वारि सुनसान, पारि गुलजार

सीमा बजारमा सस्तोमा सामान पाइने विश्वास र घरायसी सामान ल्याउँदा भन्सार तिर्न नपर्ने भएकाले नेपाली उपभोक्ताको सीमाका बजारमा आकर्षण बढ्दो
माधव ढुंगाना

भैरहवा — गाउँ टोलमा तिजको रमझम र रौनक बढे पनि भैरहवा, बुटवल, तिलोत्तमालगायत ठूला बजार सुनसान छन् । सीमावर्ती सुनौली बजारमा भने पाइला टेक्ने ठाउँ छैन ।

‘तीज आएको महसुस हुन सकेको छैन,’ चार दशकदेखि भैरहवामा कपडा पसल सञ्चालन गर्दै आएका व्यवसायी ओमकार गौचनले भने, ‘तीजका लागि दैनिक करोडौंको किनमेल भइरहेको छ । तर, यहाँ होइन, सीमापारि भारतीय बजारमा ।’

सीमावर्ती भारतको सुनौली र नौतनवा बजारमा चहलपहल बढिरहेको छ । बिहानदेखि साँझसम्म तीजका लागि सामान खरिद गर्न जाने नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । सुनौलीका हरेक गल्ली र भित्री बजारका पसलमा हुने नेपाली उपभोक्ताको भीडले त्यहाँका व्यवसायीलाई एक छिन पनि फुर्सद छैन ।

त्यहाँ नेपाली उपभोक्तालाई सामान किनमेल गर्न पालो कुर्नुपर्ने अवस्था छ । तीज, दसैं, तिहारजस्ता चाडपर्व र विवाह, व्रतबन्धको सिजनमा त्यहाँ ग्राहकको ताँती नै लाग्छ । धेरै सामान खरिद गर्नुपर्दा ग्राहक सुनौलीबाट ९ किमिको दूरीमा रहेको नौतनवा पुग्छन् । अधिकांश भने सीमासँगै जोडिएको सुनौलीमै किनमेल गर्छन् ।

चाडपर्व र विवाह व्रतबन्धको सिजनमा भैरहवा, बुटवल र आसपास क्षेत्रका मात्र नभएर पोखरा, चितवन, लमजुङ, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, दाङ, धादिङ, तनहुँलगायतका स्थानबाट पनि किनमेलका लागि यहाँका बजारमा पुग्ने बढेका छन् ।

साडी, कुर्ता सलवारलगायत तयारी पोसाक, खाने तेल, मरमसला, अचार, हल्का पेयपदार्थ, चिनी, साबुन, सर्फ, सेम्पु, स्टेसनरी सामान, नमकिन, बिस्कुट, काजु, किसमिस, पास्ताजस्ता फास्टफुड, शृंगारका सामान, भाँडाबर्तन र मोबाइल नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

किनमेलका लागि दैनिक कति नेपाली सीमापारि पुग्छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन । तर, चाडपर्वका बेला नेपाली उपभोक्ताको भीड र उनीहरूले प्रयोग गर्ने सवारी साधनको चापले सीमाक्षेत्रमा बारम्बार जाम हुने गर्छ ।

‘तीजका लागि किनमेल गर्न केही दिनदेखि बिहान १० बजेदेखि नै हूलका हूल नेपाली उपभोक्ता पारि जाने गरेका छन्,’ सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका निरीक्षक कमल बेलबासेले भने, ‘नजिकिंदो चाडपर्व र शनिबारका दिन त यात्रु आवागमन सहज पार्न छुट्टै प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।’

किनमेलका लागि बिहान १० बजेदेखि नेपाली उपभोक्ता सुनौलीतर्फ आउने र दिउसो २ बजेदेखि फर्किन थाल्छन् । बुटवलदेखि सीमावर्ती बेलहियासम्म दैनिक साढे ४ सयभन्दा धेरै यात्रुबाहक बस चल्ने गर्छन् । सबै बसमा यात्रु खचाखच भरिएका हुन्छन् । यसबाहेक निजी जिप, कार, मोटरसाइकल, स्कुटीमा सुनौली पुग्ने उपभोक्ता पनि उत्तिकै छन् ।

सरकारी गाडीमा सामान किनमेल गर्न आउनेको संख्या पनि उत्तिकै छ । उच्च ओहोदाका कर्मचारी, जनप्रतिनिधि र सुरक्षा अधिकारीले प्रयोग गर्ने सवारी साधन पनि सामान किनमेलका लागि आउने गरेको देखिन्छ ।

‘तीजका कारण सुनौलीको व्यवसाय अहिले निकै राम्रोसँग चलेको छ,’ उद्योग व्यापार प्रतिनिधिमण्डल सुनौली भारतका अध्यक्ष बब्लु सिंहले भने, ‘सुनौली बजार नेपाली उपभोक्तामाथि नै निर्भर छ ।’ चाडपर्व र विवाह व्रतबन्धका बेलामा काठमाडौं, पोखरा, चितवनदेखि सामान किनमेल गर्न सुनौली आउने गरेको उनले सुनाए ।

