वारि सुनसान, पारि गुलजार

सीमा बजारमा सस्तोमा सामान पाइने विश्वास र घरायसी सामान ल्याउँदा भन्सार तिर्न नपर्ने भएकाले नेपाली उपभोक्ताको सीमाका बजारमा आकर्षण बढ्दो
माधव ढुंगाना

भैरहवा — गाउँ टोलमा तिजको रमझम र रौनक बढे पनि भैरहवा, बुटवल, तिलोत्तमालगायत ठूला बजार सुनसान छन् । सीमावर्ती सुनौली बजारमा भने पाइला टेक्ने ठाउँ छैन ।


‘तीज आएको महसुस हुन सकेको छैन,’ चार दशकदेखि भैरहवामा कपडा पसल सञ्चालन गर्दै आएका व्यवसायी ओमकार गौचनले भने, ‘तीजका लागि दैनिक करोडौंको किनमेल भइरहेको छ । तर, यहाँ होइन, सीमापारि भारतीय बजारमा ।’

सीमावर्ती भारतको सुनौली र नौतनवा बजारमा चहलपहल बढिरहेको छ । बिहानदेखि साँझसम्म तीजका लागि सामान खरिद गर्न जाने नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । सुनौलीका हरेक गल्ली र भित्री बजारका पसलमा हुने नेपाली उपभोक्ताको भीडले त्यहाँका व्यवसायीलाई एक छिन पनि फुर्सद छैन ।

त्यहाँ नेपाली उपभोक्तालाई सामान किनमेल गर्न पालो कुर्नुपर्ने अवस्था छ । तीज, दसैं, तिहारजस्ता चाडपर्व र विवाह, व्रतबन्धको सिजनमा त्यहाँ ग्राहकको ताँती नै लाग्छ । धेरै सामान खरिद गर्नुपर्दा ग्राहक सुनौलीबाट ९ किमिको दूरीमा रहेको नौतनवा पुग्छन् । अधिकांश भने सीमासँगै जोडिएको सुनौलीमै किनमेल गर्छन् ।

चाडपर्व र विवाह व्रतबन्धको सिजनमा भैरहवा, बुटवल र आसपास क्षेत्रका मात्र नभएर पोखरा, चितवन, लमजुङ, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, दाङ, धादिङ, तनहुँलगायतका स्थानबाट पनि किनमेलका लागि यहाँका बजारमा पुग्ने बढेका छन् ।
साडी, कुर्ता सलवारलगायत तयारी पोसाक, खाने तेल, मरमसला, अचार, हल्का पेयपदार्थ, चिनी, साबुन, सर्फ, सेम्पु, स्टेसनरी सामान, नमकिन, बिस्कुट, काजु, किसमिस, पास्ताजस्ता फास्टफुड, शृंगारका सामान, भाँडाबर्तन र मोबाइल नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

किनमेलका लागि दैनिक कति नेपाली सीमापारि पुग्छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन । तर, चाडपर्वका बेला नेपाली उपभोक्ताको भीड र उनीहरूले प्रयोग गर्ने सवारी साधनको चापले सीमाक्षेत्रमा बारम्बार जाम हुने गर्छ ।

‘तीजका लागि किनमेल गर्न केही दिनदेखि बिहान १० बजेदेखि नै हूलका हूल नेपाली उपभोक्ता पारि जाने गरेका छन्,’ सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका निरीक्षक कमल बेलबासेले भने, ‘नजिकिंदो चाडपर्व र शनिबारका दिन त यात्रु आवागमन सहज पार्न छुट्टै प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।’

किनमेलका लागि बिहान १० बजेदेखि नेपाली उपभोक्ता सुनौलीतर्फ आउने र दिउसो २ बजेदेखि फर्किन थाल्छन् । बुटवलदेखि सीमावर्ती बेलहियासम्म दैनिक साढे ४ सयभन्दा धेरै यात्रुबाहक बस चल्ने गर्छन् । सबै बसमा यात्रु खचाखच भरिएका हुन्छन् । यसबाहेक निजी जिप, कार, मोटरसाइकल, स्कुटीमा सुनौली पुग्ने उपभोक्ता पनि उत्तिकै छन् ।

सरकारी गाडीमा सामान किनमेल गर्न आउनेको संख्या पनि उत्तिकै छ । उच्च ओहोदाका कर्मचारी, जनप्रतिनिधि र सुरक्षा अधिकारीले प्रयोग गर्ने सवारी साधन पनि सामान किनमेलका लागि आउने गरेको देखिन्छ ।

