पर्यटकले भरिए होमस्टे

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बारबर्दिया नगरपालिकाका पर्यटकीय होमस्टे अहिले भरिभराउ छन् । यहाँका पर्यटकीयस्थल सतखलुवा ताल, डल्ला, जानकीनगर र रम्मापुर आउने पर्यटकको संख्या बढेपछि होमस्टे भरिएका हुन् । 

पर्यटकले भरिए होमस्टे

प्राकृतिक दृष्टिले मनमोहक सतखलुवा ताल हेर्न दैनिक ५० भन्दा बढी पर्यटक आउने गर्छन् । चार वर्षदेखि स्थानीय युवा ताल, वन र वन्यजन्तुको संरक्षणमा लागेपछि पर्यटक पनि बढेका हुन् । यहाँ आउने पर्यटकलाई कुनै प्रचारप्रसार नै गर्नु पर्दैन ।


स्थानीय शिक्षक ललित सापकोटाले पर्यटक आएर बस्ने ठाउँ नभएपछि गाउँलेको सक्रियतामा तीन वर्षअघि यहाँ होमस्टे सञ्चालन गरेको बताए । शुक्रबार र शनिबार धेरै पर्यटकको भीड लाग्छ । बिदाका दिन वनभोज खाने, तालमा डुंगा विहार गर्ने र राति बास बस्नेको संख्या बढ्दै गएको छ ।


प्राकृतिक बरदान सतखलुवा ताल र जंगली जनावर अवलोकन गर्न आन्तरिक पर्यटकको आवगमन बढ्दै गएपछि १० वटा होमस्टे सञ्चालनमा छन् । सतखलुवा ताल समितिका अध्यक्ष सुनिल चापागाईंले पर्यटक आगमन बढेपछि थप होमस्टे सञ्चालन गर्न स्थानीय अग्रसर भएको बताए ।


यहाँ पुग्ने पर्यटकलाई होमस्टे सञ्चालकले तालबाटै पाहुनाका रूपमा स्वागत गर्छन् । दुई वर्षदेखि सञ्चालित होमस्टेमा पहाड र थारू समुदायले आफ्नै परम्पराअनुसार पाहुनाको स्वागत गर्छन् । त्यसले आत्मीयता बढेको र पर्यटक पनि वृद्धि गरेको शिक्षक सापकोटाले बताए । ‘आतिथ्यताले पनि पर्यटक वृद्धिमा सहयोग पुग्छ,’ उनले भने, ‘गाउँ प्रवेशसँगै सफा र चिटिक्क परेको मनोरम दृश्यले पनि पर्यटकलाई लोभ्याउँछ ।’ होमस्टेमा राति बासका लागि हुड्के नाच, भजन कीर्तनसँगै हुरदंगवा, लठवालगायतका नाचसहित सांस्कृतिक कार्यक्रम गरिन्छ ।


खासै प्रचार नगरिए पनि सतखलुवा पर्यटकीय केन्द्रमा स्वस्फुर्त रूपमा पाहुना आउने गरेको होमस्टे सञ्चालक फत्तु थारूले बताए । करिब ६० बिघा क्षेत्रफलमा फैलिएको र सातवटा खोला मिसिएर बनेको तालमा बाघ, चित्तललगायतका जंगली जनावर पनि देखिन्छन् । तालको मध्यभागमा नागदेवता र कालिका मन्दिर छ ।


थारू संस्कृति र धार्मिक स्थल मानिने तालमा माछा, गोही, अजिंगर देखिन्छन् । ताल संरक्षण भएपछि निकुञ्जबाट निस्कने जनावरको चोरी सिकार नियन्त्रणमा आएको छ । पर्यटकलाई आक्रमण गरेकाले एक दशकअघि दुई बाघलाई विष खुवाएर मारिएको बारबर्दिया–९ का वडाध्यक्ष फट्टु थारूले बताए । ‘अहिले बाघलगायतका जनावरबाट पूर्ण सुरक्षा छ,’ उनले भने, ‘युवाले दिनहुँ वन्यजन्तुको निगरानी र गस्ती गर्छन् ।’


