अन्न फल्ने जग्गामा स्याउबारी

सडक पुगेपछि गाउँगाउँमा स्याउ खेती 
स्याउले आत्मनिर्भर बन्दै दुर्गमका किसान
राजबहादुर शाही

मुगु — छायाँनाथरारा नगरपालिकास्थित ताल्चाका हरि रोकायाले कोदो, जौ र फापर फल्ने जग्गालाई स्याउबारीमा परिणत गरेका छन् । परम्परागत अन्नबाली लगाउँदा ३ महिना पनि खान नपुग्ने उनको परिवारले अहिले स्याउबाट वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ ।

उनकै छिमेकी कर्णबहादुर भामले पनि अन्नबाली लगाउने जग्गामा ३ सय स्याउका बोट रोपे । स्थानीय बजारमै स्याउ बिक्री गरेर उनले वार्षिक ४ लाख रुपैयाँ कमाइरहेका छन् ।

रोकाया र भाम मात्र होइन, यहाँका अधिकांश कृषकले अन्नबाली लगाउने जग्गालाई धमाधम स्याउ बगैंचा बनाइरहेका छन् । स्याउ खेतीबाट उनीहरूको घर खर्च मात्र टरेको छैन, घरघडेरीसमेत जोड्न थालेका छन् । गाउँगाउँमा सडक सुविधा पुगेपछि दुर्गम क्षेत्रमा समेत स्याउ खेती गर्ने क्रम बढेको हो । स्याउ खरिद गर्न व्यापारी गाउँमै पुग्ने र बर्सेनि भाउ बढदै जान थालेपछि किसान स्याउ खेतीमा हौसिएका छन् ।

रोकायाको बारीमा ४५० स्याउका बोट छन् । लटरम्म फलेका स्याउका बोट देख्दा उनी दंग छन् । ‘यस वर्ष पोहरभन्दा राम्रो स्याउ फलेको छ,’ उनले भने, ‘आम्दानी पनि बढ्ने आशा छ ।’ उनले बर्सेनि ३० क्विन्टल स्याउ फलाउँदै आइरहेको बताए ।

यातायात सुविधा बढेसँगै जिल्लाबाट उत्पादित स्याउ नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत सहरमा जान थालेको छ । मइतु, ताल्चा, पिना, झयारी, कोटिला, तलितुमलगायत गाउँमा स्याउखेतीको लहरै चलेको छ । सडक आसपासका क्षेत्रमा स्याउ बगैंचा भरिन थालेको स्थानीय बाँचे महताराले बताए ।

‘अनुकूल वर्षा र हिमपात हुन थालेपछि स्याउको उत्पादन बर्सेनि बढिरहेको छ,’ उनले भने, ‘बगैंचासम्मै गाडी पुग्न थालेपछि अन्नबाली छोडेर स्याउखेतीमा आकर्षित भएका हौं ।’ उनले माग बढदै गएपछि सदरमुकाम वरपरको स्याउ मंसिरमै बेचेर सकिने गरेको जनाए ।

छायाँनाथरारा नगरपालिका १४ स्थित बाम, फोइपाट, दख्यार्लबाडा, बामगाउँलगायत क्षेत्रमा घरघरै स्याउ बारी छन् । स्याउबाट स्थानीय क्रमशः आत्मनिर्भर बनेका उक्त वडाका वडाध्यक्ष नन्दलाल बडुवालले बताए । सिँचाइ असुविधा रहेका यहाँका अधिकांश बस्तीमा अन्नबाली लगाउँदा खडेरी, असिना, रोग किराको प्रकोपको डर हुने उनको भनाइ छ । ‘त्यसैले किसानले अन्नबाली छोडेर स्याउखेतीमै जोड दिएका छन्,’ उनले भने, ‘स्याउखेतीले युवालाई बिदेसिनबाट रोकेको छ, किसानको जीवनस्तर पनि उकासिएको छ ।’ अधिकांश कृषकले स्याउखेतीबाटै भएको आम्दानीले सदरमुकाममा घरघडेरीजोडेका छन् ।

स्याउबारीमै आलु, सिमीलगायत तरकारी लगाउन सकिने भएकाले दोहोरो फाइदा हुने गरेको कृषकको भनाइ छ । गमगढी, बाम, चंखेली हुँदै हुम्लाको दार्म जोड्ने ग्रामीण सडक निर्माण भएपछि स्याउखेतीमा किसानको आकर्षण बढेको हो । अहिले सडकका आसपासका क्षेत्रमा स्याउ बगैंचा बनाउने क्रम बढेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सुकिराम नेपालीले छायाँनाथरारा नगरपालिकाका १४ वटै वडामा स्याउ खेती फस्टाइरहेको बताए । उनका अनुसार सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाको लेकाली बस्तीमा पनि स्याउ खेती हुने गरेको छ । केन्द्रको तथ्यांकअनुसार जिल्लाममा बर्षेनि ३ हजार ५ सय टनसम्म स्याउ उत्पादन हुने गरेको छ ।

