१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अन्न फल्ने जग्गामा स्याउबारी

सडक पुगेपछि गाउँगाउँमा स्याउ खेती 
स्याउले आत्मनिर्भर बन्दै दुर्गमका किसान
राजबहादुर शाही

मुगु — छायाँनाथरारा नगरपालिकास्थित ताल्चाका हरि रोकायाले कोदो, जौ र फापर फल्ने जग्गालाई स्याउबारीमा परिणत गरेका छन् । परम्परागत अन्नबाली लगाउँदा ३ महिना पनि खान नपुग्ने उनको परिवारले अहिले स्याउबाट वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ ।

अन्न फल्ने जग्गामा स्याउबारी

उनकै छिमेकी कर्णबहादुर भामले पनि अन्नबाली लगाउने जग्गामा ३ सय स्याउका बोट रोपे । स्थानीय बजारमै स्याउ बिक्री गरेर उनले वार्षिक ४ लाख रुपैयाँ कमाइरहेका छन् ।

रोकाया र भाम मात्र होइन, यहाँका अधिकांश कृषकले अन्नबाली लगाउने जग्गालाई धमाधम स्याउ बगैंचा बनाइरहेका छन् । स्याउ खेतीबाट उनीहरूको घर खर्च मात्र टरेको छैन, घरघडेरीसमेत जोड्न थालेका छन् । गाउँगाउँमा सडक सुविधा पुगेपछि दुर्गम क्षेत्रमा समेत स्याउ खेती गर्ने क्रम बढेको हो । स्याउ खरिद गर्न व्यापारी गाउँमै पुग्ने र बर्सेनि भाउ बढदै जान थालेपछि किसान स्याउ खेतीमा हौसिएका छन् ।

रोकायाको बारीमा ४५० स्याउका बोट छन् । लटरम्म फलेका स्याउका बोट देख्दा उनी दंग छन् । ‘यस वर्ष पोहरभन्दा राम्रो स्याउ फलेको छ,’ उनले भने, ‘आम्दानी पनि बढ्ने आशा छ ।’ उनले बर्सेनि ३० क्विन्टल स्याउ फलाउँदै आइरहेको बताए ।

यातायात सुविधा बढेसँगै जिल्लाबाट उत्पादित स्याउ नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत सहरमा जान थालेको छ । मइतु, ताल्चा, पिना, झयारी, कोटिला, तलितुमलगायत गाउँमा स्याउखेतीको लहरै चलेको छ । सडक आसपासका क्षेत्रमा स्याउ बगैंचा भरिन थालेको स्थानीय बाँचे महताराले बताए ।

‘अनुकूल वर्षा र हिमपात हुन थालेपछि स्याउको उत्पादन बर्सेनि बढिरहेको छ,’ उनले भने, ‘बगैंचासम्मै गाडी पुग्न थालेपछि अन्नबाली छोडेर स्याउखेतीमा आकर्षित भएका हौं ।’ उनले माग बढदै गएपछि सदरमुकाम वरपरको स्याउ मंसिरमै बेचेर सकिने गरेको जनाए ।

छायाँनाथरारा नगरपालिका १४ स्थित बाम, फोइपाट, दख्यार्लबाडा, बामगाउँलगायत क्षेत्रमा घरघरै स्याउ बारी छन् । स्याउबाट स्थानीय क्रमशः आत्मनिर्भर बनेका उक्त वडाका वडाध्यक्ष नन्दलाल बडुवालले बताए । सिँचाइ असुविधा रहेका यहाँका अधिकांश बस्तीमा अन्नबाली लगाउँदा खडेरी, असिना, रोग किराको प्रकोपको डर हुने उनको भनाइ छ । ‘त्यसैले किसानले अन्नबाली छोडेर स्याउखेतीमै जोड दिएका छन्,’ उनले भने, ‘स्याउखेतीले युवालाई बिदेसिनबाट रोकेको छ, किसानको जीवनस्तर पनि उकासिएको छ ।’ अधिकांश कृषकले स्याउखेतीबाटै भएको आम्दानीले सदरमुकाममा घरघडेरी जोडेका छन् ।

स्याउबारीमै आलु, सिमीलगायत तरकारी लगाउन सकिने भएकाले दोहोरो फाइदा हुने गरेको कृषकको भनाइ छ । गमगढी, बाम, चंखेली हुँदै हुम्लाको दार्म जोड्ने ग्रामीण सडक निर्माण भएपछि स्याउखेतीमा किसानको आकर्षण बढेको हो । अहिले सडकका आसपासका क्षेत्रमा स्याउ बगैंचा बनाउने क्रम बढेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सुकिराम नेपालीले छायाँनाथरारा नगरपालिकाका १४ वटै वडामा स्याउ खेती फस्टाइरहेको बताए । उनका अनुसार सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाको लेकाली बस्तीमा पनि स्याउ खेती हुने गरेको छ । केन्द्रको तथ्यांकअनुसार जिल्लाममा बर्षेनि ३ हजार ५ सय टनसम्म स्याउ उत्पादन हुने गरेको छ ।

‘अन्नबालीभन्दा कम दुःख हुने भएपछि स्याउखेतीमा किसानको आकर्षण बढिरेहको हो,’ उनले भने, ‘पढेलेखा युवासमेत स्याउ खेतीमै रमाउन थालेका छन्, गाउँमै आत्मनिर्भर बनेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको छ ।’ उनले स्याउखेतीबाटै जिल्लाका किसान सम्पन्न बन्न थालेको बताए ।

उनका अनुसार व्यावसायिक स्याउ खेतीमा लागेका किसानको आम्दानी कम्तीमा वार्षिक २ लाख रुपैयाँ छ । ग्रामीण क्षेत्रका कृषकको सजिलै घरखर्च टार्न र छोराछोरीलाई राम्रो शिक्षा दिन स्याउखेतीले सघाउ पुर्‍याइरहेको उनी बताउँछन् ।

प्रकाशित : भाद्र ८, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?