कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जलविद्युत्‌को सेयरमा आकर्षण

काठमाडौँ — यो साता सेयर बजारमा १ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साताको भन्दा कारोबार रकम करिब साढे १३ प्रतिशतले कम हो । साताको कुल कारोबारमध्ये जलविद्युत् समूहका कम्पनीको मात्र १९ करोड ४० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कुल साप्ताहिक कारोबारको १२.५५ प्रतिशत हो । 

जलविद्युत्‌को सेयरमा आकर्षण

यो साता जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्नुमा त्यस्तो विशेष कारण छैन । केही जलविद्युत् कम्पनीको लाभांश वितरणको बेला आएको छ । यसकारण लगानीकर्ता ती कम्पनी खरिदमा उत्साहित देखिएका छन् । साप्ताहिक कारोबारमा जलविद्युत् समूहको बजार हिस्सा बढ्नुले यो पुष्टि हुन्छ ।


गत जेठसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २१३ कम्पनी सूचीकृत छन् । तीमध्ये जलविद्युत् समूहका मात्र ३२ कम्पनी छन् । पछिल्ला दिनमा जलविद्युत् कम्पनी सूचीकृत हुने क्रम तीव्र छ । कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा बढेसँगै बैंकिङ र बिमा समूहको बजार अंश केही घटेको छ ।


साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा करिब साढे ४५ प्रतिशत छ । सामान्य अवस्थामा साप्ताहिक कारोबारमा यो समूहको हिस्सा करिब ५० देखि ५२ प्रतिशतसम्म रहँदै आएको थियो । करिब एक महिनाअघि बजारमा बैकिङ समूहको कारोबार हिस्सा बढेर ६५ प्रतिशत माथि पुगेको थियो । त्यसपछि बैंकिङ समूहको हिस्सा बिस्तारै कम हुँदै गयो ।


यही क्रममा यो साता साढे ४५ प्रतिशतमा झरेको हो । विगतका सातामा बैंकिङपछि धेरै हिस्सा ओगटदै आएको बिमा समूह यो साता तेस्रो स्थानमा परेको छ ।


यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा करिब करिब ७ प्रतिशत मात्र छ । यस्तै साप्ताहिक कारोबारमा विकास बैंक समूहको हिस्सा ९.१४ प्रतिशत र लघुवित्त वित्तीय संस्थाको करिब ८ प्रतिशत छ ।


सेयर कारोबारमापक नेप्से परिसूचक यो साता करिब ११ अंकले घट्यो । साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से करिब १ अंकले मात्र घटेको देखिन्छ । आइतबार १ हजार २ सय १४.८३ अंकमा रहेको नेप्से बिहीबार १ हजार २ सय १३.०६ विन्दुमा रहेको नेप्सेको तथ्यांक छ ।


साताको कारोबारमा ट्रेडिङबाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । तीमध्ये पनि बिमा, जलविद्युत्, होटललगायत समूहका लगानीकर्ताको सम्पत्ति धेरैले घट्यो । व्यापार समूहका लगानीकर्ताको सम्पत्ति करिब ८ अंकले बढेको नेप्सेको तथ्यांक छ ।

यो साता सेयर बजारमा ४६ लाख २० हजार कित्ता सेयर सूचीकृत भएका छन् । जसमध्ये सबैको लघुवित्त वित्तीय संस्थाको १६ लाख ५० हजार कित्ता आईपीओ र गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।


यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?