१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुम्ली स्याउ टिप्न भ्याइनभ्याई

एलपी देवकोटा

जुम्ला — पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । चन्दननाथ १० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिन्छिन् । उनीहरू दुवैको स्याउ बारीमा करिव १ सय ५० स्याउका बोट छन् । 

जुम्ली स्याउ टिप्न भ्याइनभ्याई

उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिन्छन् । टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैंचामै आएर खरिद गर्ने क्रम बढेको छ ।


स्याउ खरिद गर्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत स्थानका व्यापारी जुम्ला आएका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैचा खाली गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैंचा खाली हुन थालेका हुन् ।


यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले वताए । ‘भर्खर टिप्न सुरु भएको छ,’ उनले भने, ‘गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको हाम्रो अनुमान छ ।’


देवकोटाले स्याउको बजार वर्सेनि बढिरहेको बताइन् । ‘केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजारमा लैजानुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘यस वर्ष व्यापारी बगैंचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन् ।’ उनले बारीमा भएका सबै स्याउ बिक्री गरिसकेको बताइन् ।


८ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औं जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो । जुम्लाले ०६६ सालमा नेपाल अर्गानिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो । स्याउको बजार जुम्लामा भन्दा पनि जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारी बताउँछन् । जुम्लाको स्याउको माग काठमाडौंलगायत ठूला सहरमा बढी छ ।


स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटा बताउँछन् । ‘जिल्लामा स्याउ भण्डारको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन्,’ उनले भने, ‘केही किसानले आफैं स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन् ।’ उनका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो भाउ नपाएको उनको भनाइ छ । केन्द्रका अनुसार जुम्लामा ३ हजार १ सय हेक्टरमा स्याउ खेती गरिएकोमा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?