कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निर्माणाधीन सडकलाई मर्मत खर्च

रुकुम पूर्व — संघीय सरकारअन्तर्गतको राष्ट्रिय गाौरवको आयोजनाका लागि प्रदेश सरकारले मर्मतका लागि बजेट छुटयाएको छ । निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गमा प्रदेश ५ सरकारले चालु वर्षमै काम गर्ने गरी २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

भूमे गाउँपालिका र सिस्ने गाउँपालिकाको सीमाका रूपमा रहेको धौलापैरादेखि भूमे गाउँपालिका र बाग्लुङको सिमाना इरनेटासम्मको सडक मर्मत खर्च भनेर बजेट दिइएको छ । धौलापैरा–खाबाङबगर–लुकुम–इरनेटा सडक मर्मत शीर्षकमा बजेट छ ।


मर्मतका लागि बजेट दिइएको सडकमा स्तरोन्नतिको काम भइरहेको छ । सडकको धेरै खण्डको काम सकिएको छ भने केही खण्डमा स्तरोन्नतिको काम चालु छ । काम हुँदै गरेको सडकमा मर्मत खर्च शीर्षकमा बजेट दिइएपछि स्थानीय पनि दंग छन् । ‘यो ठूलो आयोजनाले बनाउँदै गरेको सडक हो,’ स्थानीय बलबहादुर बुढाले भने, ‘सडक स्तरोन्नतिको काम चलिरहेको छ तर मर्मत भनेर बजेट दिइनु अच्चमै भयो ।’ उनले बजेट नपाएर समस्या हुने ठाउँ हुँदाहुँदै बन्दै गरेको सडकमा बजेट विनियोजन गर्नु दुःखद भएको बताए ।


सडकमा कसैले माग नगरे पनि बजेट दिइएको स्थानीयको दाबी छ । ‘कसैको माग छैन, माग नै भए पनि बन्दै गरेको सडकमा मर्मतको बजेट दिइनु भनेको गलत फाइदा उठाउनुजस्तै हो,’ अर्का स्थानीय चक्रबहादुर बुढा मगरले भने, ‘के उद्देश्यले बन्दै गरेको सडकमा प्रदेशले बजेट दिएको हो भन्ने कुरा महत्त्वपूर्ण हो ।’


मध्यपहाडी लोकमार्गको उक्त क्षेत्रको तीन खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । भूमे गाउँपालिका–१ को तुकुवाङखोलादेखि पूर्व बाग्लुङ जिल्लाको सीमासम्मको १३ किलोमिटर सडक खण्डमा केहीबाहेक सबै सडक कालोपत्रे भइसकेको छ ।


तुकुवाङखोलादेखि पश्चिमतर्फको किमुबोटसम्मको १६ किलोमिटर खण्डमा पनि कालोपत्रेको काम भइसकेको छ । किमुबोटदेखि धौलापैरासम्मको अनुमानित १० किलोमिटर खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । यही सडकमा प्रदेश सरकारले बजेट हालेको हो । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बन्दै गरेको सडकमा मर्मतको बजेट परेको बताए । ‘बन्दै गरेको सडक मर्मत हुने कुरा भएन,’ उनले भने, ‘अब उक्त बजेटले रुकुमगाड खोलामा कजवे बनाउन सुझाव दिएको छु ।’


प्रदेशसभा सदस्य तेजबहादुर ओलीले सडक मर्मत शीर्षकमा बजेट आए पनि उक्त बजेटले रुकुमगाड खोलामा अस्थायी पुल बनाइने दाबी गरे । मध्यपहाडी लोकमार्ग आयोजनाले उक्त खोलामा पुल बनाइरहेको छ । पुल नबन्दासम्म सर्वसाधारणको सहजताका लागि कजवे बनाउने ओलीले बताए ।


‘मध्यपहाडी लोकमार्गले उक्त खोलामा पक्की पुल बनाइसकेको छैन,’ उनले भने, ‘त्यसैले सर्वसाधारणको सहजताका लागि उक्त शीर्षकको बजेटबाट अस्थायी कजवे बनाउने हो ।’ दुई वर्षअघि भूमे गाउँपालिकाले बनाएको कजवे चालु वर्षामा बगेको थियो । खोलामा पुल नहुँदा भूमे, पुथाउत्तरगंगा गाउँपालिकाका साथै रोल्पाको थबाङ तथा बाग्लुङ आउजाउ गर्ने यात्रुलाई समस्या छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?