नक्कली साँचो बनाउने पुस्तैनी पेसा : हेर्दा सानो नभई नहुने 

नुमा थाम्सुहाङ

काठमाडौँ — हेर्दा सानो देखिन्छ तर यो भएन भने कामै रोकिन्छ । आफैं विचार गर्नुहोस् घरको ताल्चाको चाबी हरायो, त्यसलाई खोल्नका लागि के गर्ने ? ताला नै फोड्ने अन्तिम विकल्पभन्दा अघि नक्कली साँचो बनाउने अर्को उपाय पनि छ । 

इन्द्रचोकका अशोक रौनियार नक्कली साँचो बनाउन संकटा मन्दिर पछाडि आएका थिए । त्यहाँ नवीन नकर्मीले नक्कली साँचो बनाउँछन् । ‘हेर्दा सानो भए पनि धेरै महत्त्वपूर्ण छ । यसको बिना काम चल्दैन,’ रौनियारले भने, ‘अहिले म काम छाडेर आएँ । आफैं भन्नु यसको महत्त्व कति रैछ ?’ बेलैमा सबैलाई नक्कली चाबी बनाइराख्न उनले सुझाव दिए ।

भक्तपुरका छेबाङ लामा बाइकको नक्कली चाबी बनाउन आएका थिए । ‘कसैले संकटा मन्दिर पछाडिको ठेगाना बताएपछि खोज्दै आएँ,’ उनले भने, ‘बाइकको एउटा मात्र चाबी छ, हराएमा अर्को चाहिन्छ भनेर नक्कली बनाउन आएको हुँ ।’ नक्कली चाबी भनेको वैकल्पिक उपाय भएको उनले बताए । अन्य ठाउँभन्दा ग्राहकको चाहनाअनुसार छिटो साँचो तयार हुने उनको अनुभव छ । ‘मलाई हतार छ हुँदा मिनेटभरमै साँचो तयार भयो,’ उनले भने ।

छाउनीका मनीराज कपाली भने दोस्रोपटक नक्कली साँचो बनाउन आएका थिए । ‘योभन्दा पहिला स्कुटीको नक्कली चाबी बनाउन आएको थिएँ । यो पालि घरको तालाको नक्कली चाबी बनाउन आएँ,’ उनले सुनाए, ‘पहिलोचोटि गरेको काम राम्रो लाग्यो, फेरि खोजी गर्दै आएँ ।’ संकटा मन्दिर पछाडि नवीन नकर्मीले मेसिनबाट चाबी बनाउँछन् ।

ट्रमा सेन्टर अगाडि र संकटा मन्दिर पछाडि रहेको नकर्मीको पसलको कुनै नाम छैन । सबैले ‘यहाँ साँचो बनाइन्छ’ भनेर चिन्छन् । आठ दशकदेखिको पुर्ख्यौली पेसा सम्हाल्दै आएका छन्, असन, बांगेमुढाका नकर्मी । ‘१६ वर्षमा एसएलसी सकेपछि बुवालाई सघाउन यहाँ आउँथें । आफैंले यो पेसालाई सम्हालेको भने १२ वर्ष भयो,’ उनले भने ।

साँचो बनाउने पेसाबाटै नकर्मीले सातजनाको परिवार खर्च जुटाउँदै आएका छन् । बाजे कृष्णबहादुर नकर्मीले सुरुवात गरेको साँचो बनाउने पेसा बुवा पुरुषोत्तम नकर्मीपछि अब उनको थाप्लोमा आएको छ । ‘पारिवारिक पेसा हो । यसलाई मेरो बाजेले सुरुवात गर्नुभयो र मेरो बुवाले सम्हाल्नुभयो । अब यसलाई अगाडि बढाउने पालो मेरो हो,’ नकर्मीले भने ।