‘तीजका कारण सुनौलीको व्यवसाय अहिले निकै राम्रोसँग चलेको छ,’ उद्योग व्यापार प्रतिनिधिमण्डल सुनौली भारतका अध्यक्ष बब्लु सिंहले भने, ‘सुनौली बजार नेपाली उपभोक्तामाथि नै निर्भर छ ।’ चाडपर्व र विवाह व्रतबन्धका बेलामा काठमाडौं, पोखरा, चितवनदेखि सामान किनमेल गर्न सुनौली आउने गरेको उनले सुनाए ।

उनका अनुसार सुनौलीमा सानाठूला गरेर १ हजार ५ सयको हाराहारीमा पसल सञ्चालनमा छन् । सुनौलीको ९० प्रतिशतभन्दा धेरै कारोबार नेपाली उपभोक्ताबाट हुने गरेको छ । प्रतिदिन डेढ करोडभन्दा माथिको कारोबार हुने गरेको उनले बताए ।

सस्तो मूल्यमा सामान पाइने विश्वास र घरायसी प्रयोजनका नाममा भन्सार नतिरी सामान ल्याउन पाइने कारणले नेपाली उपभोक्ताको आकर्षण सीमापारिको बजारमा बढेको छ । भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रमा घुमफिरका लागि आउनेहरूको सपिङ गन्तव्य सुनौली बजार हुने गरेको छ । धेरै सामान नेपालमै सस्तो र गुणस्तरीय पाइने गरे पनि अधिकांश नेपाली उपभोक्ता यसप्रति जानकार छैनन् । छरछिमेकीको लहलहैमा लाग्ने, मूल्य र गुणस्तरप्रति चासो नदेखाउने नेपाली उपभोक्ताको संख्या पनि उत्तिकै छ ।

यति धेरै नेपाली उपभोक्ता सामान किनमेल गरी फर्किने गरे पनि भन्सार राजस्व भने निकै न्यून संकलन हुने गरेको छ । सबैले दैनिक घरायसी प्रयोजनका लागि सामान खरिद गरेको दाबी गर्छन् । भन्सारले व्यावसायिकबाहेक घरायसी प्रयोजनका लागि भनेर किनमेल गरेको सामान्य परिमाणमा भन्सार शुल्क लगाउँदैन ।

‘घरायसी प्रयोजनका नाममा धेरै सामान किनेर व्यावसायिक तथा व्यापारिक प्रयोग हुन सक्नेतर्फ हामी सजग नै छौं,’ भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले भने, ‘घरायसी प्रयोजनका नाममा अस्वाभाविक रूपमा धेरै परिमाणको सामान ल्याउँदा भन्सार राजस्व लगाउने गरेका छौं ।’

आफ्नै प्रयोजनका लागि भनेर किनेको सामान्य सामानमा भन्सार राजस्व तिराउनु व्यावहारिक नहुने तर्क गर्दै उनले कतिसम्मको सामानलाई छुट दिने भन्नेबारेमा यकिन नभएको बताए । अत्यधिक नेपाली उपभोक्ताका कारण एक/दुई वटा कपडा र दैनिक प्रयोजनका अन्य सामान किनमेल गरेर फर्किंदा पनि सामानको परिमाण भने बिनाभन्सार धेरै भित्रिने गरेको उनले बताए ।

स्वदेशी निजी व्यवसायी भने भन्सार नाकामा चेकजाँचमा कडाइ नगरिएको र घरायसी सामानका नाममा धेरै परिमाणको सामान ल्याउन छुट दिइनुले सीमापारिको बजार गुलजार हुने गरेको तर्क गर्छन् । हाल सीमा नियन्त्रणका लागि परिचालन गरिएको सुरक्षा संयन्त्र तथा जनशक्ति पर्याप्त नभएको र सानो संख्याको प्रहरी र भन्सारले मात्र सिमानाबाट हुने अवैध कारोबार नियन्त्रण सम्भव नहुने दाबी व्यवसायीको छ ।

नियन्त्रणका लागि अलग्गै ठोस नीति राज्यले नै अवलम्बन गर्नुपर्ने उनीहरूले बताए । यात्रु तथा सामान्य उपभोक्ताको सहुलियतका लागि सरकारले भन्सार नाकामा लागू गरेको संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा नआउँदा नेपाली उपभोक्ता सीमापारिको बजारमा जाने प्रवृत्ति मौलाउँदै गएको व्यापारी गौचनले दाबी गरे ।

