१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोदाममा थन्कियो मह

अर्जुन राजवंशी

बिर्तामोड — भारतीयसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली महले बजार पाउन सकेको छैन । उचित मूल्य नपाउँदा झापाली महिलाहरूले उत्पादन गरेको मह गोदाममा थन्किएको छ । 

महिला मात्र रहेको शिवसताक्षी नगरपालिका ११ दुधेस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाले मह उत्पादन गर्दै आएको छ । उनीहरूले ‘सतासी हनी’ नामक मह उत्पादन गर्दै आएका हुन् । बजारमा उचित मूल्य नपाउँदा यो वर्ष २० हजार केजी मह गोदाममा थन्काएर राख्नुपरेको सहकारीकी व्यवस्थापक देवी दाहालले जानकारी दिइन् ।


‘भारतबाट आउने डाबर र पतञ्जली हनि सस्तो मूल्यमा पाउन सकिन्छ । उनीहरूको रेटमा हामी मह बेच्न सक्दैनौं,’ दाहालले भनिन्, ‘हामी गुणस्तरमा विशेष जोड दिन्छौं । गुणस्तर कायम गर्दा लागत मूल्य बढेर जान्छ । लागत मूल्यसमेत नउठ्ने गरी कसरी मह बेच्नु ?’ उनले भारतीय महभन्दा आफूहरूले उत्पादन गरेको महको गुणस्तर बढी भएको दाबी गरिन् ।


सहकारीले यो वर्ष ६० हजार केजी मह उत्पादन गरेको थियो । झापाका विभिन्न स्थानसहित विराटनगर, धनकुटा, ताप्लेजुङ, काठमाडौंलगायतका स्थानमा यो वर्ष ४० हजार केजी मह बिक्री गरेको बजार व्यवस्थापक सरु दाहालले जानकारी दिइन् ।


०६३ मा स्थापना भएको सहकारीमा ५३४ जना महिला सदस्य आबद्ध छन् । सदस्यहरूसँग २ हजार ५ सय घार मौरी रहेको दाहालले बताइन् । सहकारीले तोरी, फापर, च्युरी र जंगली मह उत्पादन गर्दै आएको छ । सदस्य किसानले उत्पादन गर्ने मह सहकारीले खरिद गर्ने गरेको छ । कच्चा महलाई सहकारीले मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । प्रशोधित महलाई प्याकेजिङ, लेबलिङ गरी बिक्रीका लागि बजार पठाउने गरेको सेयर सदस्य एवं कर्मचारी पशुपति बस्नेतले बताइन् ।


सहकारीले वार्षिक रूपमा ठूलो परिमाणमा मह उत्पादन गर्ने गरेकाले सरकारले ‘दुधे’ क्षेत्रलाई मह ब्लक घोषणा गरेको छ । मह ब्लकको क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले गत वर्ष सहकारीलाई २५ लाख रुपैयाँ नगद अनुदानसमेत प्रदान गरेको छ ।


‘हामीले खुद्रा मूल्य ७ सय रुपैयाँ केजीका दरले मह बिक्री गर्दै आएका छौं । भारतीय मह ५ सय रुपैयाँ केजीमै पाउन सकिन्छ,’ सरु दाहालले भनिन्, ‘सरकारले स्वदेशी महको प्रवर्द्धन तथा बजारीकरणमा ध्यान दिन जरुरी छ । त्यसमाथि हामी महिलाले उत्पादन गरेको घरेलु उत्पादनको बजार सुनिश्चित गर्न सरकारको विशेष भूमिका आवश्यक छ ।’


व्यवस्थापनक दाहालले भारतीय महको गुणस्तर परीक्षण गर्न जरुरी रहेको बताइन् । उनले कम गुणस्तरको मह बजारमा सस्तो मूल्यमा पाइने गरेकाले गुणस्तरीय महले उचित मूल्य पाउन नसकेको दाबी गरिन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?