१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नगरपालिकाले भत्कायो इँटाभट्टा

नगेन्द्र अधिकारी

काभ्रे — आफूसँगको सम्झौता पालना नगरेको भन्दै नमोबुद्ध नगरपालिकाले ‘मापदण्डविपरीत’ सञ्चालित इँटा उद्योगमा डोजर चलाएको छ ।

नगरपालिकाले भत्कायो इँटाभट्टा

२०७५ पुस २८ गते जिल्ला समन्वय समितिको रोहवरमा असार मसान्तसम्म उद्योग हटाउने गरी गरेको सहमति अटेर गरेको भन्दै नगरपालिकाले भकुन्डे क्षेत्रमा सञ्चालित शंकर, विन्धवासिनी, भैरवकुण्ड, शिवशक्ति, जय शिवशक्ति, पञ्चकन्या, सत्यनारायण र फुलबारी इँटा उद्योगको चिम्नी भत्काएको हो ।


सरोकारवालाको रोहवरमा इँटा उद्योग व्यवसायीले ‘नमोबुद्ध नगरपालिका क्षेत्रभित्र सञ्चालित इँटा उद्योगहरूले यस क्षेत्रबाट २०७६ असार मसान्तभित्र उत्पादित इँटाहरू प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाई बन्द गर्ने र नगरपालिकासँग समन्वय गरी अन्य क्षेत्रहरूमा प्रचलित कानुन, वातावरणीय मापदण्ड र नवीनतम वातावरणमैत्री प्रविधिअनुरूप व्यवसाय सञ्चालन गर्ने र कुनै पनि वहाना नगरी प्रतिबद्धताबमोजिम इँटा उद्योग यस क्षेत्रबाट विस्थापन गर्ने’ प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार पुस २८ गते नगरपालिका र ८ वटै उद्योगका सञ्चालक प्रतिनिधिसँग करार सम्झौता भएको थियो ।


नगरप्रमुख टंकप्रसाद शर्माले समझदारीअनुसार दोस्रो पक्ष (व्यवसायी) ले हटाउन अटेर गरेकाले प्रथम पक्ष–नगरपालिका) ले सम्झौताअनुसार निर्णय कार्यान्वयन गराएको बताए । ‘आफैंले गरेको सम्झौता कार्यान्वयन गर्न उहाँहरूले अटेर गरेका कारण हामीले पहल गरेका हौं,’ नगरप्रमुख टंकप्रसाद (टीपी) शर्माले भने, ‘पटकपटक ताकेता गर्दा पनि उहाँहरूले नभत्काएपछि हामी नै भत्काउन बाध्य भयौं ।’ इँटा उद्योग व्यवसायी संघ, सम्बन्धित उद्योगलाई तीनपटक पत्र काटेर प्रतिबद्धता कार्यान्वयनका लागि ताकेता गरेको नगरले जनाएको छ । भदौ ५ गतेको कार्यपालिका बैठकले यसअघिका सम्झौताअनुसार निर्णय कार्यान्वयन गराउने निर्णय गरेको थियो ।


नमोबुद्ध नगरपालिकाले कोटेश्वरस्थित एभरेस्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टरमार्फत गरेको वायुको गुणस्तर अध्ययन प्रतिवेदनले ९७ प्रतिशत प्रदूषण इँटा भट्टाले, २ प्रतिशत सवारी साधनले र १ प्रतिशत अन्य कारणले भएको देखाएको छ । नमोबुद्ध वडा नं २ र ३ मा पर्ने सोती कोरिडोरको ५ सय मिटरको परिधिमा ५ वटा इँटा उद्योग छन् ।


विकल्प दिइएन : व्यवसायी

विकल्प नदिई उद्योगमा डोजर चलाएको भन्दै इँटा व्यवसायीहरूले विरोध जनाएका छन् । सहमतिपत्रमा विकल्प दिने विषय पनि भएको तर्क गर्दै सत्यनारायण ब्रिक इन्डस्ट्रिजका सञ्चालक लक्ष्मण महर्जनले नगरपालिकाले निरकुंशता प्रदर्शन गरेको आरोप लगाए ।


‘विकल्पसमेत नदिएर ७ दिनको अवधिमा हटाउन सूचना जारी भयो, पोलेका इँटा पनि बिक्री गर्न पाइएन,’ महर्जनले भने, ‘सहमतिपत्रमा विकल्प दिने भनिएको थियो तर त्यसो नगरी एकाएक भत्काउने काम भयो ।’ व्यवसायी र उद्योगीबीच भएको करारमा ‘प्रथम पक्ष (नगरपालिका) सँग समन्वय गरी अन्य क्षेत्रहरूमा प्रचलित कानुन, वातावरणीय मापदण्ड र नवीनतम वातावरणमैत्री प्रविधिअनुरूप व्यवसाय सञ्चालन गर्ने र कुनै पनि वहाना नगरी प्रतिबद्धताबमोजिम इँटा उद्योग यस क्षेत्रबाट विस्थापन गर्ने’ उल्लेख छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?