सुरु चरणमा ०७३ फागुनबाट स्थानीयको सक्रियतामा सात घरमा होमस्टे सञ्चालनमा आएको थियो । सतखलुवा सामुदायिक वनका अध्यक्ष शिवप्रसाद अधिकारीले आन्तरिक पर्यटकले अहिले होमस्टे भरिभराउ हुने गरेको बताए । ‘विदेशी पर्यटक प्याकेज कार्यक्रमअन्तर्गत आउने गरेका छन्,’ उनले भने, ‘कैलाली, कञ्चनपुर, बाँके र सुर्खेतका पर्यटक बढी आउने गरेका छन् ।’


पर्यटकीय केन्द्रका रूपमा विकसित गर्न नगरपरिषद्ले चालु आवमा १८ लाख बजेट विनियोजन गरेको नगरप्रमुख दुर्गाबहादुर चौधरीले बताए । ताल संरक्षणका लागि पक्की वाल, बोरिङ, सडक स्तरोन्नति, सोलार बत्ती र टेलिफोन टावरको काम चालु आवमै गरिने उनले बताए । ‘सतखलुवालाई बारबर्दिया नगरको पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्ने योजना छ,’ उनले भने, ‘पूर्वपश्चिम राजमार्गको बैदी चोकदेखि तीन किमि उत्तरमा रहेको सतखलुवा मनोरम छ ।’


यातायातको सुविधा भएको यस पर्यटकीय क्षेत्रमा बर्दिया निकुञ्ज अवलोकन गर्न आउने पर्यटकलाई यहाँको विशेषताबारे जानकारी गराउन आवश्यक भएको स्थानीय बताउँछन् । होमस्टेका लागि जियोलोजिकल सोसाइटी अफ लन्डनको नेपालस्थित कार्यालयले प्रसारप्रसार गर्ने र तालिम दिने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जसँगको सहकार्यमा होमस्टे सञ्चालनका लागि तालिम, कम ब्याजमा समूहमार्फत ऋण सहयोग, घुम्टी कोष, होर्डिङबोर्ड र सडक ग्राभेलका काम भएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको डल्ला होम स्टेमा आफ्नै थारू संस्कृतिको पहिचानले बर्दिया निकुञ्ज अवलोकन गर्न आउने पर्यटक होमस्टेमा आउने गरेको अध्यक्ष पर्शुराम चौधरीले बताए । शिव सामुदायिक वनमार्फत सञ्चालित डल्लाका होमस्टेमा सखिया र लट्ठी नाच देखाएर पर्यटकलाई लोभाउने काम गरिन्छ । एक साताको प्याकेजमा निकुञ्ज अवलोकनमा आएका इजराइली पर्यटक न्यातु नेहुले मनोरम दृश्य र थारूको आत्मीय स्वागतले आफूलाई आकर्षिक गरेको बताए ।


शिव सामुदायिक वनका अध्यक्ष मंगल थारूले होमस्टेमा स्वदेशी तथा विदेशी गरी दैनिक ३० बढी पाहुना बास बस्ने गरेको बताए । ‘यहाँ पर्यटकले सहज ढंगले गैंडा हेर्न सक्छन्,’ उनले भने, ‘त्यसले पनि पर्यटकको ध्यान तानेको छ ।’ बेलायती राजकुमार ह्यारी, नेपाली चलचित्र नायक राजेश हमालदेखि विश्व प्रसिद्ध चलचित्र टाइटनिकका हिरो लियान्द्रोसमेत यहाँ आएर फर्केका छन् । नेपाली परम्परा, संस्कृति र संस्कारको प्रचारप्रसारले पर्यटक प्रभावित हुने गरेको सञ्चालकको दाबी छ । डल्लामा मात्र १८ वटा होमस्टे सञ्चालनमा छन् ।


पर्यटक आगमनसँगै यहाँ उत्पादित सामानले पनि राम्रो बजार पाउन थालेको छ । होमस्टेसँग जोडिएरको सामुदायिक वनको अर्को आकर्षण भनेको गैंडाको बासस्थान हो । यहाँ बर्दिया निकुञ्जबाट आएका नौ गैंडा छन् । गैंडा हेर्न सकिने भएकाले पनि पर्यटकलाई लोभाउने गरेको छ । डल्ला क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग पनि भएकाले पर्यटक होमस्टेमा आएर रमाउने गरेको सामुदायिक वनका सदस्य पर्शु चौधरीले बताए ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?