कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा साढे ७२ हजार

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । तीन दिन स्थिर रहेको बजार आइतबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको हो । शुक्रबार नेपाली बजारमा प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा साढे ७२ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन १४ सय ९५ अमेरिकी डलरबाट बढेर १५ सय २७.२० डलर पुगेको छ ।


‘अन्तर्राष्ट्रिय बजारमा एकैदिन ३२ डलरले वृद्धि हुँदा यहा पनि असर गर्‍यो,’ उनले भने । महासंघका अनुसार मूल्य बढ्नुमा विगतकै कारण हुन् । मुख्य कारण अमेरिका चीनबीचको व्यापार युद्ध हो । व्यापार युद्धकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।


त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा भन्सार वृद्धि गरेको महासंघको दाबी छ । ‘जसले गर्दा सुनको मूल्य फेरि बढ्न थालेको हो,’ उनले भने । फेडरल रिजर्भ बैंक अफ अमेरिकाले घटाएको ब्याजदर, सेयर बजार, युरोपियन युनियनको शक्तिशाली देश जर्मनमा देखिएको आर्थिक संकट पनि मूल्य बढ्नुको कारक हुन् । अमेरिका, इरान, उत्तर कोरियाको कटु सम्बन्ध, जम्बु कश्मीरको विवाद र हङकङमा देखिएको समस्याले पनि मूल्य बढ्नमा मद्दत पुगेको महासंघको दाबी छ ।


शाक्यका अनुसार सुनलाई सुरक्षित लगानीका रूपमा हेरिन्छ । अहिले विश्वका विभिन्न मुलुकमा आर्थिक युद्ध, आर्थिक संकट र आन्दोलनसमेत भइरहेको छ । आन्दोलनकै कारण व्यवसायीहरू सुरक्षित लगानीको खोजीमा छन् । लगानीकर्ताहरूले सुनमा लगानी गर्दा मूल्य अकासिएको हो । व्यवसायीका अनुसार विगतमा सबैभन्दा बढी भारतमा सुन खपत हुन्थ्यो । पछिल्ला वर्षहरूमा भारतलाई उछिन्दै अहिले चीन अगाडि देखिएको छ । ‘सबैभन्दा बढी चीनमै खपत र सञ्चय हुन्छ । चीनमै आर्थिक विवाद छ,’ शाक्यले भने, ‘लगानीकर्ताहरू सुनमा आकर्षित हुँदा बजारलाई प्रभावित पार्‍यो ।’

प्रकाशित : भाद्र ८, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?