उनी घरको तालाको चाबी, बाइक, स्कुटी र गाडीलगायत सबैको नक्कली चाबी बनाउँछन् । चाबीको नाप लिएर त्यसलाई ओर्जिनल ब्ल्यांक र नक्कली ब्ल्यांक साँचोसँग राखी काटेर चाबी बनाइने उनले बताए । ‘की कटिङ’ नाम रहेको मेसिन भारत र ताइवानबाट मगाएका थिए । ‘२५ वर्ष भइसक्यो यो मेसिन ल्याएर काम गर्न थालेको । मेसिनबाटै काम धेरै हुन्छ,’ नकर्मीले भने, ‘मेसिनमा बनाउँदा त्यसको एक छेउमा सक्कली चाबी हुन्छ भने अर्को छेउमा ब्ल्यांक चाबी राखिन्छ । त्यसपछि मेसिनले आफैं नापेर काट्छ । काटेको चाबीलाई हातले सफा गर्नुपर्छ, किनभने मेसिनले बनाएको रफ हुन्छ ।’

नकर्मीका अनुसार पहिले हजुरबाको पालामा मेसिन थिएन । हातैले काम गर्नुपर्थ्यो । ‘मेरो बुवाको समयमा मेसिन आए पनि हातैले बढी काम गर्नुहुन्थ्यो । अहिले भने सबै काम मेसिनबाटै गर्न सहज भएको छ । मेसिनले छिटोछरितो हुने र फिनिसिङ पनि राम्रो देखिन्छ । हातले बनाउँदा आधा घण्टाभन्दा बढी लाग्ने काम मेसिनबाट मिनेटभरमै सकिन्छ,’ उनले भने ।

साँचोको आकार, कामअनुसार मूल्य निर्धारण गरिएको छ । ताल्चाको ४० रुपैयाँ, बाइकको १ सयदेखि ५ सय रुपैयाँ, गाडीको २ सयदेखि ३ हजार रुपैयाँसम्म पर्ने उनी बताउँछन् । उनको पसलमा दिनमा ४० देखि ५० जनासम्म ग्राहक आउँछन् । सबै खर्च कटाएर महिनाको ३० हजार रुपैयाँसम्म बचत हुने नकर्मीको भनाइ छ । ‘मानिसहरूको साँचो हराइरहेको हुन्छ, त्यसमा उनीहरू चिन्ता लिन्छन् तर यहाँ आएर साँचो बनिसकेपछि खुसी भएर जाँदा आनन्द लाग्छ,’ उनले थपे ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

पोखरालाई भैरहवा हवाई प्रवेश मार्ग

‘भैरहवा हवाई प्रवेश मार्ग सञ्चालन गर्ने विषयमा भारतसँग सैद्धान्तिक सहमति भइसकेको छ । एक–दुईवटा बैठकपछि भैरहवा इन्ट्री प्वाइन्ट पाउँछौं । महेन्द्रनगर र नेपालगन्जका लागि पनि भारतसँग कुरा गरिरहेका छौं ।’
दीपक परियार

(पोखरा) — पोखरा र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई भैरहवा हवाई प्रवेश मार्ग खोल्न नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तयारी गरेको छ । प्रवेश मार्ग खोल्न भारतसँग सहमति भएर कार्यान्वयनको चरणमा छ । हाल नेपालमा सिमरा नाकाबाट मात्रै जहाज प्रवेश गर्छ । चीनबाट पनि प्राय: जहाज सिमरा भएरै आउँछन् । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण वैशाखमा सकिँदै छ । 

क्यान महानिर्देशक राजन पोखरेलका अनुसार दुवै पक्षले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मा यो रुट स्थापित गर्न अनुरोध गरेर पत्र पठाइसकेका छन् । ‘उताबाट सकारात्मक जवाफ आइसकेको छ, केही छलफल पनि भइरहेको छ,’ उनले भने, ‘सम्भवत: छिट्टै नै त्यो रुट खुला गर्छौं ।’

काठमाडौंमा हालै भएको हवाई महानिर्देशकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा यस विषयमा भारतसँग ‘साइड मिटिङ’ भएको उनले सुनाए । ‘भारतले यो रुटलाई छिटोभन्दा छिटो खुला गर्न सहमति जनाइसकेको छ,’ उनले भने, ‘पोखरा एयरपोर्टका लागि रुटको समस्या छैन । भैरहवाबाट पनि इन्ट्री गर्न सक्छौं । सिमराबाट पनि सक्छौं । पछि महेन्द्रनगरबाट रुट प्राप्त भयो भने हाम्रो हवाई क्षेत्रभित्र ल्याएर कसरी काम गर्ने त्यो हाम्रो काम हो ।’

