कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धौवादी फलामखानी एक वर्षभित्रै

खानी तथा भूगर्भ विभागले शुक्रबार निकालिएको ५ टन फलाम नमुना परीक्षणका लागि चीनको सरकारी प्रयोगशालामा पठाएको छ 
नारायण शर्मा

नवलपरासी — सरकारले देशकै ठूलो धौवादी खानीबाट फलाम निकाल्न विधिवत् प्रक्रिया अघि बढाएको छ । गत बुधबारको मन्त्रिपरिषदको निर्णयले धौवादी फलामखानी लिमिटेड बनाउने नीतिगत निर्णय गरेको छ ।

धौवादी फलामखानी एक वर्षभित्रै

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले लिमिटेड स्थापनासँगै फलाम निकाल्ने कार्यले गति लिने जानकारी दिए । ‘लिमिटेड गठनको निर्णय भइसकेकाले अब तत्काल सञ्चालक समिति गठन हुन्छ । सीईओ नियुक्ति हुन्छ र कामले गति लिन्छ,’ उनले भने । नयाँ बन्ने समितिले कारखाना खोल्ने र त्यसैले काम कारबाही अघि बढ्ने भएकाले आउँदो एक वर्षभित्र फलाम कारखाना स्थापना हुने दाबी उनको थियो ।


पहिलो चरणमा खानीसम्म पक्की सडक निमार्णको काम सुरु भइसकेको छ । अब बन्ने समितिले बिजुली, कारखानाका लागि जग्गा प्राप्तिको प्रक्रिया र स्थान छनोटका लागि प्राविधिक र विषेशज्ञको टोली चाँडो खटाइने जानकारी उनले दिए । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ धौवादीमा नेपालकै ठूलो फलामखानी छ । एक सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । विभागले उक्त क्षेत्रलाई फलामखानी किटान गरेको छ ।


विभागले शुक्रबार निकालिएको ५ टन फलाम नमुना परीक्षणका लागि चीनको सरकारी प्रयोगशालामा पठाएको छ । त्यसको विस्तृत रिपोर्ट आउन कम्तीमा ३ महिना लाग्नेछ । विभागले शनिबार एक विशेषज्ञको टोली धौवादीमा खटाएको छ ।


नवलपरासीको धौवादीमा सतहमा भेटिएका फलामका टुक्रा । तस्बिर : नारायण शर्मा


सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित, नारायण बाँस्कोटा, प्रवर्द्धन तथा मूल्यांकन शाखा प्रमुख जयराज घिमिरे, मेटालोजिकल इन्जिनियर कृष्णदेव झालगायत विज्ञको टोली धौवादी खटाइएको हो । जग्गाको लोकेसन र धेरै प्रक्रियाबारे अध्ययन गरेर प्रतिवेदन विभागमा बुझाइने बाँस्कोटाले जानकारी दिए ।


बजार मूल्यमा प्रतिस्पर्धा

धौवादीबाट निकालिने फलामले विश्व बजारको मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने/नसक्ने बारेमा विभागले पछि अध्ययन गर्ने भएको छ । पहिला फलाम कति प्रतिशत निस्कन्छ भन्ने हो त्यो यकिन भएपछि बजार मूल्य प्रतिस्पर्धाबारे अध्धयन सुरु गरिने विभागको

भनाइ छ ।


यहाँको फलाम छड बनाउन प्रयोग हुने प्रारम्भिक प्रतिवेदनमा छ । डन्डी बनाउनेबाहेक खेरजाने फलामको धाउ सिमेन्ट कारखानामा प्रयोग हुन सक्छ । यहाँको खानीमा ३६ प्रतिशतसम्म फलामको मात्रा भेटिएका कारण लगानीकर्ता (कम्पनी) आकर्षित हुन सकेका छैनन् । फलामबाट स्टिल बनाउन धेरैवटा प्रशोधन प्लान्ट राख्नुपर्ने भएकाले हालको बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने आकलन गरिएको छ ।


संसारभरी ५५ प्रतिशत बढी फलामको मात्रा रहेको खानीलाई उच्च कोटीको श्रेणीमा राख्ने गरिन्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कावासोती र डन्डाबाट करिब २४ किलोमिटर उत्तरमा धौवादी फलामखानी पहाड छ । त्यहाँबाट एक वर्षअघिदेखि स्थानीयले फलाम निकालेर घरायसी प्रयोगका कोदालो, बेल्चा, गैंटी बनाउँथे । आरनमा तताएर बनाइने ती घरेलु औजार गाउँघरमा बिक्री हुन्छन् ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?