हात्ती सफारीमा घट्दै रुचि

‘हो, युरोप अमेरिकाबाट आउने पर्यटकहरू हात्ती चढ्न तयार छैनन् । उनीहरु वन्यजन्तुप्रेमी भएर हो वा अन्य केही मनोभावनाले काम गरेको हो त्यो हामीले बुझ्न सकेका छैनौं । हामीले भने हात्तीलाई मर्का पार्ने काम गरेका छैनौं ।’
रमेशकुमार पौडेल

चितवन — जर्मनीको म्युनिख बस्ने लेन्डर बिसेनक्याम दुई साताअघि चितवन आए । चितवन निकुञ्जमा विश्वकै दुर्लभ एकसिँगे गैंडा पाइन्छ, बाघसँग जम्काभेट हुन सक्छ भन्ने सुनेपछि यी बायोलोजीका विद्यार्थी सौराहा पुगेका थिए । पर्यटन व्यवसायीले हात्ती सफारीबारे सुझाए । उनलाई भने सफारीमा पटक्कै रुचि जागेन ।

हात्ती सफारीमा घट्दै रुचि

‘हात्तीमा चारपाँचजना चढेको देख्दा साह्रै नराम्रो लाग्यो । उसलाई अप्ठ्यारो परेको होला नि ? त्यसैले हात्ती सफारी गर्न मन लागेन,’ लेन्डरले भने । सौराहामा बसेका बेला उनले हात्तीसँग हुने फरक गतिविधिबारे सुने । पर्यटकीय होटल ‘सपना भिलेज लज’ ले सफारीभन्दा फरक हात्तीसँग सम्बन्धित दुईवटा गतिविधि गराउँछ ।


दिनभर हात्तीसँग बिताउने ‘डे विथ इलाफेन्ट’ र अर्को छोटो समयको गतिविधि ‘बुस वाक’ अर्थात हात्तीसँग काँसघारीमा एक डेढ घण्टासँगै हिँड्ने कार्यक्रम सपना भिलेजमा उपलब्ध छ । लेन्डरले २५ अमेरिकी डलर तिरेर बुस वाक कार्यक्रम बुक गरे । साउन ३१ गते शुक्रबार साँझ उनी सपना भिलेजको पाको हात्ती ‘लक्की कली’ र युवा ‘सम्राट गज’ सँगै बुढी राप्ती खोलाको काँसघारीमा डुले ।


‘हात्ती माथि नचढेरै उसँग केही बेर हिँड्न पाउनु फरक अनुभव थियो । मैले हात्तीलाई कुनै दुख नदिई उसँग नजिक हुने र हात्तीबारे केही जान्ने अवसर पाएँ,’ लेन्डरले अनुभव सुनाए । हात्ती सफारीमा उनको मात्रै अरुचि छैन । सौराहा क्षेत्रमा २५ वर्षदेखि नेचर गाइड पेसामा संलग्न छन् जितु तमाङ । उनी हात्ती सफारी हुने सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पनि हुन् ।


‘सौराहा आएर हात्ती चढ्ने भनेका प्रायः चिनियाँ, नेपाली र भारतीय मात्रै हो । युरोप र अमेरिकाबाट आउने पर्यटकहरू हात्ती चढ्न लगभग छाडिसके,’ तमाङले भने । हात्ती सफारीमा अरुचि बढेसँगै सौराहा क्षेत्रको पर्यटनमा कस्तो असर पर्ने हो भन्ने छलफल सुरु भएको छ । सफारीलाई नै निरन्तरता दिने वा विकल्प खोज्ने भन्ने बहसमा पर्यटन व्यवसायीहरू जुटेका छन् ।


विश्वव्यापी अभियान

जर्मन नागरिक लेन्डरलाई चितवन आउनुअघि हात्ती सफारीका बारेमा खासै केही जानकारी थिएन । सौराहामा हात्ती सफारीको अवस्था देखेर मात्रै उनले हात्ती नचढ्ने निर्णय गरेको बताए । तर, हात्ती सफारीका बारेमा ५–६ वर्षयता विश्वव्यापी रूपमा नै अभियानहरू चलिरहेका छन् । त्यसको असर अहिले सौराहाको सफारीमा परेको हो ।


सन् २०१४ मै हात्ती सफारीको विषयमा जर्मन पर्यटक संगठनहरूको असहमति सार्वजनिक भएको थियो । सन् २०१४ को डिसेम्बर १८ मा केही संस्थाहरूले निकालेको प्रेस विज्ञप्तिमा पर्यटनमा हात्तीको प्रयोगलाई अनुचित ठहर गरिएको थियो । यी ट्राभल सेवा प्रदायक कम्पनीहरू थिए । क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरे यी कम्पनीहरूले सौराहामा समेत पर्यटकहरू पठाउने गरेको बताउँछन् ।