उनका अनुसार सुनौलीमा सानाठूला गरेर १ हजार ५ सयको हाराहारीमा पसल सञ्चालनमा छन् । सुनौलीको ९० प्रतिशतभन्दा धेरै कारोबार नेपाली उपभोक्ताबाट हुने गरेको छ । प्रतिदिन डेढ करोडभन्दा माथिको कारोबार हुने गरेको उनले बताए ।

सस्तो मूल्यमा सामान पाइने विश्वास र घरायसी प्रयोजनका नाममा भन्सार नतिरी सामान ल्याउन पाइने कारणले नेपाली उपभोक्ताको आकर्षण सीमापारिको बजारमा बढेको छ । भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रमा घुमफिरका लागि आउनेहरूको सपिङ गन्तव्य सुनौली बजार हुने गरेको छ । धेरै सामान नेपालमै सस्तो र गुणस्तरीय पाइने गरे पनि अधिकांश नेपाली उपभोक्ता यसप्रति जानकार छैनन् । छरछिमेकीको लहलहैमा लाग्ने, मूल्य र गुणस्तरप्रति चासो नदेखाउने नेपाली उपभोक्ताको संख्या पनि उत्तिकै छ ।

यति धेरै नेपाली उपभोक्ता सामान किनमेल गरी फर्किने गरे पनि भन्सार राजस्व भने निकै न्यून संकलन हुने गरेको छ । सबैले दैनिक घरायसी प्रयोजनका लागि सामान खरिद गरेको दाबी गर्छन् । भन्सारले व्यावसायिकबाहेक घरायसी प्रयोजनका लागि भनेर किनमेल गरेको सामान्य परिमाणमा भन्सार शुल्क लगाउँदैन ।

‘घरायसी प्रयोजनका नाममा धेरै सामान किनेर व्यावसायिक तथा व्यापारिक प्रयोग हुन सक्नेतर्फ हामी सजग नै छौं,’ भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले भने, ‘घरायसी प्रयोजनका नाममा अस्वाभाविक रूपमा धेरै परिमाणको सामान ल्याउँदा भन्सार राजस्व लगाउने गरेका छौं ।’

आफ्नै प्रयोजनका लागि भनेर किनेको सामान्य सामानमा भन्सार राजस्व तिराउनु व्यावहारिक नहुने तर्क गर्दै उनले कतिसम्मको सामानलाई छुट दिने भन्नेबारेमा यकिन नभएको बताए । अत्यधिक नेपाली उपभोक्ताका कारण एक/दुई वटा कपडा र दैनिक प्रयोजनका अन्य सामान किनमेल गरेर फर्किंदा पनि सामानको परिमाण भने बिनाभन्सार धेरै भित्रिने गरेको उनले बताए ।

स्वदेशी निजी व्यवसायी भने भन्सार नाकामा चेकजाँचमा कडाइ नगरिएको र घरायसी सामानका नाममा धेरै परिमाणको सामान ल्याउन छुट दिइनुले सीमापारिको बजार गुलजार हुने गरेको तर्क गर्छन् । हाल सीमा नियन्त्रणका लागि परिचालन गरिएको सुरक्षा संयन्त्र तथा जनशक्ति पर्याप्त नभएको र सानो संख्याको प्रहरी र भन्सारले मात्र सिमानाबाट हुने अवैध कारोबार नियन्त्रण सम्भव नहुने दाबी व्यवसायीको छ ।

नियन्त्रणका लागि अलग्गै ठोस नीति राज्यले नै अवलम्बन गर्नुपर्ने उनीहरूले बताए । यात्रु तथा सामान्य उपभोक्ताको सहुलियतका लागि सरकारले भन्सार नाकामा लागू गरेको संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा नआउँदा नेपाली उपभोक्ता सीमापारिको बजारमा जाने प्रवृत्ति मौलाउँदै गएको व्यापारी गौचनले दाबी गरे ।

सामान्यतया यात्रुले घरायसी प्रयोजनका लागि एक हजार रुपैयाँसम्मको सामान किनमेल गरेर फर्किन मिल्ने र त्यसभन्दा माथिको सामान किनेमा यात्रुले संक्षिप्त भन्सार प्रज्ञापनपत्र भरेर राजस्व तिर्नुपर्ने प्रावधान छ । ‘भन्सार नाकामा संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा आउन सकेन र चेकजाँच पनि प्रभावकारी हुन सकेन,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका गौचनले भने, ‘उपभोक्ता नभएर नेपाली बजार सुक्दै जान थाले, नेपाली उपभोक्ताले सीमापारिको बजार फस्टाउँदै जान थाले ।’

प्रकाशित : भाद्र १०, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?