सामान्यतया यात्रुले घरायसी प्रयोजनका लागि एक हजार रुपैयाँसम्मको सामान किनमेल गरेर फर्किन मिल्ने र त्यसभन्दा माथिको सामान किनेमा यात्रुले संक्षिप्त भन्सार प्रज्ञापनपत्र भरेर राजस्व तिर्नुपर्ने प्रावधान छ । ‘भन्सार नाकामा संक्षिप्त प्रज्ञापनपत्र कार्यान्वयनमा आउन सकेन र चेकजाँच पनि प्रभावकारी हुन सकेन,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका गौचनले भने, ‘उपभोक्ता नभएर नेपाली बजार सुक्दै जान थाले, नेपाली उपभोक्ताले सीमापारिको बजार फस्टाउँदै जान थाले ।’

प्रकाशित : भाद्र १०, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

चिउरी र चमेरा जोगाउँदै चेपाङ

‘चमेराले चिउरीका फूलमा परागसेचन गराउँछ भन्ने हामीलाई थाहै थिएन । चिउरीमा दाना नलाग्नुको कारण चमेराको सिकार रहेछ । छोरीचेलीलाई घर पठाउँदा चिउरीको एउटा बिरुवा दिने चलनको महत्व बल्ल बुझ्यौं ।’ 
प्रताप विष्ट

हेटौंडा — खोलाछेउका बजारमा सिन्कामा माछा उनेर बेच्न राखे जसरी चमेरा राखेको देख्नुभएको छ ? चेपाङ बहुल बस्ती पुगेकाहरूले अवश्य देखेको हुनुपर्छ । अबका दिन त्यसरी चमेरा मारेर खान राखिएको भेटिँदैन । जहाँजहाँ भेटिन्छन्, त्यहाँ पनि चिउरीको फाइदा बुझेकाहरूले अवस्थामा परिवर्तन ल्याइरहेका छन् । 



चिउरी पाक्ने याम चेपाङका अनुहारमा बेग्लै प्रकारको खुसी हुन्छ । पातको टपरी हुने, दानाको घिउ भुटुन र बत्ती बाल्न काम लाग्ने भएकाले चेपाङ र चिउरी एकअर्काका अभिन्न मानिन्छन् । पछिल्ला केही वर्षयता चिउरीमा दाना लाग्ने क्रम घटेको थियो । धेरैले कारण पहिल्याए चमेराको सिकार । चिउरीको फूलको रस चुस्न आउने चमेराले परागसेचनमा सघाउँछ ।

जब चमेरालाई भुवा (जाल) मा पारेर भटाभट मार्दै खान थालियो, असर चिउरीका रूखमा देखियो । दाना कम लाग्न थालेपछि राक्सिराङमा सामुदायिक वन समूहको अगुवाइमा चिउरी र चमेरा संरक्षणको अभियान सुरु भयो । चिउरीका हुर्केका रूखको संरक्षण र एक घर ५० वटा चिउरीको बिरुवा लगाउने अभियान यतिबेला क्रमिक रूपमा प्रभावकारी देखिएको छ ।

राक्सिराङ गाउँपालिका ६ सिलिङेको सिलिङे सामुदायिक वनले गत वर्ष यो अभियान थाल्ने योजना अघि सार्दा किट विकास निर्देशनालय काठमाडौंले बिरुवा ढुवानी गर्न ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । चितवनको भण्डारास्थित मौरीपालन केन्द्रबाट पहिलो खेप ५ हजार बिरुवा ल्याएर सिलिङेमा बाँडियो । ‘त्यो खेपका धेरैजसो बिरुवा हुर्कंदै छन्,’ वन उपभोक्ता समिति अध्यक्ष आइतेसिंह चेपाङले भने, ‘चिउरीको महत्त्व अलि ढिला बुझ्यौं, अझै पनि ढिला भइसकेको रहेनछ ।’ चिउरीको रूखबिरुवा संरक्षणका लागि समूहले दुई जना हेरालु राखेको उनले बताए ।