विश्वव्यापी रूपमा अभियान सुरु भएपछि हात्ती सफारीको विषयमा बहसहरू थालिए । सन् १९६४ देखि सञ्चालनमा आएको टाइगर टप्स चितवन निकुञ्जभन्दा झन्डै आठ वर्ष जेठो छ । पर्यटनमा हात्ती सफारीको सुरुवात टाइगर टप्सले नै गरेको हो । अहिले निकुञ्जभित्र यो होटल सञ्चालनमा छैन ।


तर, यही होटल सञ्चालन गर्ने समूहले निकुञ्ज आडको नवलपुर अमलटारीमा थारू भिलेज लज सञ्चालन गर्दछ । जसका महाप्रबन्धक हुन् डीबी चौधरी । सन् २०१६ देखि टाइगर टप्स होटल सञ्चालन गर्ने समूहका कुनै पनि पर्यटकीय होटलहरूले हात्ती सफारी नगरेको चौधरीले जानकारी दिए । जसले सफारी सुरु गर्‍यो उसैले विकल्प अपनाएपछि हात्ती सफारी बेठीक मान्ने विदेशीहरू बढ्न थाले ।


‘टाइगर टप्स समूहको घोषणापछि हात्ती सफारीसम्बन्धी धारणा विश्वव्यापी भयो,’ बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङले भने । त्यसपछि हात्ती सफारीको विकल्प खोज्न भन्दै संघसंस्थाहरू आउन थाले । अघिल्लो वर्ष मात्रै सौराहाका पर्यटन व्यवसायीलाई वाइल्ड लाइफ प्रोटेक्सन नेपाल नामक संस्थाले थाइल्यान्ड घुमाउन लग्यो । थाइल्यान्डमा भएको हात्तीमैत्री पर्यटकीय गतिविधि अवलोकन गराइयो ।


हात्ती सफारी किन अनुपयुक्त ?

प्रो वाइल्ड लाइफका डेनिएला फ्रेयरले जारी गरेको विज्ञप्तिमा हात्ती सफारीलाई अनुचित देखाउने कारणहरू यस्ता छन् । विज्ञप्तिमा लेखिएअनुसार एसिया तथा अझ बढदो रूपमा भन्ने हो भने अफ्रिकामा हात्तीको छावाहरूलाई जंगलबाट समाती लाभदायक पयर्टकीय व्यवसायको निम्ति प्रयोग गर्ने गरिन्छ ।


हात्तीको परेडमा प्रयोग हुने हात्तीलाई सिक्रीले बाँध्ने, कैद गर्ने, कुट्ने तथा यातना दिने विज्ञप्तिमा उल्लेख छ । यस्तो ‘क्रूर तरिका’ बाट बसमा पारेर मात्रै चाहे अनुसारको काममा लगाउन सकिन्छ भन्ने मान्यताले हात्तीमाथि अत्याचार हुने गरेको संस्थाको भनाइ छ ।


‘यस्ता दुर्व्यवहारबाट पीडित हात्तीहरू जहिले पनि माउते र पर्यटकहरूका लागि सांघातिक खतराका रूपमा प्रस्तुत हुन सक्छन्,’ विज्ञप्तिमा भनिएको छ । हात्तीले यस्तो व्यवहार पटकपटक देखाउने गरेको संस्थाले जानकारी गराएको छ । त्यस्ता हात्तीले सन् २००९ को डिसेम्बरदेखि सन् २०१० को मेसम्म पाँचजनालाई मारेको र १७ जनालाई घाइते बनाएको संस्थाको भनाइ छ ।


संस्थाको विज्ञप्तिमा उल्लेख भएअनुसार नेपालमा सफारीमा प्रयोग गर्न बर्सेनि कम्तीमा पाँच हात्तीहरू नेपाल–भारत सिमाना वारपार तस्करी हुने गर्छन् । ‘जसमध्ये अन्धा, वृद्ध र कम उमेरका हात्तीहरूले भयंकर दुर्व्यवहारको सामना गर्ने गर्दछन् र यिनीहरूलाई पौष्टिक आहार, उचित बासस्थान, सिक्रीबिना खोर भित्र बस्न पाउने तथा अवकाशको सुविधाबाट वञ्चित गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।


टाइगर टप्स ग्रुपअन्तर्गतको थारू भिलेज लजका महाप्रबन्धक चौधरी हात्तीमाथि नचढी, हात्तीलाई दुख नदिई पर्यटनमा प्रयोग बढाउनु उपयुक्त भएका कारण हात्ती सफारीको विकल्प सोचेको बताउँछन् । ‘अहिले हाम्रोमा आउने पर्यटकहरू हात्ती चढ्दैनन् । हात्तीको दिनभरिको रुटिन के हुन्छ त्यही हेरेर रमाइलो गर्छन् । हात्तीमाथि चढ्ने हैन हात्तीको पछिपछि पर्यटकहरू हिँड्ने गर्छन्,’ चौधरीले भने ।