अब बन्ने विमानस्थलमा ठूला जहाज ल्यान्ड गर्न भने सक्दैनन् । यसको रनवे २ हजार ५ सय मिटर मात्रै भएकाले ‘टोपोग्राफी’ ले नदिने पोखरेल बताउँछन् । ‘अधिकतम ल्यान्ड गर्न सक्ने भनेको ५ डी क्याटगोरीको एयरबस ३२० सम्म हुन्छ कि भन्ने अध्ययन भइरहेको छ,’ उनले भने, ‘त्यो भनेको १४० देखि १६० सिटसम्मको विमान हो ।’ एयरबस ३१९ भने ल्यान्ड गर्न सक्ने अध्ययनले देखाइसकेको उनले जनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवा हवाई प्रवेश मार्ग सञ्चालन गर्ने विषयमा भारतसँग सैद्धान्तिक सहमति भइसकेको बताएका छन् । ‘कार्यान्वयनको एक दुईवटा बैठक भएपछि भैरहवा इन्ट्री प्वाइन्ट पाउँछौं,’ पोखरामा बुधबार उनले भने, ‘महेन्द्रनगर र नेपालगन्जमा पनि हामीले भारतसँग कुरा गरिरहेका छौं ।’
उनका अनुसार अध्यागमनले ग्राउन्ड ह्यान्डलिङ, भिसा जाँच, कस्टमलगायतका लागि आवश्यक तयारी गरिएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराका निम्ति अध्यागमनले तयारी गरेको हो । जनशक्ति लिने काम भइसकेको छ । तालिम दिने र आवश्यक सामग्री बन्दोबस्तको काम सुरु भइसकेको छ ।

अन्तर्राष्ट्रिय उडान गर्न गौतम बुद्ध र पोखरालाई ध्यान दिँदै एक समिति बनाउने तयारी मन्त्रालयले गरेको छ । समितिले विदेशका हवाईसेवासँग सम्पर्क गर्ने, समन्वय गर्ने, यहाँ आउनका निम्ति सुविधा के दिने भन्ने निर्क्योल गर्ने लगायत काम गर्नेछ । विमानस्थल सञ्चालन भएपछि सुरुमा ल्यान्डिङ चार्ज, पार्किङ चार्ज नलिनेलगायत धेरै प्याकेज बनाउने मन्त्री भट्टराईले उल्लेख गरे । उनले भने, ‘काठमाडौंको लोडलाई क्रमश: बाहिर ल्याउँदै छौं । काठमाडौंले अब धान्न सक्दैन । ठाउँ पनि छैन ।’

सन् २०१४ को मे ३१ मा क्यान र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र क्यानबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । झन्डै २२ अर्ब रुपैयाँ लागतमा बन्ने विमानस्थल सक्नुपर्ने म्याद सन् २०२१ जुन हो ।

ठेकेदार कम्पनीले म्यादभन्दा ६ महिनाअघि नै विमानस्थल हस्तान्तरण गर्ने दाबी गर्दै आएको छ । क्यान महानिर्देशक पोखरेलका अनुसार विमानस्थल निर्माणमा गत आर्थिक वर्षमा १२० प्रतिशत प्रगति गरेको छ । उक्त कार्यप्रगति लक्ष्यभन्दा धेरै हो । उनले यही रफ्तारमा काम भए तोकिएको मितिभन्दा ६ महिनाअघि नै विमानस्थल निर्माण सकिने बताए ।

‘ठेकेदार र हामी त्यसरी नै काम गरिरहेका छौं,’ बुधबार पोखरामा उनले भने, ‘सम्भवत: नेपालमा राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न हुनेमा पोखरा विमानस्थल नै हुन्छ जस्तो लाग्छ ।’ आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणको ४५ प्रतिशत काम सकिएको बताए । उनले आयोजना सञ्चालन गर्न आवश्यक फ्युल फार्म, डेडिकेटेड फिडर लाइनको व्यवस्था हुन समय लाग्ने देखिएको लगायत समस्या रहेको जनाए । मन्त्री भट्टराईले ६ महिना अगाडि तानिँदा नेपालको कुनै पनि ठूला आयोजना निर्माण गर्न सक्ने ल्याकत, क्षमता बढ्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय लगानीकर्ता नेपालमा कामै हुँदैन, ढिलो हुन्छ, लिंगरिङ हुन्छ भन्छन्,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्