१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

महिला अगुवाइमा माछापालन

डम्बरसिं राई

खोटाङ — हरियाली गाउँ । घरैपिच्छे माछा पोखरी । पोखरीमा खेलिरहेको माछा देख्दा कम्ता रमाइलो लाग्दैन । यो दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरूको पौरख हो । उनीहरूले माछापालन गरेर आशलाग्दो आम्दानी 
गरिरहेका छन् ।

घरैपिच्छे माछापालन गरेका छन् । स्थानीय रुपाकोट सचेतना केन्द्र स्थापना गरी आयआर्जनका लागि माछापालन सुरु गरेको केन्द्रकी सहसचिव अन्जना राईले बताइन् ।


उनका अनुसार केन्द्रमा आबद्ध १८ जनाले घरैपिच्छे माछापालन गरेर मनग्गे आम्दानी गरिरहेका हुन् । माछा प्रतिकेजी सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । घरैमा माछा किन्न ग्राहक आउने गरेको राईले बताइन् । उनीहरूले कमनकार्ब, ग्रासकार्बलगायत जातका माछापालन गरेको समूहकी सदस्य सजना राईले सुनाइन् । उनका अनुसार महिलाहरूको सक्रियतामै पोखरी खनिएका हुन् ।


महिलाहरूले पालैपालो सबै पोखरी खने । उनीहरूले पोखरी निर्माणपछि माछापालनसम्बन्धी सीपसमेत सिकेको सदस्य राईले बताइन् । ‘अहिले राम्रै आम्दानी भइरहेको छ,’ राईले भनिन्, ‘अझ यसलाई थप व्यवस्थित गर्ने योजना छ ।’


माछापालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तीन लाख रुपैयाँ उपलब्ध गराएको सचेतना केन्द्रकी अध्यक्ष टीकाकुमारी राईले बताइन् । उब्रिएको रकम स्थानीय महिलाहरूलाई जीविकोपार्जनका लागि लगानी गर्ने गरेको छ । उक्त रकम एक प्रतिशतका दरले लगानी गर्ने गरेको समूहकी अध्यक्ष राईले बताइन् । माछापालनलगायत उद्यमशीलताका लागि नगरपालिकालगायत निकायले सहयोग गर्नुपर्ने राईको भनाइ छ ।


महिलाहरूको सक्रियतामा माछापालनलगायतका अन्य उद्यमशीलता गरेको देखेर धेरैले तारिफ गरेको स्थानीय सप्तमणि राईले बताए । महिलाहरूको उद्यमशीलता विकास र आत्मनिर्भरका लागि नगरपालिकालगायतका सम्बन्धित निकायले सहयोग गर्नुपर्ने राईको भनाइ छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने योजना भएकाले उनीहरूको मागको आधारमा सहयोग गर्ने बताए ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?