जलविद्युत्‌ले गाउँमा जोखिम

ज्योति कटुवाल

दैलेख — जलविद्युत् आयोजना निर्माणको क्रममा ख्याल नगर्दा नौमुले र आसपासका गाउँ जोखिममा परेका छन् । बस्तीमा पहिरो खस्ने त्रासका साथै टनेलमा पानीको उच्च बहावका कारण ‘भाइब्रेसन’ ले समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।

नौमुले बजारको माथिबाट द्वारिखोला जलविद्युतो टनेल गएको छ । टनेल निर्माणको क्रममा पहिरो खस्दा समथर भूभागमा रहेको बजारमा पहिरोको जोखिम बढेको स्थानीय वीरसिंह सिजालीले बताए । अर्का स्थानीय मोहनसिंह राम्जालीको त जलविद्युत् आयोजनाले खेतबारीमा नै बगर बनाएको छ ।

९ रोपनी खेतमा खोला फर्किएर बगर बनेको उनले बताए । ‘कम्पनीले आयोजनाको ड्यामका लागि खोला थुनेर फर्कादिएको छ,’ उनले भने, ‘यसले गर्दा खेतबारी पूरै बगर बनेका छन् ।’ धान फल्ने उर्वर खेत बगर हुँदा १२ जनाको परिवारको बिचल्ली भएको उनले बताए ।

जलविद्युत् उत्पादनका हिसाबले नौमुले नमुना गाउँपालिका हो । यहाँको द्वारिखोलाबाट दुई वर्षअघि विद्युत् उत्पादन सुरु भइसकेको छ भने पदमखोला जलविद्युत् आयोजना अन्तिम चरणमा छ । यिनका साथै लोहोरे र अपर लोहोरे गरी थप दुईटा आयोजना बन्ने प्रक्रियामा छन् ।

गाउँपालिका अध्यक्ष भदे बुढामगरले निर्माण कम्पनीले जैविक विविधता र वातावरणीय प्रभावलाई ख्याल नगर्दा विकासको नाममा विनाश सुरु भएको बताए । उनका अनुसार नौमुले–भुरुङ्गे सडकको किनाराबाटै द्वारीखोला जलविद्युत् आयोजनाको पाइप बिछ्याउने काम भइरहेको छ । सडकदेखि दुई मिटर तल पाइप गाडा जंगलको माथिबाट पहिरो खसेको उनले बताए । पहिरो खस्दा खोलाको करिब एक किलोमिटर खण्डमा क्षति पुगेको उनको भनाइ छ ।

जलविद्युत् आयोजना निर्माणस्थलभन्दा माथिल्लो भूभागमा रहेको नौमुले गाउँपालिका–५ मा पर्ने ९ वटा स्थान पहिरोको उच्च जोखिममा रहेका अध्यक्ष बुढामगरले बताए । उनका अनुसार यहाँका डेढ दर्जन घर बर्खाको भेलसँगै बग्ने अवस्थामा रहेका छन् ।

विकासको नाममा विनाश भएको भन्दै स्थानीयले विरोध गरेका छन् । पदमखोला जलविद्युत् आयोजना सञ्चालक समिति सदस्य कुमार कार्कीले पाइप पुरिसकेपछि समस्या समाधान नहुने र माथिको जंगलको पहिरो रोकथामका लागि विकल्पको खोजी गरिनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले जलविद्युत् आयोजनाबाट परेको प्रभाव र भएको क्षतिबारे अनुगमन गरी आवश्यक कारबाही गरिने बताए ।

मुआब्जामा समस्या

जलविद्युत् आयोजनाले बस्ती जोखिममा पार्ने मात्र होइन, स्थानीयले मुआब्जा नपाउँदा थप पीडा दिएको छ । वीरसिंहले जलविद्युत् आयोजनाका कारण आफू सुकुम्बासी भएको बताए । उनका अनुसार आयोजनाले ४५० वर्गमिटर जग्गाको मुआब्जा २ लाख २५ हजार दिएको दिएको थियो ।

त्यो पैसाले अन्यत्र जग्गा जमिन जोड्न नसकिएको र कोठा भाडा तिर्दैमा सकिएको उनले बताए । ‘मजस्ता धेरैलाई घरबारविहीन बनाएको छ, प्रतिबद्धता गरेअनुसार रोजगारी पनि दिएन,’ उनले भने, ‘आफ्नो घरबारी भएको भए जग्गा धितो राखेर भए पनि व्यापार व्यवसाय गर्नहुन्थो, त्यो विकल्प पनि छैन ।’

अर्कोतिर आयोजनाले मुआब्जाभन्दा बढी जग्गा ओगटेको छ । ५ मिटरको मुआब्जा दिएर १५ मिटर जमिन ओगटेको स्थानीय शशी विकले बताए । द्वारीखोला जलविद्युत् आयोजना निर्माणको सुरुवाती चरणमै स्थानीयसँग २८ बुँदे सम्झौतासहित लिखित सम्झौता गरिएको थियो ।

उत्पादित विद्युत् प्रभावित क्षेत्रमा वितरण गर्ने, स्थानीयलाई रोजगारीको अवसर दिने, न्यायोचित मुआब्जा रकम दिनेलगायतमा आयोजनाले प्रतिबद्धता जनाएको थियो । ‘अहिले आएर आयोजनाले यी सबै प्रतिबद्धता बिर्सियो,’ विकले भने, ‘हाम्रो गाउँमा विकास आयो भनेर के खुसी हुनु, झन् उठीबास पो बनायो ।’ आयोजनाले कुल बजेटको ० दशमलव ७५ प्रतिशत पूर्वाधारमा लगानी गर्ने भने पनि सोअनुसार नगरेको उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?