पर्यटनमा प्रभाव

हात्ती सफारीबाट राम्रो लाभ लिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङ पर्यटक बसेर डुल्दैमा हात्तीलाई असर नपर्ने धारणा राख्दछन् । हात्तीमाथि मान्छे चढ्नु भनेको मान्छेको शरीरमा कमिला हिँडे जस्तै भएको उनले बताए । तर, हात्तीलाई के कसरी व्यवहार गरिएको छ त्यो मुख्य कुरा हुने उनको भनाइ छ ।


‘हो कुनै बेला हात्तीलाई अमानवीय तरिकाले नियन्त्रणमा राख्ने चलन थियो । त्यो त अहिले निकै सुधारिएको छ । कम उमेरको र बढी उमेरको हात्तीको प्रयोग पनि बन्द भएको छ । खानपानमा पनि ध्यान दिएका छन् । हात्तीलाई कष्ट छैन । त्यसैले सफारी गर्दैमा नराम्रो हुने हैन,’ तामाङले भने । सौराहामा युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थामार्फत सफारीमा हात्तीहरू परिचालित हुन्छन् । सहकारीमा ५७ वटा हात्ती छन् ।


‘हो, युरोप अमेरिकाबाट आउने पर्यटकहरू हात्ती चढ्न तयार छैनन् । उनीहरू जनावरप्रेमी नै भएर हो वा अन्य केही मनोभावनाले काम गरेको हो त्यो हामीले बुझ्न सकेका छैनौं । किनकि जनावर अर्थात् हात्तीलाई मर्का पार्ने काम हामीले गरेका छैनौं,’ हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भने । हात्तीलाई पुग्दो आहारा दिएको, पशु चिकित्सक राखेर स्वास्थ्य अवस्थाको रेखदेख गरेको र आराम पनि दिने गरेको उनले बताए ।


‘हात्तीको आँखामा चिप्रा नहोस्, नङ नराम्रो नहोसलगायत विषयहरूसमेत ख्याल राखेका छौं । हामी हात्तीलाई अत्याचार गर्दैनौं,’ तिवारीले भने । उनी पनि हात्तीमैत्री पर्यटनको विकास भएको ठाउँ हेर्न भन्दै थाइल्यान्ड गएको भ्रमण टोलीमा सहभागी थिए । तर हात्तीका अन्य गतिविधि सुरु गर्न सकिए पनि हात्ती सफारी तत्कालै बन्द गर्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् ।


‘पर्यटकलाई हात्ती सफारी रुचिकर नहुने गरेको सत्य हो । युरोपियनहरूलाई नेपालमा हात्तीलाई अभद्र व्यवहार गरिन्छ, हात्ती चढ्न हुँदैन भन्ने सन्देश गएको छ । ट्राभल एजेन्सीहरूले हात्ती सफारीलाई हटाएर मात्रै कार्यक्रम दिन आग्रह गर्न थालेका छन्,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । हात्ती सफारीलाई विश्व बजारबाटै हटाउन एउटा समूह लागेको र हात्ती सफारी हुने हरेक देशमा यसको प्रभाव परेको उनले बताए ।


ट्रिप एडभाइजरजस्तो अनलाइन क्षेत्रमा ख्याति कमाएको संस्थाले पनि नेपालमा आउने पर्यटकलाई हात्ती सफारी नगर्न अपिल गरेको छ । ‘कुनै दिन अमेरिकन, युरोपियन र अस्ट्रेलियन पर्यटकहरू कुनै पनि हालतमा हात्ती सफारीलाई नरुचाउने र हात्ती सफारीलाई प्रयोग गर्ने होटलमा पनि नबस्ने अवस्था आउला झैं भएको छ,’ घिमिरेले भने ।


यस्तो अवस्था बढ्दै गए चितवनमा एक दिन हात्ती सफारी बन्द नै हुने खतरा रहेको उनले बताए । ‘त्यो बेला यहाँको पर्यटनमा कस्तो प्रभाव पर्ला,’ सुमन घिमिरेले भने । यसैले हात्तीको स्याहारबारेको भ्रम चिर्दै र हात्ती सफारीबाहेकको गतिविधिलाई पनि सुरुवात गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


बाबुराम लामिछाने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत अनुसन्धान अधिकृत हुन् । जंगली जनावर, जंगली हात्ती र घरमा पालिएका हात्तीका अवस्था बानी व्यवहारका विषयमा पनि उनी जानकार छन् । उनका अनुसार वंशाणुगत रूपमा जंगली र घरमा पालिएका हात्ती एकै खालका हुन्छन् । ‘दुवैलाई एउटै खालको व्यवहार गरौं भन्ने अर्थमा भनिएको हो,’ उनले भने ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?