल्पिक उपाय भएको उनले बताए । अन्य ठाउँभन्दा ग्राहकको चाहनाअनुसार छिटो साँचो तयार हुने उनको अनुभव छ । ‘मलाई हतार छ हुँदा मिनेटभरमै साँचो तयार भयो,’ उनले भने ।


छाउनीका मनीराज कपाली भने दोस्रोपटक नक्कली साँचो बनाउन आएका थिए । ‘योभन्दा पहिला स्कुटीको नक्कली चाबी बनाउन आएको थिएँ । यो पालि घरको तालाको नक्कली चाबी बनाउन आएँ,’ उनले सुनाए, ‘पहिलोचोटि गरेको काम राम्रो लाग्यो, फेरि खोजी गर्दै आएँ ।’ संकटा मन्दिर पछाडि नवीन नकर्मीले मेसिनबाट चाबी बनाउँछन् ।


ट्रमा सेन्टर अगाडि र संकटा मन्दिर पछाडि रहेको नकर्मीको पसलको कुनै नाम छैन । सबैले ‘यहाँ साँचो बनाइन्छ’ भनेर चिन्छन् । आठ दशकदेखिको पुर्ख्यौली पेसा सम्हाल्दै आएका छन्, असन, बांगेमुढाका नकर्मी । ‘१६ वर्षमा एसएलसी सकेपछि बुवालाई सघाउन यहाँ आउँथें । आफैंले यो पेसालाई सम्हालेको भने १२ वर्ष भयो,’ उनले भने ।


साँचो बनाउने पेसाबाटै नकर्मीले सातजनाको परिवार खर्च जुटाउँदै आएका छन् । बाजे कृष्णबहादुर नकर्मीले सुरुवात गरेको साँचो बनाउने पेसा बुवा पुरुषोत्तम नकर्मीपछि अब उनको थाप्लोमा आएको छ । ‘पारिवारिक पेसा हो । यसलाई मेरो बाजेले सुरुवात गर्नुभयो र मेरो बुवाले सम्हाल्नुभयो । अब यसलाई अगाडि बढाउने पालो मेरो हो,’ नकर्मीले भने ।


उनी घरको तालाको चाबी, बाइक, स्कुटी र गाडीलगायत सबैको नक्कली चाबी बनाउँछन् । चाबीको नाप लिएर त्यसलाई ओर्जिनल ब्ल्यांक र नक्कली ब्ल्यांक साँचोसँग राखी काटेर चाबी बनाइने उनले बताए । ‘की कटिङ’ नाम रहेको मेसिन भारत र ताइवानबाट मगाएका थिए । ‘२५ वर्ष भइसक्यो यो मेसिन ल्याएर काम गर्न थालेको । मेसिनबाटै काम धेरै हुन्छ,’ नकर्मीले भने, ‘मेसिनमा बनाउँदा त्यसको एक छेउमा सक्कली चाबी हुन्छ भने अर्को छेउमा ब्ल्यांक चाबी राखिन्छ । त्यसपछि मेसिनले आफैं नापेर काट्छ । काटेको चाबीलाई हातले सफा गर्नुपर्छ, किनभने मेसिनले बनाएको रफ हुन्छ ।’


नकर्मीका अनुसार पहिले हजुरबाको पालामा मेसिन थिएन । हातैले काम गर्नुपर्थ्यो । ‘मेरो बुवाको समयमा मेसिन आए पनि हातैले बढी काम गर्नुहुन्थ्यो । अहिले भने सबै काम मेसिनबाटै गर्न सहज भएको छ । मेसिनले छिटोछरितो हुने र फिनिसिङ पनि राम्रो देखिन्छ । हातले बनाउँदा आधा घण्टाभन्दा बढी लाग्ने काम मेसिनबाट मिनेटभरमै सकिन्छ,’ उनले भने ।


साँचोको आकार, कामअनुसार मूल्य निर्धारण गरिएको छ । ताल्चाको ४० रुपैयाँ, बाइकको १ सयदेखि ५ सय रुपैयाँ, गाडीको २ सयदेखि ३ हजार रुपैयाँसम्म पर्ने उनी बताउँछन् । उनको पसलमा दिनमा ४० देखि ५० जनासम्म ग्राहक आउँछन् । सबै खर्च कटाएर महिनाको ३० हजार रुपैयाँसम्म बचत हुने नकर्मीको भनाइ छ । ‘मानिसहरूको साँचो हराइरहेको हुन्छ, त्यसमा उनीहरू चिन्ता लिन्छन् तर यहाँ आएर साँचो बनिसकेपछि खुसी भएर जाँदा आनन्द लाग्छ,’ उनले थपे ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?