२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अण्डाले बजार पाएन

लमजुङ — बेंसीसहर नगरपालिका–२ भकुन्डे तालफाँटकी वन्दना अधिकारीले ४ वर्षयता अण्डा दिने लेयर्स कुखुरा पालेकी छिन् । करिब ७ सय कुखुराले दैनिक ६ सय अण्डा दिए पनि बिक्री नहुँदा उनी समस्यामा छिन् । 

अण्डाले बजार पाएन

‘बिक्री गर्न बजार आयो । बाहिरी जिल्लाबाट सस्तोमा ल्याइँदो रहेछ । फिर्ता ल्याउनुभन्दा सस्तोमा छाडेर आउनुपर्छ,’ उनले भनिन् । एक क्रेट अण्डालाई २९० रुपैयाँमा दिँदा पनि बिक्री नहुने उनले बताइन् ।


भकुन्डेकै राजकुमार थापाले पनि ७ सय कुखरा पालेका छन् । एकदिनमा ३ बोरासम्म दाना खर्च हुन्छ । एक बोरा दानाको मूल्य करिब २ हजार ९ सय पर्छ । ‘अण्डा बिक्दैन । कुखरालाई भोकै राखेर पनि भएन । दिनमै ७/८ हजारको दाना खुवाउनुपर्ने । ५/६ हजारको पनि अण्डा बिक्री हुँदैन । कसरी व्यवसाय गर्ने ?’ उनले भने, ‘यस्तो अवस्थाप्रति कसैले चासो लिँदैन ।’ उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्दासमेत बजार नपाएको किसानले गुनासो गरेका छन् ।


बेंसीसहर नगरपालिका–११ चितिकी सुशीला तिवारीका अनुसार प्रतिअण्डा उत्पादन खर्च १२ रुपैयाँ पर्छ । बजारमा उपभोक्तालाई व्यापारीले २० रुपैयाँसम्ममा बिक्री गर्छन् । अण्डा ८/९ रुपैयाँमा समेत बिक्री नभएको उनले बताइन् । उनले २ हजार कुखुरा पाल्न मिल्ने फर्म भए पनि घाटा लागेपछि ८ सय मात्रै पालेको बताए ।


अण्डाले भाउ नपाउनु र दानाको मूल्य बढदै जाँदा घाटा परेको उनले बताए । स्थानीय किसानका अनुसार दानाको मूल्य बढ्नु र जिल्ला बाहिरबाट आएको अण्डाले समस्या पारेको छ । व्यवसायीका अनुसार व्यापारीले दिनरात बाहिरी जिल्लाबाट अण्डा ल्याउने गरेका छन् । चितवन र तनहुँमा बिक्री नहुने अण्डा लमजुङमा ल्याउने र मनाङसम्म पुर्‍याउने गरेका छन् ।


अर्बौं लगानी गरेर धेरै अण्डा पार्ने र लमजुङका बजारमा ल्याउँदा उनीहरूलाई खासै घाटा नहुने र यसले लमजुङका साना व्यवसायीलाई अप्ठ्यारोमा पारेको स्थानीय कुखुरापालक किसानले बताएका छन् । ‘अण्डा राम्रो ल्याए त ठीकै भो । चितवन र तनहुँबाट ल्याउने कुनै कुनै अण्डा कुहिएको हुँदोरहेछ,’ किसान पुरनबहादुर अधिकारीले भने, ‘जिल्लामै उत्पादन गरिएको अण्डामा त्यस्तो कैफियत देखिएको छैन ।’


अण्डा उत्पादक संघ लमजुङका अध्यक्ष ज्ञानेन्द्र बोहोराले दानाको मूल्य बढ्नु र अण्डाले भाउ नपाउँदा कतिपय किसानले व्यवसाय नै छाडेका छन् । जिल्लामा चाहिने अण्डा स्थानीयस्तरमै उत्पादन हुने भए पनि अर्बौंको लगानीसँग लाखको लगानीले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए ।


व्यवसायीको रोजीरोटी नै गुम्ने र बैंकको किस्तासम्म तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । उनका अनुसार गत वर्ष यही समयमा ५० किलो प्रतिबोरा दानाको मूल्य २ हजार २ सय ५० रुपैयाँ थियो । अहिले २ हजार ८ सय ७५ रुपैयाँ पुगेको उनले बताए ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?