‘त्यो चमेराको खुट्टामा टाँसिएर चिउरीका फूलमा परागसेचन हुन्छ भन्ने हामीलाई थाहै थिएन, जसले भेट्यो मार्‍यो, खायो,’ उनले भने, ‘गेडा किन लागेनन् भन्ने थाहा पाएपछि अब हामीले चमेरा मार्न रोकेका छौं । चिउरीमा गेडा लाग्न पनि बढेको छ ।’ चेपाङले छोरीचेली घर पठाउँदा चिउरीको एउटा बिरुवा पनि दिएर पठाउने चलन बोटबिरुवा संरक्षण र समुदायको सुखका लागि भएको महत्त्व अहिले बल्ल सबैले बुझ्न थालेको उनले बताए । सिलिङेको जंगल चिउरीकै वन हो । ‘चिउरीका गेडाको घिउ हाम्रो भुटुन र उज्यालोको स्रोत त हो नै, पात र काठ पनि काम लाग्ने नै भयो,’ उनले भने, ‘समुदायलाई कुरा बुझाएपछि अहिले जोगाउनुपर्छ भन्नेमा एकमत छौं ।’ भूक्षय रोकथामका लागि पनि चिउरीकोरूखको भर रहेको उनले बताए ।

‘अरू वनस्पतिको फागुन–चैतमा सबै पात झरेर जंगल नै उराठ हुन्छ,’ डिभिजन वन हेटौंडाका सहायक वन अधिकृत अच्युत लामिछानेले भने, ‘तर चिउरीको पात साउन–भदौमा मात्र झर्छ ।’ हरियालीका लागि पनि चिउरीको बेग्लै महत्त्व रहेको उनले बताए । चिउरी फूलको रसपान गरेका मौरीको मह स्तरीय र स्वास्थ्यबर्द्धक मानिन्छ ।

त्यसैले सिलिङेमा धेरै अघिबाट मौरी चराउन ल्याउनेको भीड लाग्ने गरेको थियो । रस चुस्ने मौरीले पनि परागसेचनमा सघाउँछन् । तर कुरा नबुझेका कतिपयले मौरी ल्याउने गरेका कारण पनि चिउरीमा दाना नलागेको ठानेर बाहिरका किसानलाई आउन रोक्दै थिए । सिलिङे सामुदायिक वन समूहका सदस्य स्थानीय आफैं यतिबेला मौरीपालनका लागि कस्सिएका छन् ।

आधुनिक घारमा ६१ घरधुरीले मेलिफेरा जातको मौरीपालन गरेका छन् । विगतमा घरका खापा वा मुढेघारमा सेरेना जातका मौरी पाल्ने फाट्टफुट्ट थिए । ‘सिलिङेका चेपाङ र तामाङले विगतको निर्वाहमुखसी मौरीपालनको शैलीमा परिवर्तन गरेका छन्,’ राक्सिराङ गाउँपालिकाका कृषि शाखा प्रमुख रामेश्वर यादवले भने, ‘व्यावसायिक ढंगले मौरी पाल्दाको फाइदा बुझेका छन् ।’

चिउरीको फूललाई नै लक्षित गरेर गत वर्ष सिलिङेका बासिन्दाले ६ हजार १ सय १३ वटा मौरीघार राखेका थिए । यस क्षेत्रका बासिन्दाले मह बिक्री गरेर मात्रै गत वर्ष करिब डेढ करोड रुपैयाँ हाराहारी आम्दानी गाउँमा भित्र्याएको वन समूह अध्यक्ष चेपाङले बताए । ‘चिउरी जोगाए हुने फाइदा बुझेपछि रोपौं, संरक्षण गरौं भन्न पनि सजिलो भयो,’ उनले भने ।

चिउरीको महको माग व्यापक भएकाले बेच्न समस्या छैन । लोथर बजारका व्यापारी दिनेश चेपाङले किसानसँग मह प्रतिकेजी २ सयदेखि २ सय २५ रुपैयाँमा खरिद गरेर प्रतिकेजी २ सय ५० मा सजिलै बेच्छन् । सिलिङेका आइतेसिंह चेपाङले गत वर्ष १६ लाख रुपैयाँको मह बेचे । सिलिङेका बासिन्दा अहिले चिउरीका पाकेका गेडा संकलन गर्दै सुकाउन जुटेका छन् ।

दसैंअघि काठको परम्परागत चेपुवामा ती दाना पेलेर घिउ निकालिन्छ । त्यही घिउ तरकारीमा भुटुन हाल्ने गरेका छन् । ‘चेपाङहरूको भुटुन चिउरीको घिउ हो,’ वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘हामीसँग चिउररीका गेडा पेल्न आधुनिक प्रविधि छैन । जे जानेका छौं, त्यही उपयोगमा छ ।’ चिउरीका रूख संरक्षण गर्दा लिन सकिने लाभको हिसाबकिताब गत वर्षबाट चेपाङ समुदायले राम्ररी बुझेको स्थानीय माविका प्रधानाध्यापक तारा दवाडीले बताए । ‘समुदायले आम्दानी गर्न थालेपछिको लाभ विद्यालयले पनि पाएको छ,’ उनले भने, ‘चेपाङहरूले बालबच्चालाई स्कुल नियमित पठाउने गरेका छन् ।’

