२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रोगको संक्रमणले अदुवा उत्पादनमा कमी

गुणस्तरीय अदुवा उत्पादन नहुनु, रोगको प्रकोप बढ्नु र मुख्य बजार मानिएको भारतमा उतैको उत्पादन बढ्नुले बजार खस्किँदै

इलाम/उदयपुर — यो वर्ष अदुवा उत्पादन घटेको छ । अघिल्लो वर्षभन्दा ७० प्रतिशतले उत्पादनमा कमी आएको छ । माउ निकाल्दा हरियो देखिएको अदुवाको बोट एकाएक पहेंलिन थालेको छ ।

रोगको संक्रमणले अदुवा उत्पादनमा कमी

‘मूल्य राम्रो भएकाले माउको बिक्रीबाट केही राहत मिले पनि मुख्य उत्पादनमा भने असर पर्ने निश्चित छ,’ इलाम नगरपालिका ५ स्थित तोरीबारीका चेतन पोख्रेलले भने, ‘२५ मन अदुवा रोपिए पनि अहिले सबै निकाल्न मिल्दैन । बगान पहेंलिने र गानु कुहिने रोग लाग्यो भने उत्पादन नै हुँदैन ।’

यस्तो समस्या अधिकांश बगानमा देखिन थालेको छ । प्राविधिकको सल्लाह नपाउदा र कृषकले पनि मूल्यलाई हेरेर मौसमको ख्याल नगरी माउ अदुवा निकाल्दा रोग लाग्ने गरेको जानकार बताउछन् । ‘यसअघि मूल्य कम हुँदा पनि गोदाममा अदुवा राख्ने ठाउँ हुँदैन थियो,’ बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले भने, ‘तर, अहिले अदुवा धेरै उत्पादन हुने क्षेत्रमा नै नगन्य मात्र अदुवा छ ।’

किसानलाई राम्रो मूल्य

बीउ किन्ने बेलामा मूल्य अत्यधिक हुने र उत्पादन बिक्री गर्दा कम मूल्य भएकाले कृषकले खेतीसमेत घटाएका छन् । निकासीमा भारतले लगाउने झन्झटका कारण पनि अदुवा कृषक र व्यवसायीमा निराशा थपिएको छ । तर, योपटक निकासी झन्झट भने हटेको छ ।

अघिल्ला वर्षहरूमा प्रतिमन ५ सय रुपैयाँसम्म झरेको अदुवाको मूल्य योपटक हात्तै वढेको छ । ‘मूल्य जति बढेपनि रोग निदानको उपाय नभए अदुवाको भविश्य सखाप हुने निष्कर्षमा पुगेका छौं,’ पोख्रेलले भने, ‘अदुवालाई नयाँ माटो चाहिने भएकाले जमिन लिजमा लिएर भए पनि खेती भने अपिलेसम्म थाम्दै आएका छौं ।’

हरेक वर्ष अदुवा खेतीबाट नोक्सान व्यहोर्दै आएका किसानले खेतीको विकल्प हेरिरहेका छन । जिल्लाका अधिकांश क्षेत्रमा अदुवा खेती हुन्छ । कृषकले धानखेती मासेर पनि अदुवा खेती गरेका थिए । तर मूल्य अनिश्चितताकै कारण पुनः अदुवा हटाएर अलैंची, अम्लिसोलगायतका बाली लगाएका छन् ।

‘अझै पनि ढुक्क भएर अदुवा खेती गर्ने अवस्था छैन,’ सन्दकपुर ५ जमुनाका ज्ञानु खनालले भने, ‘मूल्य धेरै आउने आशमा लोन गरेर पनि कोही बेला धेरै रोपिन्छ तर त्यही वर्ष मूल्य अत्यन्त कम हुन्छ ।’ गुणस्तरीय अदुवा उत्पादन नहुनु, रोगको प्रकोप बढ्नु र मुख्य बजार भारतमा उताकै उत्पादन बढ्नुले अदुवाको वजारमा ठुलो प्रभाव पार्ने गरेको छ । कृषकले माटोसहित बिक्री गर्ने र विषादीसमेत प्रयोग गर्ने गरेकाले बेला मौकामा अदुवाको बजार प्रभावित हुने गरेको छ ।

जिल्लाको बिब्ल्याटे, मंगलबारे, फिक्कल र तीनघरे बजारमा अदुवाको कारोबार उच्च हुने गरेको छ । वर्षौंदेखि अदुवाको खेती गर्दै आए पनि चित्तबुझ्दो आम्दानी यो वर्ष मात्र भएको माईजोगमाईको नाम्सालिङका कृषक वीरमान देवानले बताए । तर, उनलाई पनि यो आम्दानी दिगो नहुने चिन्ता छ ।

जिल्लाका विभिन्न स्थानका व्यापारीहरू यतिखेर किसानको घरघरमा गएर अदुवा खरिद गर्न व्यस्त छन् । मूल्यमा भइरहने घटबढले भने उनीहरूमा चिन्ता थपिने गरेको छ । किसानबाट महँगो मूल्यमा खरीद गरेको अदुवा बिक्री गर्ने समयमा मूल्य घट्ने हो कि भन्ने चिन्ताले व्यापारीलाई सताउने गरेको छ । ‘अदुवासहित नगदेबालीको कारोबारमा जहिले जोखिम मोल्नुपर्छ,’ व्यापारी मनोज घिमिरेले भने ।

गानो कुहिँदा किसान मारमा

गानो कुहिने रोग लागेपछि अदुवा खेती गर्दै आएका उदयपुरका किसान पनि मर्कामा छन् । गानो र गुवा कुहिने समस्यासँगै पातमा सेतो टिक जस्तो देखिएपछि बोट मर्दै जान थालेको उनीहरूले बताए । महिनायता कटारी नगरपालिकाका ८ देखि १४ वडासम्म खेती गरिएको अदुवामा यस्तो समस्या देखापरेको हो ।

अदुवा उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको कटारी नगरपालिकाको पहाडी क्षेत्रमा गानो कुहिनेसँगै विभिन्न रोगको लक्षण देखिएको कटारी नगरपालिकका पशु प्राविधिकसमेत रहेका लिम्पाटारका किसान विनोद कार्कीले बताए । ‘अदुवामा पछिल्लोपटक गानो कुहिने रोग देखा परेको छ,’ कार्कीले भने, ‘औषधि उपचार गर्दा रोकथामसमेत भएको छैन ।’ पछिल्लो सयम किसानले व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएको उनले बताए ।

नगरपालिकाका ६ वटा वडाका किसानको मुख्य खेती नै अदुवा हो । यस क्षेत्रका किसानले अदुवा खेतीबाटै वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्दै आएका छन । तर अदुवामा पाना (फल) लाग्ने समयमा रोग देखापरेपछि उत्पादनमा ह्रास आउने किसानले बताए । गत वर्ष सोचेभन्दा बढी मूल्य पाएपछि कटारी नगर क्षेत्रका किसानले अदुवा खेतीलाई व्यावसायिक रूपमै अगाडि बढाएका थिए ।

नगरपालिकको हर्देने, गहुँबारी, बेतेनी, गोठडाँडा, कोलबोटे, लिम्पाटार र चनौटे क्षेत्रका किसान व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । यी क्षेत्रमा बाँदरले अन्नबाली (मकै, कोदो, गहुँ) खाएर हैरान पारेपछि किसान अदुवा खेतीमा लगेको जानकार बताउँछन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?