‘अन्नबालीभन्दा कम दुःख हुने भएपछि स्याउखेतीमा किसानको आकर्षण बढिरेहको हो,’ उनले भने, ‘पढेलेखा युवासमेत स्याउ खेतीमै रमाउन थालेका छन्, गाउँमै आत्मनिर्भर बनेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको छ ।’ उनले स्याउखेतीबाटै जिल्लाका किसान सम्पन्न बन्न थालेको बताए ।

उनका अनुसार व्यावसायिक स्याउ खेतीमा लागेका किसानको आम्दानी कम्तीमा वार्षिक २ लाख रुपैयाँ छ । ग्रामीण क्षेत्रका कृषकको सजिलै घरखर्च टार्न र छोराछोरीलाई राम्रो शिक्षा दिन स्याउखेतीले सघाउ पुर्‍याइरहेको उनी बताउँछन् ।

प्रकाशित : भाद्र ८, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

माोबाइल बैंकिङमा आकर्षण : एक वर्षमा साढे ३२ लाख नयाँ ग्राहक

यज्ञ बञ्जाडे

काठमाडौँ — गएको एक वर्षमा मुलुकभर थप साढे ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । यो करिब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए ।



०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको जनाइएको छ ।

यो बीचमा बैंक तथा वित्तीय संस्थाका थुप्रै शाखा विस्तार भएका छन् । शाखा विस्तारले नयाँ व्यक्तिलाई बैंकिङ प्रणालीभित्र ल्याएको छ । यसकारण सो अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेको जानकारहरू बताउँछन् । सजिलो, छिटो र आफूलाई पायक पर्ने स्थानबाटै कारोबार गर्न सकिने भएकाले मोबाइल बैंकिङका प्रयोगकर्ता उच्च दरमा बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । बैंक तथा वित्तीय संस्थामा आधुनिक बैंकिङ सुविधा बढेसँगै गैरबैंकिङ संस्थाले पनि भुक्तानी प्रणालीको अनुमति पाएपछि मोबाइल बैंकिङका ग्राहक तीव्र रूपले बढेको उनको भनाइ छ ।

‘यो अझै पुगेको छैन, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई अझै व्यापक बनाउनु छ, यसका लागि विभिन्न प्रोत्साहन मुलक नीतिगत व्यवस्था गर्दै छौं ।’ मोबाइल बैंकिङ विस्तारले राष्ट्र बैंकलाई नोट छपाइ, भण्डारण, यातायातलगायत विभिन्न खर्च तथा बैंक तथा वित्तीय संस्थाको नोट व्यवस्थापन खर्च कम हुने प्रवक्ता निरौलाको दाबी छ । ‘अब सबै पसलमार्फत वित्तीय कारोबारमा संलग्न प्रयोकर्ता र सेवा प्रदायक दुवैलाई मोबाइल र इन्टरनेट बैंकिङको सञ्जालमा जोड्नुपर्छ,’उनले भने ।

सरकारको नगदरहित कारोबार नीतिलाई प्रोत्साहन गर्न पनि मोबाइल र इन्टरनेट बैंकिङलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने विज्ञहरू बताउँछन् । यसका लागि नियामक निकायले आफ्नो नियामकीय र सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्छ । सरकारले र राष्ट्र बैंकले पनि सेवा प्रदायक र प्रयोगकर्तालाई विशेष खालको सुविधा प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ ।

पछिल्ला वर्षमा सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने नीति अवलम्बन गरेको छ । जसअनुसार गत जेठसम्म ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । ०७५ असारमा ६ सय ३१ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका थिए ।

गएको एक वर्षमा मुलुकभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ५ सय ७० पुगेको छ । जसमध्ये वाणिज्य बैंकको ३ हजार ५ सय ३९, विकास बैंकको १ हजार २ सय ५०, वित्त कम्पनीको २ सय ५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ५ सय ७० शाखा खुलेका छन् । ०७५ जेठसम्म बैंक तथा वित्तीय संस्थाको ६ हजार ४ सय १४ शाखा सञ्चालनमा थिए ।

०७६ जेठसम्म बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३ हजार ४ सय ११ जनाले वित्तीय सेवा लिइरहेका छन् । ०७५ जेठसम्म प्रतिशाखा सेवा लिने नेपाली ४ हजार ४ सय ९३ थियो ।

सरकारले सबै नेपालीको बैंक खाता अभियान पनि सञ्चालन गरेको छ । सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकका अनुसार ०७६ वैशाखसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपखाता संख्या २ करोड ७३ लाख छ । सोही अवधिमा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ ।

पछिल्लो १२ महिनामा मोबाइल बैंकिङका ग्राहक करिब दोब्बर भएसके पनि इन्टरनेट बैंकिङका ग्राहकको वृद्धिदर उल्लेख छैन । ‘०७५ चैतसम्म एटीएम संख्या ३ हजार १ सय ८८ छ । त्यसैगरी मोबाइल बैंकिङका ग्राहकहरूको संख्या ८३ लाख, इन्टरनेट बैंकिङका ग्राहकसंख्या ९ लाख १७ हजार, जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ८ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख २३ हजार पुगेको छ,’राष्ट्र बैंकको मासिक तथ्यांकमाउल्लेख छ ।

प्रकाशित : भाद्र ८, २०७६ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्