पुराना रूख जोगाउनु रआफ्नो भिरालो जमिनमा नयाँ बिरुवा रोप्नु भनेको चिउरीले दिने आम्दानीलाई बुझेका कारण भएको उनले बताए । ‘चेपाङ, चिउरी र चमेरो एक–अर्काका परिपूरक हुन् । एकको अभावमा अर्को संकटमा पर्छ,’ पूर्वसभासद गोविन्दराम चेपाङ भन्छन्, ‘हाम्रो जीवनशैलीको अभिन्न कुराको महत्त्व बुझ्न हामीलाई नै समय लाग्यो ।’

समुदायले चमेरो र चिउरीको संरक्षण गर्नुपर्छ भन्ने बुझेपछिको अवस्था सकारात्मक रहेको उनले बताए । काँकडामा चमेरो संरक्षण समिति गठन गरिएको छ । उक्त समितिले चमेरो मार्न दिँदैन । विगतमा जाल हानेर चमेरो मारेर खाने गर्थे । ‘एकैरातमा एक/एक थुन्से भरी चमेरो मार्ने गरिन्थ्यो,’ संरक्षण समिति अध्यक्ष मोतीराम चेपाङले भने, ‘अहिले एउटा पनि मार्न दिएका छैनौं । चमेरो जोगाउँदाको फाइदा बुझाउने गरेका छौं ।’

मौरीको चरन क्षेत्र जोगाउन र भूक्षयलाई रोक्न मकवानपुरमा मात्र नभई गत वर्ष मुलुकका विभिन्न जिल्लामा चिउरीका ५० हजार बिरुवा रोपिएको थियो । भण्डाराको मौरीपालन विकास कार्यालयले तयार पार्ने बिरुवा मकवानपुरलगायत विभिन्न जिल्लामा पुगेको प्रमुख शिव रिजालले बताए । बिरुवा मकवानपुरका विभिन्न भागसँगै दाङ, चितवन, रौतहट, सर्लाही, बाँके, भक्तपुर र रूपन्देही पुर्‍याइएको छ ।

विगतमा जिल्ला वन कार्यालयले चिउरीको बोट रहेको क्षेत्रका बसोबासीलाई पुर्जी दिने गरेको थियो । जमिनको मालपोत कार्यालयले लालपुर्जा दिन्थ्यो, त्यसरी नै वन कार्यालयले रूखको संख्यासहितको पुर्जा दिने गरेको थियो । ‘२०४६ सालपछि त्यसरी पुर्जा दिन बन्द भयो,’ वडाध्यक्ष चेपाङले भने, ‘सम्बन्धित निकायले चिउरीको बोटको लालपुर्जा दिने व्यवस्था गर्नुपर्‍यो ।’ रूखको लालपुर्जा दिएपछि अपनत्व हुने र चेपाङको संस्कारसँग जोडिएकालेचिउरीको संरक्षण पनि हुने उनले बताए ।

सिलिङेका अधिकांश चेपाङसँग चिउरीका रूखको पुर्जा छ । पुर्जाविहीन चिउरीको बोटबाट हुने लाभ चेपाङले समुदायमा मिलेर लिने गरेका छन् । बिहे गरेर जाने छोरीलाई चिउरीको बोट दिने चलन अझै छँदै छ । विवाह गरेको चौथो वर्षको दसैंमा टीका लगाउन आउँदा दाइजोस्वरूप चिउरीको बिरुवा दिने गरिएको छ । छोरीको घर नजिकै भए बोटै दिन्छन् ।

छोरीको घर पक्का भो भनेर चौथो वर्षमा मात्र चिउरीको बिरुवा दाइजो दिने गरेका छन् । ‘चिउरी हाम्रो जीवनसँग जोडिएको छ,’ पूर्वसभासद चेपाङले भने, ‘चिउरी र चमेरो मासियो भने चेपाङ समुदायको पनि वास्तविक अस्तित्व रहँदैन ।’ जनगणना २०६८ अनुसार ६८ हजार ३ सय ९९ जनसंख्या भएको चेपाङ समुदाय मकवानपुरमा मात्रै १९ हजार १ सय ५२ छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्