३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाढीले धान, कीराले मकै सखाप

सिन्धुली — सुनकोसी गाउँपालिका ५ नांगेडाँडाका किसान प्रेमबहादुर गिरी बारीमा बसेर टोलाइरहन्छन् । उमेरले ८० पुगेका उनी मकैबाली कीराले सखाप पारेपछि निराश भएका हुन् ।

खडेरीका कारण ढिलो लगाएको मकैबाली गोड्ने बेलामा कीराले बोट नै नास गरिदिएपछि वर्ष दिन खाने अन्न यसपालि घर भित्रिने छाँट उनले देखेका छैनन् ।

बारीमा दुःख गरेर लगाएको मकै गोड्नसमेत नपाई सबै कीराले नष्ट गरेको छ । ८ रोपनीमा लगाएको मकै कीराले सोत्तर बनाएको उनले बताए । ‘यतिखेर मकै गोड्ने समय हो, के गर्नु कीराले केही राखेन,’ उनले भने । मकैका सबै बोटको पातसमेत कीराले खाएको छ । ‘यस्तो कहिल्यै थाहा थिएन, कीरा यसपालिबाट लाग्यो,’ उनले भने, ‘कीरा हटाउन सकिएन । मकैको फेदैसमेत खाएको छ ।’

बारीबाट उब्जनी भएको मकै र बेंसीमा लगाएको खेतबाट उब्जनी भएको धानबाट गिरीको परिवारलाई वर्ष दिन मुस्किलले खान पुग्थ्यो । असार अन्तिमदेखि परेको अविरल वर्षापछि आएको बाढीले बेंसीमा लगाएको धानखेत पुरिदिएको छ । खोलामा आएको बाढीले धान खेत पुर्‍यो, बारीको मकै कीराले सखाप बनाएपछि उनलाई अनिकाल पर्ने डर छ । ‘खेतको धानमा बाढी लाग्यो, बारीको मकैमा कीरा, अब केले वर्षदिन धान्नु,’ उनले भने ।

नांगेडाँडाकै अर्का किसान रेवतीप्रसाद दाहाल घरीघरी मकैमा लागेको कीरा हटाउन सकिन्छ भनेर बारीमा छिरेर बोटलाई हल्लाइरहन्छन् । कीराले खाएर आधा पारिसकेको मकैको बोटमा लागेको कीरा हट्नु त परै जाओस् सबै बोटमा भेटिएपछि उनी दिक्क छन् । ‘एउटा, दुइटा कीरा भए पो हटाऊँ भन्नु, लाखौं लाख कीरा छन्, कसरी हटाउनु ?’ उनले भने, ‘खडेरीले गर्दा मकै छर्नै ढिलो भयो, अहिले आएर कीराले सखाप बनाएको छ ।’

मकैमा लागेको अमेरिकन फौजी कीरा भएको उनले सुनेका छन् । सुनकोसी गाउँपालिकाको अमारे, गौखर्क, चैनपुर, रामटार, बोहोरेटार, दुम्जा, खाल्टे, गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र र फिक्कल गाउँपालिकामा समेत अमेरिकन फौजी कीराले मकैबाली नष्ट गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाको टोली भर्खरै स्थलगत अध्ययन गरी फर्किएको छ । टोलीले मकैमा लागेको अमेरिकन फौजी किरा नै भएको यकिन गरेको स्थानीय सञ्चारकर्मी मीनकुमार दाहालले बताए । यो किराले मकैको गुवादेखि पातसम्म सबै खाने महाशाखाको टोलीले बताएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?