३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कहिले गुड्ला रेल ?

सन्तोष सिंह

धनुषा — जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जगनगर रेल्वे सञ्चालनको प्रतीक्षामा छन् । ‘पर्यटक जनकपुर–जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’

कहिले गुड्ला रेल ?

लिक र स्टेसन तयार भए पनि रेल चल्न नसक्दा जनकपुर आउन इच्छा गरेका पर्यटक उतै रोकिएका छन् । सडक विस्तार तथा पुनः निर्माणले जनकपुर फेरिएको छ । चिल्लो सडक, त्यस्तै घरले सहरको चमक बढेको छ ।


उपमहानगरले जनकपुर पुनर्निर्माणका क्रममा धार्मिक नगरीका घर केसरीया रङले रंगाउन आग्रह गरेको थियो । त्यसपछि जनकपुर नगरी केसरिया रङले सजिएको छ । लहरै एउटै रङले रंगिएका घरले सहरको सौन्दर्यमा थप निखार ल्याएको छ ।


जनकपुर आउने पर्यटक जानकी मन्दिर दर्शन गरेपछि रेलबारे सोधिखोजी गर्छन् । सञ्चालन नहुँदा रेल्वे स्टेसनको तस्बिर खिचेर फर्किने गरेका छन् । जयनगर–जनकपुर रेल सञ्चालनले होटल व्यवसाय र पर्यटन व्यवसाय फस्टाउने झुनझुनवालाले बताए । विगतमा रेलकै कारण चिनियाँ र भारतीय पर्यटक बढेको अनुभव उनले सुनाए । ‘अब पनि रेल्वे सञ्चालन भएमा पर्यटक बढ्नेछन्,’ उनले भने ।


जनकपुरका बुद्धिजीवी बरुणलाल कर्ण रेल सेवा सञ्चालनमा आएपछि यहाँ व्यवसायसँगै धार्मिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताउँछन् । ‘रेलले जनकपुरको धार्मिक पर्यटन सबल बन्नेछ,’ उनले भने । रेल सेवा सञ्चालनका लागि विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरिसकेको छ । तीन महिनाभित्र रेल नेपाल आइपुग्ने अनुमान गरिएको छ ।


तर, जयनगरदेखि कुर्थासम्मको किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त भएपछि रेल गुड्ने योजना तत्कालका लागि रोकिएको रेल्वे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बताए । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ ।


रेल सञ्चालनमा आएपछि जनकपुरमा पर्यटक, व्यवसायसँगै बजार गुल्जार बन्ने स्थानीय बताउँछन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले रेल सञ्चालनले ट्रान्सपोर्टेसन चार्ज घट्नुको साथै पर्यटक आवागमनसमेत बढ्ने बताए ।


पुराना इन्जिन

धनुषाको खजुरी स्टेसनमा देवी–देवताको नामबाट नामकरण गरिएका सीता, राम, गुह्येश्वरी, चन्द्र, सूर्य, महावीर, गोरखनाथ रेल्वेका पुराना इन्जिन अलपत्र छन् ।


ब्रिटिस सरकारले महोत्तरीको बिजलपुरा जंगलबाट सालका काठ ढुवानी गर्ने उद्देश्यले विक्रम संवत् १९९२ मा जनकपुर–जयनगर रेल्वेका लागि बैदेही र खजुरीमा कारखाना स्थापना गरेको थियो । कारखानामा रेल्वे इन्जन थन्किएका हुन् । जंगल सखाप भएपछि रेल्वेलाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेवामा परिणत गरेका थिए ।


रेल्वे इन्जिन मर्मतका लागि स्थापना गरिएको कारखानामा देवीदेवताको नामबाट नामकरण गरिएका रेल्वे इन्जिन कबाडमा परिणत भएका छन् । डिजेल र स्टिम इन्जिनहरू संरक्षणको अभावमा घामपानीले नासिँदै छन् ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?